शुक्रबार, वैशाख ७, २०८१

मोदीको अमेरिका भ्रमण र महात्मा गान्धी

सुनील सापकोटा २०७८ असोज १० गते १५:३६

महात्मा गान्धी कहिल्यै अमेरिका कहिले गएनन् । तर गान्धीको सबैभन्दा बढी प्रतिमा, स्मारक र संस्थाहरु अमेरिकामै छन् । उपलब्ध जानकारीअनुसार अमेरिकामा गान्धीका दुई दर्जनभन्दा बढी प्रतिमा, एक दर्जनभन्दा बढी सोसाइटी र संगठनहरु छन् । महात्मा गान्धी भारतका एउटा त्यस्ता नेता हुन् जसको भारतसहित ८४ देशमा मूर्ति स्थापित गरिएको छ र उनको जन्मदिवस पूरै दुनियाँमा अहिंसा दिवसका रुपमा मनाइन्छ।

महात्मा गान्धीको हत्याको २१ वर्षपछि ब्रिटेनले उनको सम्मानमा हुलाक टिकट जारी गरेको थियो । जब कि यही ब्रिटेनलाई भारतीयहरुले गान्धीको नेतृत्वमा भारतबाट भगाएर स्वतन्त्रता हासिल गरेका थिए ।

नेल्सन मन्डेला, मार्टिन लुथर किङ, दलाई लामासम्म गान्धीका अनुयायी हुन् । बराक ओबामाजस्ता कतिपय ‘वर्ल्ड लिडरहरु’ आज पनि गान्धीको सिद्धान्तलाई सम्मान गर्छन् ।
गान्धीले कहिल्यै झुटो बोलेनन् । उनले आफ्नो गल्तीहरु ढाकछोप नगरी बरु सार्वजनिक गरे । उनको कथनी र करनीमा कुनै फरक हुँदैनथ्यो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका छन् । हिजो अमेरिकी राष्ट्रपति बाइडेनले नरेन्द्र मोदीसँग वार्ता गर्दा गान्धीको नाम ठूलो सम्मानसँग लिए, सम्झिए । बाइडेनले ‘यो दुनियाँको आशा गान्धीको दृष्टिकोणमा छ’ पनि भने । बाइडेन यो पनि भने कि ‘हामी आउने साता महात्मा गान्धीको जन्मदिन मनाउँदै छौं र उक्त दिन हामी गान्धीको अहिंसाको सन्देशको सम्झना गर्नेछौं । त्यो बेला नरेन्द्र मोदीको मनमा गान्धीबारे जे कुरा भए पनि मुखले उनको प्रशंसा गर्नैपर्‍यो ।

भारतीय राजनीतिप्रति चासो राख्ने नेपालीहरुले बुझेकै हुनुपर्छ कि गान्धीको हत्या यिनै नरेन्द्र मोदीको पुरानो पार्टी संघका मानिसले गरेका थिए । अहिले पनि भारतमा यिनीहरु गान्धीको विरोध र आलोचना गरिरहेका छन् । अन्त्यमा, जसले जेसुकै भनुन्, नरेन्द्र मोदीको पार्टीले अहिले भारतमा गान्धीको जति आलोचना र विरोध गरे पनि विदेशमा त भारतको मान गान्धीले नै बढाएका रहेछन् ।

प्रतिक्रिया