शुक्रबार, वैशाख ७, २०८१

दुर्घटनाको कारण लापरबाही !

अर्चना न्यौपाने २०७८ असोज १२ गते १८:०५

काठमाडौं । नेपालमा सवारीसाधन दुर्घटनाका कारण बर्सेनि हजारौंले ज्यान गुमाउने गरेका छन् । चाडपर्वको समयमा अझ बढी दुर्घटना हुने गरेको छ । हरेक वर्षको दसैं तथा तिहारमा दुर्घटनाबाट धेरैको ज्यान जाने र ठूलो जनधनको क्षति हुने गर्छ । सडक यातायात असुरक्षित बन्दै गइरहेको छ । दुर्घटनामा परि कतिपय अपांग भएर बाँच्न बाध्य छन् ।

भौगोलिक विकटतासँगै सवारी मापडण्डअनुसारका सडक निर्माण नहुँदा पनि नेपालमा सवारी दुर्घटना हुने गर्छन् । दुर्घटनाको मुख्य कारणमा जनचेतनाको कमी पनि हो । यस्तै चाडपर्वका बेला मादकपदार्थको सेवन पनि दुर्घटनाको प्रमुख कारण हुने गरेको छ । गन्तव्यमा पुग्न हतार गरेर तीव्र गतिमा सवारी चलाउँदा पनि दुर्घटना हुने गरेका छन् ।

अरु बेलाभन्दा दसैं र तिहारमा घर फर्किनेको संख्या धेरै हुन्छ । यो बेला सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्दा पनि अनियन्त्रित भएर सवारीसाधन दुर्घटना हुने गरेका छन् । चालकले पैसा कमाउने लोभमा निद्रा र थकानको ख्यालै नगरी गाडी चलाउँदा पनि धनजनको क्षति हुने गरेको छ । हतारमा सवारीसाधन हाँक्दा र सडक तथा सवारी नियम पालना नगरी चलाउँदा पनि दुर्घटनाको जोखिम हुने गरेको छ ।

यता काठमाडौं उपत्यकामा सहरी विकासको अनुपातमा सडक विस्तार र सडक पूर्वाधारहरु निर्माण हुन नसकेको अवस्था छ । यस्तै सार्वजनिक यातायात क्षेत्रमा अस्वस्थ एवं अवैज्ञानिक प्रतिस्पर्धाका कारण सवारी व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं महानगरभित्र एक दर्जनको हाराहारीमा आकाशे पुलहरू निर्माण पनि गरिएका छन् । तर पनि, दुर्घटनामा कमी आउन सकेको छैन ।

देशभर भएका सवारीसाधन दुर्घटना र मृतकको संख्या अघिल्लो आवको तुलनामा बढेको देखिएको महानगरीय ट्राफिक महाशाखाको तथ्यांकमा छ । अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा देशभर १५ हजार ५ सय ५४ सवारी दुर्घटना भएकामा ०७७/७८ मा यो संख्या २० हजार ६ सय ३४ पुगेको छ । दुर्घटनामा पर्ने सवारीसाधनको संख्या भने विगतका वर्षभन्दा गत वर्ष घटेको छ । ०७७/७८ मा देशभर २५ हजार ७ सय ७८ सवारीसाधन दुर्घटना भएकामा अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा यो संख्या ३३ हजार १ सय २५ भएको तथ्यांकले देखाएको छ । गत वर्ष देशभर भएका सवारीसाधन दुर्घटनामा परेर दुई हजार पाँच सय ११ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्षमा भने २ हजार २ सय ५१ जनाले ज्यान गुमाएका थिए ।

चालकले पैसा कमाउने लोभमा निद्रा र थकानको ख्यालै नगरी गाडी चलाउँदा पनि धनजनको क्षति हुने गरेको छ ।

आर्थिक वर्ष ०७७/७८ मा उपत्यकापछि प्रदेश २ मा सबैभन्दा बढी दुर्घटना भएको छ । गत वर्ष प्रदेश २ मा तीन हजार नौ सय ८३ सवारीसाधन दुर्घटना भए । ५ सय २३ जनाले ज्यान गुमाए । दुर्घटनामा परेका सवारीसाधनको संख्या भने ५ हजार ८ सय ११ पुगेको छ ।

त्यस्तै, प्रदेश १ मा ३ हजार १ सय ३१ सवारीसाधन दुर्घटना हुँदा ४ सय ४३ जना, उपत्यकाबाहेक वाग्मती प्रदेशमा १ हजार ५ सय १२ दुर्घटना हुँदा ३ सय ३५ जना र गण्डकीमा ४ सय ५ सवारीसाधन दुर्घटना हुँदा २ सय २० जनाको मृत्यु भएको छ ।

यस्तै लुम्बिनीमा १ हजार २ सय ११ सवारी दुर्घटना हुँदा ५ सय २६ जना, कर्णालीमा २ सय ८५ दुर्घटना हुँदा १ सय १० र सुदूरपश्चिममा ५ सय ६२ सवारीसाधन दुर्घटना हुँदा १ सय ८७ जनाले ज्यान गुमाएका छन् ।

चाडवाडमा सवारीसाधन दुर्घटनाको संख्या पहिलेको भन्दा केही कमी भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्जीव शर्मा दासले नेपालखोजसँग भने, ‘२०७६ मा चार सय दुर्घटना भएको थियो, २०७५ मा ७ सय भए । २०७७ मा १२५ मात्र भयो, यो संख्या घट्दै छ । यो पटक १२५ भन्दा पनि घटाउन सकिन्छ ।’

दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विभिन्न योजना ल्याएको छ । प्रहरी उपरीक्षक दासले भने, ‘यो पटक दुर्घटना नहोस् भनेर १२ ठाउँमा नाइट सहायता कक्ष राखेका छौं । काठमाडौंबाट जाने ७७ वटै जिल्लामा भाडादर राखेका छौं । त्यस्तै मापसेबाट दुर्घटना नहोस् भनेर काठमाडौं उपत्यकामा १३२ स्थानमा जाँचको व्यवस्था मिलाएका छौं ।’ योपटक पहिलाको भन्दा मापसे जाँचमा धेरै कडाइ गरिएको दासले बताए । उनले भने, ‘चौबीसै घण्टा मापसे जाँचको व्यवस्था मिलाउने तयारी छ ।’

सडक र यातायातसँग सम्बन्धित पक्षले सवारी दुर्घटनाका चुनौतीलाई अवसरका रुपमा लिनुपर्छ । दुर्घटना न्यूनीकरण गर्न यातायात क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिँदै समयमै अल्पकालीन तथा दीर्घकालीन कार्य योजना तयार गरी कार्यान्वयन गर्न आवश्यक भएको छ ।

प्रतिक्रिया