एमाले केन्द्रीय कमिटी बैठक : आज अध्यक्षले जवाफ दिने

काठमाडौं । दुई दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले उठेका प्रश्न र दिएका सुझावको आज जवाफ दिर्दैछन् ।
शनिबारको बैठकमा केन्द्रीय विधान महाधिवेशनमा प्रस्तुत गरिने तीनवटा राजनीतिक प्रतिवेदनमा १० वटा समूहले समूहगत सुझाव दिएका थिए । बैठकमा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने तथा उपाध्यक्ष र सचिव ७–७ जना राख्नुपर्ने सुझाव प्राप्त भएको थियो ।
सबै समूहको निष्कर्ष नेताहरूको व्यवस्थापनका लागि ७ उपाध्यक्ष राखेर प्रदेश ईन्चार्जको भूमिका दिनुपर्ने थियो । हाल प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ३ जना मात्रै राख्ने उल्लेख गरिएको छ ।
अध्यक्ष ओली पुनः दोहोरिने भएकाले नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न एमालेमा छ । उच्च नेता भएकाले उनीहरू महासचिवभन्दा तल नबस्ने भएकाले ३ उपाध्यक्ष मात्रै राख्दा अप्ठ्यारो हुने केन्द्रीय सदस्यहरूको सुझाव छ ।
विधान संशोधन प्रस्तावमा पोलिट्ब्यूरो नराख्ने उल्लेख गरिएको छ । तर, समूहगत छलफलमा पोलिटब्यूरो कायमै राख्नुपर्ने सुझाव आएको पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया