नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

नेपालखोज २०७८ असोज १ गते ९:४०


काठमाडौं । कोभिड–१९ सक्रमण नेपालमा क्रमशः कम हुँदै गएकोले नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर भारतलाई रातो सूचीबाट हटाइएको नेपाललाई अझै पनि राखिएकाले यो अव्यवहारिक भएको उल्लेख गरेको छ ।

अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ ।

बेलायतमा करिब डेढ लाख नेपाली रहेका र गोर्खाका परिवार तथा अन्य यात्रा गरिरहनेहरूका लागि मापदण्डले झमेला भएको र नेपालबाट बेलायत आउनेले महङ्गो खर्चमा होटलमा क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाले थप असहज भएको भनिएको छ ।

अन्य युरोपेली मुलुकले नेपाललाई रातो सूचीबाट हटाइसकेको र अब केवल बेलायतमात्र रहेको हुँदा आफ्नो मागलाई यथोचितरूपमा बुझेर कदम चाल्न बेलायत सरकारलाई भनिएको छ ।

हिजो नै सङ्घले लण्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पनि पत्र पठाएर दुई देशबीचको यात्रा सहज गर्न पहलकदमी थाल्न अनुरोध गरेको छ । रासस

प्रतिक्रिया