शुक्रबार, वैशाख १४, २०८१

बिटक्वाइनका कारण इलेक्ट्रोनिक फोहोरको थुप्रो !

नेपालखोज २०७८ असोज १२ गते १५:१३

काठमाडौं । बिटक्वाइनको हरेक लेनदेनमा करिब २७२ ग्राम ई-वेस्ट उत्पन्न हुन्छ । जुन नयाँ आइफोन-१३ को वजनभन्दा बढी हो ।

२०२१ को मे महिनासम्मको तथ्यांक हेर्ने हो भने बिटक्वाइनका कारण प्रत्येक वर्ष ३० हजार सात सय टन इलेक्ट्रोनिक फोहोर उत्पन्न हुन्छ । जुन आफैंमा एउटा ठूलो समस्या हो । यो जानकारी डच सेन्ट्रल बैंक तथा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले गरेको विश्लेषणबाट अगाडि आएको हो । जुन जर्नल रिसोर्सेज कन्जरभेसन एन्ड रि-साइक्लिङमा प्रकाशित भएको छ ।

वर्ष २०२१ को सुरुमा जब बिटक्वाइनको मूल्य अत्यधिक बढेको थियो त्यो हिसाब वर्षभर चल्ने हो भने संसारमा उत्पन्न हुने इलेक्ट्रोनिक फोहोर करिब ६४ हजार चार सय टन पुग्छ ।

यो शोधको परिणामअनुसार बिटक्वाइन माइनिङबाट हरेक वर्ष यति इलेक्ट्रोनिक फोहोर निस्कन्छ जुन नेदरल्यान्डमा प्रत्येक वर्ष साना आईटी उपकरण जस्तो मनिटर, प्रिन्टर, किबोर्ड, माउस आदि बाट उत्पन्न हुने इलेक्ट्रोनिक फोहोर बराबर हुन्छ । बिटक्वाइनको प्रत्येक लेनदेनमा करिब २७२ ग्राम ई-वेस्ट उत्पन्न हुन्छ जुन आइफोन-१३ को वजनभन्दा बढी हो । आइफोन १३ को वजन करिब १७३ ग्राम छ ।

बिटक्वाइन पहिले अत्यधिक मात्रामा ऊर्जा खपतका लागि बदनाम थियो । यद्यपि यसबाट उत्पन्न इलेक्ट्रोनिक फोहोर पनि एउटा ठूलो समस्या हो । बिटक्वाइन माइनिङमा लागेका मानिसहरुले बिटक्वाइनबाट पैसा त कमाउँछन् तर यसका लागि उपयोग हुने कम्प्युटर आदिमा ऊर्जाको खपत पनि ठूलै परिमाणमा हुन्छ ।

क्याम्ब्रिज युनिभर्सिटीद्वारा गरिएको एउटा अर्को अध्ययनअनुसार बिटक्वाइन माइनिङमा प्रतिवर्ष करिब १०१ टेरावाट बिजुली खपत हुन्छ । यति ऊर्जा खपत त अर्जेन्टिना र फिलिपिन्सजस्ता देशले पनि गर्दैनन् । यदि बिटक्वाइन एउटा देश हुँदो हो त यो संसारमा सबैभन्दा बढी बिजुली खपत गर्ने ३० वटा मुलुकको सूचीमा सामेल हुने थियो ।

शोधकर्ताहरुका अनुसार बिटक्वाइन माइनिङका लागि उपयोग गरिने उपकरणको आयु करिब सवा वर्ष हुन्छ । यसको अर्थ ती उपकरण फोहोरको थुप्रो मा परिणत हुनु नै हो । यसैले बिटक्वाइन माइनिङबाट ठूलो परिमाणमा इलेक्ट्रोनिक फोहोर उत्पन्न हुन्छ भनिएको हो । संसारमा इलेक्ट्रोनिक फोहोर पहिलेदेखि नै एउटा ठूलो समस्याका रुपमा विद्यमान रहँदै आएको छ ।

युनाइटेड नेसन्स युनिभर्सिटीको रिपोर्ट ‘ग्लोबल ई-वेस्ट मनिटर २०२०’ मा उल्लेख भएअनुसार वर्ष २०१९ मा करिब ५.३६ करोड टन फोहोर उत्पन्न भएको थियो । यसमा बितेका पाँच वर्षमा करिब २२ प्रतिशत वृद्धि भएको छ । अनुमानअनुसार सन् २०३० सम्म यस्तो फोहोर ७.४ करोड टन (प्रतिवर्ष) पुग्नेछ ।

भनिन्छ सन् २०१९ मा जति इलेक्ट्रोनिक फोहोर उत्पन्न भयो त्यसको १७.४ प्रतिशत मात्र रिसाइकल हुन सक्यो । बाँकी फोहोर त्यसै पृथ्वीमा डम्प गरियो । अहिले विभिन्न देशमा इलेक्ट्रोनिक फोहोरलाई लिएर जागरूकता पनि बढ्दै छ । सन् २०१९ को रेकर्डअनुसार अहिले संसारका झन्डै ८० देशले ई-फोहोरसम्बन्धी नीति, कानुन तथा विनियमहरु बनाएर लागू गरेका छन् ।

इलेक्ट्रोनिक फोहोरको राम्रोसँग व्यवस्थापन नहुने हो भने यो पर्यावरण र मानव स्वास्थ्यका लागि एउटा ठूलै खतराका रुपमा अगाडि आउने पक्का छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया