सोमबार, वैशाख १७, २०८१

चोटपटकबाट बालबालिकालाई कसरी जोगाउने ?

डा. पुष्पराज पन्त २०७८ पुष १४ गते १०:५९

बालबालिकालाई हुनसक्ने चोटपटक वा इन्जरीमा कमी ल्याउन अभिभावक, स्याहारकर्ता र आमजनसमुदायले विभिन्न कदम चाल्न सक्छन् । यसका लागि बालबालिकामैत्री सुरक्षित घर, खेल्ने ठाउँ, सडक-बाटोहरू निर्माण गर्नेतर्फ विचार पुर्याउनु अति नै आवश्यक छ । बालबालिकामा हुने चोटपटकका कारण परिवार र समाजमा आइपर्ने बोझ, तिनको रोकथामको महत्वको विषयमा छलफल गर्ने गरेमा घाइतेको औषधि उपचार खर्चमा कटौंती गर्न सकिन्छ भने बालस्वास्थ्य प्रवर्धनमा प्रत्यक्ष मद्दत पुग्दछ ।

एक वर्षमुनिका शिशुहरू
यद्यपि हामी धेरै साना छौं तर- हामी निरन्तर बढिरहेका हुन्छौं । हामीलाई गल्तीले पनि चोट नलागोस् भनेर तपाईंको रेखदेखको धेरै खाँचो छ ।
हामी प्रायः सुत्ने, खाने र रुने मात्र गर्छौं, तर पनि तपाईंहरूले हामीलाई कसरी सुरक्षित राख्ने हो जान्नै पर्छ ।
हामीले ढल्किन, पल्टिन र बस्न सिकेको पनि धेरै भएको छैन, त्यसैले पनि तपाईंले हाम्रो सुरक्षाबारे सोच्नै पर्छ ।
हामीहरूलाई घरबाहिर त चोटपटक/इन्जरीको खतरा छँदै छ तर घरभित्रै पनि त्यस्ता धेरै खतराहरू हुन सक्छन् ।
चोटपटक/इन्जरीबाट बर्सेनि हामीजस्ता धेरै शिशु घाइते हुने वा मृत्यु पनि हुने गरेको छ ।

याद राख्नुहोस्-
तपाईंहरू हाम्रा लागि दुःख कष्ट गर्नुहुन्छ, तर कुनै आपत् आइपरेमा हामी आफ्नो स्याहार आफैं गर्न पनि सक्दैनौं ।
हामीलाई दुर्घटनाबाट जोगाउनुहोस् ।
धेरै साना भएकाले हामी लड्यौं भने नराम्ररी घाइते हुनसक्छौं ।
हामी बामे सर्न वा राम्ररी हिँड्न सक्दैनौं, त्यसैले तपाईंले हामीलाई यताउता लैजाँदा बोक्नुहोस् ।
तर हामी बढ्दै जाँदा हामी हाम्रा हात र खुट्टा प्रयोग गर्ने भएकाले हामी गुल्टिन सक्छौं ।
तपाईंले मलाई समातेर हिँड्दा, कुनै वस्तुमा चिप्लेर वा अल्झेर लड्न सक्नुहुन्छ । तपाईंसँगै मलाई पनि चोट लाग्न सक्छ ।
आफ्नो पाइला हेरेर हिँड्नुहोस् । मलाई समातेर भर्याङबाट ओर्लंदा बार समातेर मात्र ओर्लनुहोस् ।
मलाई खाटमा राखेर तेल लगाउँदा ख्याल गर्नु भएन भने म खाटबाटै तल झर्न सक्छु ।

हामीलाई पोलिनबाट जोगाउनुहोस्-
दुर्घटनावश घरमा आगो लाग्यो भने मलाई पोल्न सक्छ । म धुँवाले निसास्सिन वा मर्न पनि सक्छु ।
हाम्रो घरमा आगो लाग्दैन भन्ने निश्चित गर्नुहोस् ।
मेरो छाला कमलो र पातलो भएकाले छिटै पोल्छ ।
जाडोयाममा तातो पानीले नुहाउन मलाई पनि मन पर्छ । तर, पानी कति तातो छ जाँचेर मात्र मलाई नुहाइदिनुहोस् ।
घरभित्र वा सुत्ने ठाउँमा वा म सुतेको ठाउँमा चुरोट नपिउनुहोस् । त्यसबाट आगलागी हुनसक्छ ।
चुरोटको धुँवा त्यसै पनि स्वास्थ्यका लागि ठूलो खतरा हो ।
आगो बालेको वा खाना पकाउने ठाउँमा मलाई नसुताउनुहोस् । मलाई धुँवाले सास फेर्न गाह्रो हुन्छ ।
याद राख्नुहोस्, मलाई कुनै वस्तु तातो छ कि छैन भन्ने कुरा थाहा हुँदैन । त्यसैले मलाई कुनै समस्या नपरोस् भन्ने निश्चित गर्नुहोस् ।

हामीलाई निसास्सिनबाट जोगाउनुहोस् :
मेरो फोक्सो धेरै सानो भएको र श्वासप्रश्वास प्रणाली कमजोर भएकोले म सजिलै निसास्सिन सक्छु ।

मलाई यी अवस्थाबाट जोगाउनुहोस्-
घरभित्रको धुँवाबाट, बिंडी/चुरोटको धुँवाबाट, ओढ्नेले नाक-मुख छोप्नबाट, मकलबाट निस्कने धुँवाबाट, सुतेको बेला कोल्टो पर्नबाट, सुतेको बेला च्यापिनबाट ।
हामीलाई पानीमा डुब्नबाट पनि जोगाउनुहोस् ।
मेरो वरपर खुला भाँडोमा पानी भरिएको छ भने तपाईंहरूले त्यसलाई सधैं छोपेर राख्नुहोस् ।
मजस्ता कति बच्चाहरू त्यस्ता भाँडोमा डुबेर मरेका छन् ।

अब हामी बामे सर्ने र भर्खरै हिँड्न सुरु गर्छौं :
खाना पकाउने बेला मलाई चुलोनजिक आउनबाट रोक्नुहोस् ।
मैले हात चलाउँदा पोखेर मलाई अनि तपाईंलाई पोल्न सक्छ ।
म अझै सानै भए पनि मलाई नयाँ-नयाँ कुरा गर्न र खोज्न मन पर्छ ।
याद राख्नुहोस्, यसो गर्दा म ठूलो दुर्घटनामा पनि पर्न सक्छु ।
बामे सर्दै म बाहिर बारीतिर पनि पुग्न सक्छु । ख्याल गर्नुहोस्, त्यहाँ सर्प, बिच्छी पनि हुन सक्छन् ।
मलाई मेच, टेबुल खाटमा राख्दा होस गर्नुहोस्, म त्यही उँभिन र लड्न सक्छु ।
मलाई भर्याङनजिक वा अग्लो स्थानमा एक्लै नछाड्नुहोस् ।
म उक्लेर वा चढेर त्यहीँबाट लड्न सक्छु । मलाई नराम्रो चोट लाग्न सक्छ ।
कौसीमा छेकबार लगाएको छैन भने मलाई त्यहाँ एक्लै नछोड्नुहोस् । सकभर छिटै त्यसमा बार लगाउनुहोस् ।
भुईंमा वा मैले पुग्ने ठाउँमा तातो चिया, तातो पानी वा तातो खाने कुरा राखेको देखेँ भने म त्यसैलाई छुन चाहन्छु ।
भुईंमा वा मैले पुग्ने ठाउँमा खाना पकाउन वा ताप्नका लागि आगो बाल्नुभएको देखेँ भने मलाई त्यहाँ जान र छुन मन लाग्छ ।
आगोले मलाई पोल्न सक्छ ।
तातो कुराले मेरो छालालाई सजिलै पोल्छ । त्यसैले तपाईंले यसको ख्याल गर्नुहोला ।
मेरो कमलो छालालाई मेरो आफ्नै वा तपाईंका नङ्ले कोपर्नबाट बचाउन पनि विशेष ध्यान दिनुहोस् ।

बालरोग विशेषज्ञ डा. पुष्पराज पन्त नेपाल इन्जरी अनुसन्धान केन्द्रमा संलग्न छन् ।

स्रोत : युनिसेफ, नेपाल

प्रतिक्रिया