के हो डेंगु ? यस्ता छन् बच्ने उपाय

नेपालखोज २०७८ असोज ४ गते १५:०१

काठमाडौं । डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्दछ । सरुवा रोग विशेषज्ञका अनुसार यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यसले स–साना पानी जमेका स्थानमा फुल पार्ने गर्छ ।

खासगरी वर्षाको पानी जस्तैः टिनका डब्बा, थोत्रा टायर, अलकत्र वा मट्टीतेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा पाइने भएकाले लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ । डेङ्गु एडिस एजिप्टाई र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोक्दा हुने भाइसल सङ्क्रमण हो । यो भाइरस डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ । औँलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेङ्गु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

सामान्यतया डेङ्गु भाइरसको सङ्क्रमण भएको तीन दिनदेखि चौध दिन पछि यसका लक्षणहरू देखिन्छन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्छ । केही बिरामीमा यो रोग डेङ्गु हेमोरेजिक फिबर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ । त्यस्तै डेङ्गुको अर्को विकसित रूप हो । डेङ्गु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ ।

खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण
खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि जिल्ला अस्पताल आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच, सोही नगरपालिका–६ नेर्पाका एक, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये शरीरमा रगत कम भएका एकजना बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा वैभव मल्लिकले बताए । उनका अनुसार सङ्क्रमितमध्ये दुई जना जिल्ला अस्पतालमा र बाँकी पाँच जना आफ्नै घरमा चिकित्सकको सहयोगमा उपचार गराइरहेका छन् । “डेङ्गु रोगको अहिलेसम्म खास उपचार छैन । यसको लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ”, उनले भने, “लामखुट्टेको टोकाइबाट बच्ने, घर वरपर पानी जम्न नदिने, पूरा शरीर ढाक्ने लुगा लगाउने, सुत्दा अनिवार्य झुल प्रयोग गर्ने उपाय अपनाएर डेङ्गुबाट बच्न सकिने भएकाले यसप्रति सबै सचेत हुन आवश्यक छ ।”

डेङ्गु रोगबारे उच्च सतर्कता अपनाउन र रोगको नियन्त्रणका लागि आवश्यक सम्पूर्ण उपाय अबलम्बन गर्न डा मल्लिकले सम्बन्धित पक्षलाई आग्रह गरे । जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने साकेला गाउँपालिकामा पनि डेङ्गुका बिरामी भेटिएको समाचार स्रोतले जनाएको छ । गत वर्ष पनि यो सिजनमा खोटाङमा डेङ्गुका बिरामी भेटिने गरेको जिल्ला अस्पतालले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लाका हरेक गाउँमा अहिले रुघाखोकी तथा ज्वरोको बिरामी अत्यधिक रहेको स्थानीयवासीले बताएका छन् । पछिल्लो समय जिल्ला अस्पतालमा उपचार गराउने आउने बिरामीको सङ्ख्यासमेत वृद्धि भएको अस्पतालले जनाएको छ ।

भर्खरै स्तरोन्नतिको काम सुरु गरिएको अस्पतालमा बिरामीको चाप बढेपछि उपचारमा समेत समस्या भइरहेको बताइएको छ । अहिले जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या दैनिक २०० को हाराहारीमा रहेको अस्पतालका प्रमुख डा. मल्लिकले बताए । जिल्लामा सञ्चालित दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र तथा तीनवटा सामुदायिक अस्पतालमा समेत बिरामीको संख्या उत्तिकै रहेको स्रोतले जनाएको छ ।
लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आएका जिल्लाबासीलाई पन्ध्र शैय्यामा सञ्चालित एकमात्र सरकारी जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम सुरु गरिएको छ । वि.सं. २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई स्तरोन्नति गरेर ५० शय्यामा सञ्चालन गर्नका लागि पुरानो संरचनाका भवनहरु हटाएर नयाँ पक्की भवन निर्माण गर्न घडेरी सम्याउने काम सुरु गरिएको हो । 

डेङ्गुका लक्षणहरु
– सुरु रोगका बिरामीहरुमा धेरै टाउको दुख्ने, ज्वरो आउने, रिँगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने हुन्छ ।
– जोर्नीहरु दुख्ने, बान्ता हुने, आलस्यता हुने जस्ता लक्षणहरु देखा पर्छन ।
– शरीरमा रातो दानाहरु आउँने, स्वासप्रस्वासमा समस्या आउँने, नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको संख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ ।
– तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ ।
– शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने हुन्छ ।

डेङ्गुबाट बच्ने उपाय
– लामखुट्टेको टोकाइबाट बच्ने
– घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्ने
– घर नजिक कुनै पनि झाडी नराख्ने
– लामखुट्टेको टोकाइबाट बच्न सधैं झुलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्ने
– झ्याल ढोकामा जाली राख्ने
– शरीर पुरै ढाक्ने लुगा लगाउने
– सरसफाइमा विशेष ध्यान दिनुपर्छ

प्रतिक्रिया