शुक्रबार, वैशाख १४, २०८१

मृत्युलोकबाट ‘समृद्ध कांग्रेसी’लाई प्रश्न

जयप्रकाश आनन्द २०७८ असोज १ गते १३:०९

नेपाली कांग्रेसको कुरा नगरौं । २००७ सालपछि मातृकाप्रसाद कोइरालाको सभापतित्व काललाई अपवाद मान्ने हो भने नेपाली कांग्रेसमा सभापति पदको हस्तान्तरणको प्रक्रिया उदाहरणीय छ । नेपाली कांग्रेसका चार चाणक्य कहलिएका बीपी कोइराला, सूवर्णशमशेर जबरा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायमध्ये सभापति पदका लागि एकाधपटक बाहेक कहिल्यै एक आपसका विरुद्ध दाबी र हानथाप रहेन । कैयौं विषयमा यी चारका बीच गम्भीर मतभिन्नताहरू थियो । तर, सभापतित्व विवादरहित थियो । एक-अर्कालाई पराजयको तहसम्म पुर्‍याउने खेल भएन ।

नेपाली कांग्रेस सभापतिको रूपमा बीपी कोईराला २०१७ पौष १ गतेपछि जेल परेपछि प्रवासमा रहेका सूवर्ण शंसेर अनेकौं शक्ति केन्द्रहरूको उक्साहटका बावजुद सभापति पदको दाबी गरेनने । उनले झण्डै दुई बर्षसम्म बीपी, गणेशमान जीहरूको रिहाईको प्रयास गरे । रिहाईको आशा नदेखिएपछि २०१८ सालमा भारतको पटनामा बोलाईएको सम्मेलनपछि राजा महेन्द्रको तानाशाहीको विरुद्ध सशस्त्र प्रतिरोध सञ्चालन गर्नका लागि सूवर्णजीलाई कार्यवाहक सभापति बनाईएको थियो । त्यस बखत, यसबाहेक कुनै विकल्प नरहेको अवस्था थियो ।

लामो समय पश्चात, बीपी कोईराला अमेरिकामा उपचार गराएर सन् १९७७ नोभेम्बरमा स्वदेश फर्किने क्रममा कलकत्तामा सूवर्ण जीलाई भेटन गएका थिए । अतिशय रूग्ण सूवर्ण शंसेर बीपीको हात समाएर ‘तपाईको नासो नेपाली कांग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँछु’ भन्दै सभापतित्व हस्तान्तरण गरे । कलकत्ताबाट फर्किएर बीपी पटनाको ‘आर ब्लक’ स्थित ‘एमएलए क्लब’मा आयोजित सभामा यो जानकारी गराउँदा म स्वयं साक्षी हुँ । सायद यसको भोली वा पर्सी कै दिन सूवर्ण शंसेर जीको देहावसान भएको थियो । वा, एकाध सप्ताह भित्र । नेतृत्व हस्तान्तरणको यो एक अनुपम उदाहरण थियो ।

पटनाको त्यस सभामा किसुन जी पनि थिए । यसको साता दिन नबित्दै बीपी पटनाबाट नेपाल फर्किए । राजा वीरेन्द्रसँग उनले त्यस्तै वचनवद्धता गरेका थिए । नेपाल फर्किनु अघि पटनाको सोही ‘एमएलए क्लब’को सभामा आफु नेपाल फर्किएपछि अवस्य पनि पक्राउ परिने भन्दै ‘आफु जेल परेपछि साथीहरू हाम्रा प्रिय साथी किसुन जी (कृष्ण प्रसाद भट्टराई)बाट निर्देशन पाउनुहुन्छ भने ।

पटनाबाट काठमाडौं फर्कन लाग्दा शानेवानीको विमानमा उनले ‘योजनावद्ध’ रूपमा सहयात्री बनाएको एक सहयोगी, जस्को नेपाल फर्केपछि गिरफ्तार हुने संभावना थिएन; उहाँलाई काठमाडौंमा सार्वजनिक गर्ने गरी एक खामबन्दी पत्र दिए । यो पत्र सार्वजनिक गरिएपछि सबैले थाहा पाए बीपीले किसुन जीलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति र पर्शुनारायण चौधरी एवं गिरिजाप्रसाद कोइरालालाई महामन्त्री तोकेका थिए । यहाँ मैले यदि यो सत्य उल्लेख गरिन भने इतिहास प्रतिको बेईमानी हुनेछ कि बीपीले यो निर्णय शायद सत्य ‘महान उदारमना निस्पृह मानव गणेशमान जी’ को सहमतिबाट गर्नु गरेका थिए । यो नेपाली कांग्रेसमा सभापतित्व हस्तान्तरणको अर्को अतुलनीय उदाहरण थियो ।

विश्वास, सद्भाव र सहकार्यको यो परम्परा कलवलगुडीमा आई पुग्यो, जहाँ विराटरूपधारी गणेशमान जीको सदिच्छाबाट र गिरिजाबाबुको प्रसन्नताबाट किसुन जी पार्टीको निर्विरोध सभापति भए । यो पछिल्लो अतुलनीय उदाहरण थियो । त्यस दिनका समारोहमा, जहाँ आजका धेरै ‘भगवान्हरू’ भावातीत भएर मात्र ताली पट्काई रहेका थिए । ती मध्येका केही आज भन्दै गरेको सुनिन्छ कि ऊ बेगर कांग्रेस जीवित रहन सक्दैन । हो, यो सत्य हो ।

किसुन जी पछि गिरिजा बाबु सभापति हुने बेलामा नेपाली कांग्रेसको ‘अतुलनीय सहमतिको उदाहरण’ को इतिहासमा प्रतिस्पर्धाले प्रवेश पायो । तर पनि त्यो शिष्ट थियो । शिष्ट यस कारणले कि किसुन जीले मन नपराए पनि आफुलाई गिरिजाबाबुको बिरूद्ध उम्मेदवार बनाएनने । उनले चिरंजीवि बाग्लेलाई सभापतिमा समर्थन गरे । यो पनि संसारमा बिरलै पाईने उदाहरण थियो । ‘मानिस मन त परेको छैन, तर मानिस गैर नेपाली कांग्रेस होईन ।’ निलकण्ठ थिए किसुन जी, सत्यमा ‘निलकण्ठ’ ! अद्वीतीय, एकल र अद्वैत !

गिरिजाबाबु पछि नेतृत्व हस्तान्तरण प्रकृयाको कुरा नगरौं । सायद मलाई थाहा नभएर पनि होला । किन कि त्यस समयमा मेरो मृत्यू भइसकेको थियो । म त्यस सुन्दर लोकमा रहिन । तर, आज नर्कबाट कांग्रेसको त्यस स्वर्ग तिर हेर्दछु । अचम्म लाग्छ ! सोध्छु ‘प्रभू के भइरहेको छ मेरो पुरानो कांग्रेसमा ?’ बडो आराधना पछि म जवाफ पाउँछु । मलाई कसैले एउटा शास्वत कुरो भन्छ । त्यो हो ‘ठूला र सिद्ध योगीहरूको मृ्त्यू भएपछि योगीलाई पञ्चतत्वमा विलीन गराएपछि अन्यन्य शिष्यहरूले गुरू योगीको कुटीलाई आगो लगाई भष्म गर्दछन् ।’ यस्तो चलन छ । यो कथन म सप्तरीको मेरो वनकुटीमा सुन्छु । अनि तन्द्रामा सोध्छु ‘किन नि ? कुटी किन जलाउने नि ?’ जवाफ आउँछ ‘हेर त्यस कुटीमा मृत्यु पर्यन्त पनि सिद्ध योगीको आत्माको बास रहेको हुन्छ । तसर्थ, नयाँ योगीले कुटी डढाउने गर्छन् पूर्ववर्ती प्रतापी योगीको प्रभावबाट मुक्त हुन् । स्वच्छन्द हुनका लागि ।’

प्रतिक्रिया