आइतबार, जेठ ६, २०८१

प्रत्येक वर्ष ७ लाख आत्महत्या !

नेपालखोज २०७८ असोज १ गते ९:५१

काठमाडौं । १५ देखि १९ वर्ष उमेर समूहका युवाको मृत्युको चौथो ठूलो कारण आत्महत्या हो । संसारभर हरेक वर्ष सात लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन् । त्यसमा ७७ प्रतिशत आत्महत्याका घटना निम्न तथा मध्यम आय भएका देशमै हुन्छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) भन्छ- धेरैजसो मानिसले कीटनाशक पिएर, पासो लगाएर तथा आफैंलाई गोली हानेर आत्महत्या गर्छन् । आत्महत्याका यी घटना नियन्त्रण गर्न सकिन्छ ।

डब्लूएचओका अनुसार- आत्महत्याको मुख्य कारण डिप्रेसन र अल्कोहलको अत्यधिक प्रयोग प्रमुख हो । आर्थिक संकट, रिलेसनसिपमा ब्रेकअप तथा बिरामी पनि आत्महत्याको कारण बन्दै आएको छ । आत्महत्याका तीनवटा कारण छन् । पहिलो मेन्टल हेल्थ- डिप्रेसन, बाइपोलर डिसअर्डर, सिजोफ्रेनिया, अटिजम, पर्सनालिटी डिसअर्डर, परिवारमा पहिले कसैले आत्महत्या गर्नु आदि । दोस्रो सामाजिक- नोकरी छुट्नु, रिलेसनसिप, पारपाचुके, अरुद्वारा सताइनु, निकटतम् व्यक्तिलाई गुमाएको दु:ख आदि । तेस्रो फिजिकल हेल्थ- लामो समयदेखिको शारीरिक पीडा, क्यान्सर तथा ब्रेन इन्जुरी ।

कसरी रोक्न सकिन्छ आत्महत्या ?
विज्ञहरु भन्छन्- आत्महत्याका घटना केही हदसम्म रोक्न सकिन्छ । आत्महत्या गर्नु पहिले कतिपय मानिसले देखाउने खास लक्षणहरु बुझेर त्यसलाई रोक्न सकिन्छ । जस्तो- आत्महत्या गर्न लागेका मानिसहरु घण्टौं आफ्नो समस्याबारे सोचिरहन्छन् । आत्महत्या गर्ने कुरा गर्छन् वा आत्महत्या गर्ने उपाय खोज्छन् । उनीहरु आफू अरु कसैका लागि बोझ बनेको मान्छन् वा दीर्घकालीन पीडा वा बिमारबाट छुटकारा पाउन आत्महत्या गर्ने कुरा गर्छन् । त्यसका अतिरिक्त हतारमा वा तत्काल घरव्यवहार वा सरकारी कागजात मिलाई आफ्नो जिम्मेवारीबाट पन्छिनु, गुडबाई भनेर म्यासेज लेख्नु, हमेसा निराश रहनु, हत्तपत्त फोन नउठाउनु, आफूलाई सबैबाट अलग गर्ने चेतावनी दिनु आदि पनि आत्महत्याका लक्षण हुन सक्छन् ।

कसैमा यस्ता लक्षण देखिए के गर्ने ?
यदि आफू वरिपरिका व्यक्तिमा यस्ता लक्षण देखियो भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । यस्तो अवस्थामा उनीहरुसँग कुराकानी गर्नुपर्छ । उनीहरुको कुरा बुझ्ने प्रयास गर्नुपर्छ । सम्बन्धित व्यक्तिको समस्या सुनिसकेपछि उक्त समस्याको समाधान पनि खोज्नुपर्छ । यसबाट आत्महत्याको खतरा घट्न सक्छ । डब्ल्यूएचओ भन्छ- आत्महत्याका घटना रोक्न कीटनाशक, बन्दुक र केही खास औषधिहरुमा सबैको पहुँच पुग्न दिनु हुँदैन । सुरुवाती चरणमै लक्षण बुझ्न सके वा सम्बन्धित व्यक्तिको बानी/चालचलन बुझ्न सके उसलाई आत्महत्या गर्नबाट रोक्न सकिन्छ ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया