गड्डाचौकी नाका कहिले सहज हाेला !
काठमाडौं । कोरोनाको दोस्रो लहरका बेला बन्द गरिएको नेपाल–भारत सीमानाकामा आवागमनमा अझै सहज गरिएको छैन ।
केही दिनअघि मात्रै सरकारले नेपाल–भारत सीमानाका खुल्ला गर्ने निर्णय गरेको थियो तर कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आउने भारतीयलाई सहज भने गरिएको छैन ।
नेपाली दैनिक मजदुरीका लागि भारत जाँदा परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको छ । नेपाल आउने भारतीयलाई भने आधार कार्ड र पछिल्लो ७२ घण्टामा कोरोना परीक्षण गरेको रिपोर्ट देखाएमात्रै आउन दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले जानकारी दिए ।
‘माथिबाट आएको परिपत्रअनुसार आधार कार्ड र पिसिआर रिपोर्ट हेरेर मात्रै भारतीयलाई आउन दिइन्छ ।’ उनले भने, ‘ पूर्णरुपमा अझै सहज भइसकेको छैन ।’ उनले भारतीय सवारी साधन भने अझै आउन रोक लगाइएको बताए ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले व्यावसायिक हिसाबले नाका सहज बनाउनुपर्ने बताए । ‘नाकालाई स्थानीय बजारलाई निर्वाधरुपमा खुलाउनुपर्छ ।’ उनले भने , ‘स्वास्थ्य परीक्षण अब कोरोनाका कारणले गर्न आवश्यक देखिँदैन ।’ पछिल्लो समय चाडपर्व नजिकिएसँगै विभिन्न भारतीय सहर स्वदेश फर्किने क्रम बढेको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीले पछिल्लो केही दिनयता नाकाबाट दैनिक पाँच-छ सय नेपाली घर फर्किरहेको बताए।
प्रतिक्रिया