बिहीबार, वैशाख १३, २०८१

कोभिडको दीर्घकालीन ११ असर !

डा. हेमराज कोइराला २०७८ असोज ७ गते ८:२८


संज्ञानात्मक समस्या : कोभिड–१९लाई जितेर घर फर्किएकामध्ये ४० प्रतिशत संक्रमितहरूले न्युरोलोजीकल लक्षणहरू पनि अभिव्यक्त गर्ने गरेका छन् र ३० प्रतिशत भन्दा बढीले संज्ञानात्मक लक्षणहरू जस्तै- अभिमुखता, स्मृति, बुद्धिमत्ता, सचेतना, ध्यान, लगाव, एकाग्रता, लय, मूल्यांकन गर्ने र निर्णय लिने क्षमता आदिमा गडबडी देखिन थालेको छ। यसो हुनुको मुख्यकारण कोभिडका कारणले थुपारिएको तनाव, चिन्ता, भय र उदासीनता त हुँदै हो साथै भाइरसले स्नायू प्रणालीलाई पनि असर गर्ने हुँदा मष्तिस्कलाई क्षति पुर्‍याउन सक्छ । कसैकसैलाई त इन्सेफालाइटिस र मेनिन्जाइटिस पनि हुन्छ । यसैगरी रगतमा सञ्चरित भाइरसले मष्तिस्कका नासाहरूलाई पनि सुन्याउन सक्छ र यी सबै करणले संज्ञानात्मक समस्याहरू देखापर्छ।

मानसिक अस्पष्टता (ब्रेन फग) : कोरोना संक्रमणका दैरान उत्पन्न तनाव, चिन्ता भय, उदासीनता, आइसोलेसन वा आईसीयूको पट्यार लाग्दो बसाइ, थकाइ, मष्तिस्कको इन्फ्लामेसन, खिन्नता, आदिका कारणले कोभिड–१९ लाई जितेकाहरूमा मानसिक अस्पष्टता देखिन्छ।

स्वाद र गन्ध ग्रहणमा समस्या : कोभिड संक्रमण हुँदा यसले प्राथमिक स्तरमा नाक मुख र घाँटीलाई असर गर्ने गर्दछ। यसो हुँदा नाकको ग्रन्ध ग्रहण गर्ने ग्रन्थी र जिब्रोको स्वाद ग्रहण गर्ने ग्रन्थीलाई पनि असर पार्दछ र स्वाद हराउँछ। संक्रमण तिव्र प्रकृतिको भए यी ग्रन्थीहरूलाई मनग्गे क्षति पुर्‍याई पीसीआर नेगाटिभ आएपश्चात पनि स्वाद र गन्द ग्रहणमा समस्या नसुल्टिन सक्छ।

मायो कार्डाइटिस : कोरोना भाइरसको संक्रमणले पहिलो चरणमा फोक्सोलाई असर गर्दछ र संक्रमण बढ्दै गएपछि रगत हुँदै भाइरस मुटुमा पुग्दछ र मुटुमा फैलिन्छ फलतः मुटु सुन्निन पुग्दछ जसलाई मायो कार्डाइटिस भनिन्छ। भाइरसलाई जीतेर फर्किएकाहरूमा मायो कार्डाइटिसको समस्या रहिरहन सक्छ।

पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर : बलत्कार, युद्ध, सडक दुर्घटना, बाल दुर्व्यवहार, भूकम्प, सुनामी जस्ता ठूला प्रकृतिक प्रकोप आपतकालिन स्वास्थ्य स्थिति, आदि झेलेका व्यक्तिमा ती घटनाको कारणले विकसित भएको मानसिक तनावलाई पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भनिन्छ। पोष्ट ट्रमाटिक स्ट्रेसमा परेकाहरू अधिकतर त्यसै घटनाको विषयमा सोचि रहने, घटनाहरूसँग सम्बन्धित सपनाहरू देख्ने, कसैले घटनाको विषयमा कुरागरे विचलित हुने चिन्तित, थकित निराश र उदास हुने र स्थिति बढ्दै गएमा आत्महत्या सम्म गर्ने गर्दछन्। यो पोष्ट ट्रमाटिक स्ट्रेस कोरोना संक्रमित भएर आपतकालिन सेवा लिएका, आईसीयू र भेण्टिलेटरमा बसेर आएका वा कोभिडले सिकिस्त पारेकाहरूमा पनि देख्न सकिन्छ। यी लक्षणहरू पहिलो एक महिनादेखि एक वर्षसम्म रहन सक्छ।

दीर्घकालीन खोकी : कोरोना संक्रमणलाई जीतेर निस्किएकाहरू मध्ये ३० प्रतिशतलाई दीर्घकालीन खोकीको समस्याले पछिसम्म पनि पिरोल्ने गरेको पाइएको छ। खोकी लाग्नुको कारण कोभिड–१९ को संक्रमण पश्चात फोक्सोलाई पुग्न गएको क्षतिको कारणले हो। कोभिड नेगेटिभ आए पश्चात पनि संक्रमणको कारणले दम, ब्रोङ्काईटिस र एलर्जी जस्ता समस्या जन्मिने हुँदा खोकी रहिरहने गर्दछ।

हल्का ज्वरो : कोभिड जितेर फर्किएकाहरूमध्ये केहीलाई हल्का ज्वरो आउने, टाउको दुख्ने, झाडा पखाला लाग्ने, उल्टिहुने जस्ता लक्षणहरू देखा पर्न सक्छ । यसो हुनुको कारण एउटा कारण भाइरस लोड पुरै नहट्नु हो भने दोश्रो कारण संक्रमणले खगारेको शरीरले अन्य मौसमी संक्रमणलाई सहन नसक्नाले पनि हो । अझ बिरामी आईसीयू वा भेन्टिलेटरमा बसेर आएको हो भने उसको स्वास्थ्य स्थिति त्यति स्थिर नभएको हुनाले अन्य संक्रमणहरूले बेला बेलामा सताइ रहन्छ।

हात खुट्टामा सोला हान्ने र पोल्ने : कोभिडका कारणले सिकिस्त भएर फर्किएकाहरूमा यो लक्षण ज्यादा देखिएको छ। यसको कारण पनि कोभिड–१९ संक्रमणका क्रममा विकसित भएको न्युरोपथी हो।

छालामा डाबर आउने : कोभिड–१९ संक्रमणका दैरान पनि छालामा डावर आउने, चिलाउने, पानीसरा आउने जस्ता लक्षणहरू देखापर्न सक्छन र यी लक्षणहरू कोभिड नेगाटिभ आएपनि देखापर्न सक्छन्।

मुटुको चालमा गडबडी : कोभिडको कारणले तनाव, चिन्ता, भय, उदासिनता, पोस्ट–ट्रमाटिक–स्ट्रेस–डिसअर्डर आदि विकसित भएको भय आफ्नो मुटु चलेको विरामीले थाह पाउन सक्छ जसलाई चिकित्सा विज्ञानको भाषामा पाल्पिटेसन भनिन्छ। यसका अतिरिक्त यदि कोभिडका कारणले कार्डियो मायोपथी विकसित भएको रहेछ भने मुटु कमजोर भएकाले मुटुको चाल गडबड भएको हुनसक्छ।

कपाल झर्ने : कोभिड जितेरकाहरू मध्ये केही प्रतिशत मान्छेहरूमा कपाल झर्ने समस्या पनि देखापरेको छ। त्यसमा पनि विशेष गरेर कोभिडको कारणले सिकिस्त भएकाहरूमा यो समस्या ज्यादा देखिएको छ। यसो हुनुमा कोभिड संक्रमणका दौरान संक्रमितलाई पर्न गएको शारीरिक र मानसीक तनावलाई उत्तरदायी ठहयाइएको छ। अझ संक्रमित आईसीयू वा भेण्टिलेटर बसेर गएको भए यो लक्षण अझ तीव्र रूपमा देखापर्ने गर्दछ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया