शनिबार, वैशाख १५, २०८१

हजुरलाई ‘हजुर’ भन्नुपर्ने ?

सुवास ढकाल २०७८ असोज १४ गते १३:३९

सञ्चारकर्मी कुसुम भट्टराईले आफ्नो फेसबुक वालमा लेखे- सञ्चारमाध्यमले राष्ट्रपतिदेखि सर्वसाधारणलाई एउटै भाषा प्रयोग गरेकामा एमाले अध्यक्ष केपी ओलीले सम्पादकहरुसँगको भेटघाटमा पुनः असन्तुष्टि व्यक्त गरेछन् अर्थात राष्ट्रपतिलाई ‘तपाईं’ भन्नुपर्ने, ‘तिमी’ भन्न नहुने उनको सल्लाह । राष्ट्रपतिले ‘यसो भनिन्, उद्‌घाटन गरिन्’ आदि शब्द असभ्य र अभद्र होइन । लोकतन्त्रमा सर्वसाधारण र राष्ट्रपति दुवैको सम्मान हुनुपर्छ । सम्मान भन्ने कुरा विशेष र सामान्य हुँदैन । कसैलाई विशेष सम्मान गर्ने, कसैलाई कम सम्मान गर्ने संस्कार लोकतन्त्रको होइन ।

नेपाली मिडियामा ‘तिमी’ अर्थात् उनी भन्छन्, उनले गरे, आए, गए प्रयोग हुनुका पछाडि अभ्यासको निष्कर्ष छ ।

कुसुम लेख्छन्- कुनैबेला अन्नपूर्ण पोस्ट दैनिकमा (जीवेन्द्र सिम्खडा सम्पादक हुनुअघि) ‘तपाईं’ नै चलाइन्थ्यो । एकपटक गजबै भएछ । चोर पक्राउ परेको समाचारमा ‘चोर भाग्दा भाग्दै पक्राउ पर्नुभयो’ भएछ । अब चोरलाई पनि ‘तपाईं’ ? धर्मसंकट । अनि ‘पक्राउ परे’ लेख्न थालियो । कसैलाई ‘तिमी’, कसैलाई ‘तपाईं’ किन ? अनि सबैलाई ‘तिमी’ लेख्न थालियो । भारतीय मिडियामा पनि अचेल आप ने कहा’ भनिँदैन, यो ‘आप’ त्यहाँ हटिसकेको छ । ‘उन्हो ने कहा’ भन्न थालिएको छ ।

अंग्रेजीमा सबैलाई यू शब्दले सम्बोधन गरिन्छ । नेपालीमा मानिसहरुलाई ओहोदा, नाता, उमेर आदिका आधारमा विभिन्न सम्बोधन गरिने भए पनि समानता र एकरुपताका लागि यो सुरु भएको हो । पुरानो सम्बोधनको परम्परामा सामन्तवाद र भेदभावको गन्ध आएकाले पनि सार्वजनिक माध्यममा एकरुपता कायम गर्न यसलाई आवश्यक मानियो ।

सार्वजनिक माध्यममा विभिन्न पद, उमेर समूह, जातजाति, लिंग, क्षेत्र, धर्म आदिका मानिसलाई सम्बोधन गर्ने क्रममा पत्रकारसहित अरु सबैमा आ-आफ्नै अहंकार, संस्कृति, परम्परा, निजत्व आदि प्रकट हुँदा त्यसले समाजमा समानता को साटो विभेद र असमानतालाई बढाबा दिइरहेको थियो ।

ओलीबाट सामन्तवादको पृष्ठपोषण

राणाकालीन तथा शाहकालीन सम्बोधनमा सत्ताको उपल्लो तहका व्यक्ति तथा उनीहरुका छोराछोरी सबैलाई बक्सियोस् शब्द प्रयोग हुन्थ्यो । यो शाह-राणाहरुलाई गर्ने जातीय सम्बोधन पनि थियो । अरुले उनीहरुलाई बक्सियोस् शब्दले सम्बोधन गरे पनि उनीहरु भने अरुलाई तँ भनेर सम्बोधन गर्थे । पछि शाहकालमा तिमीसम्म भन्न थालियो । यही परम्परामा कथित तल्लो जातलाई तँ र तिनले कथित उपल्लो जातलाई हजुर, तपाईं आदि भनेर सम्बोधन गर्ने चलन पनि थियो । यी सबै पुरानो नेपालका विभेदकारी चलन थिए । आधुनिक समाज र परिवर्तित राजनीतिक परिस्थितिमा सामन्तवाद र विभेदलाई प्रश्रय दिने खालको सम्बोधन उचित होइन भनेर नै नेपाली पत्रकारहरुले यसमा एकरुपता कायम गर्न तिमी सम्बोधनको चलन चलाएका हुन् । यो चलन त्यति पुरानो पनि होइन । हाल यो चलन अभ्यासकै क्रममा छ ।

व्यवहारमा धेरैजसो मानिस अहिले पनि पुरानै चलनअनुसार सम्बोधन गरिरहेका छन् । अझ स्पष्ट रुपमा भन्ने हो भने कतिपयले गरिब तथा मधेसीहरुलाई हेपेर तँ भनेको अहिले पनि पाइन्छ । जुन सरासर गलत, विभेदकारी र अपमानजनक छ । हो सम्बोधन अपमानजनक हुनु हुँदैन तर यो विभेदकारी पनि हुनु हुँदैन । सामन्तवादका सारा विकृत अवशेषहरु मिल्क्याउने क्रममा नेपाली पत्रकारहरुले सार्वजनिक माध्यममा कसैलाई हजुर, बक्सियोस् कसैलाई तपाईं, कसैलाई तिमी र कसैलाई तँ भन्ने र त्यो पनि पत्रकारको व्यक्तिगत सुविधाअनुसार चलन जायज थिएन, होइन र छैन ।

केपी ओलीजस्ता कम्युनिस्ट नेतालाई तिमी सम्बोधन अपमानजनक लाग्छ भने उहाँ आफ्नो पार्टीको घोषणापत्रमा फलाना-फलानालाई बक्सियोस्,फलाना-फलानालाई तपाईं, फलाना-फलानालाई तिमी र फलाना-फलानालाई तँ सम्बोधन गर्ने गरी संविधान संशोधन गराउँछु भनेर जनतामा गएर संविधानमै सम्बोधनको नयाँ र वैज्ञानिक व्यवस्था गराउन स्वतन्त्र हुनुहुन्छ ।

दुर्भाग्य के मात्र हो भने जनतालाई रैतीबाट नागरिक बनाउने कुरा गर्ने, समानताको कुरा गरेर नथाक्ने नेताबाटै यस्तो कुरा आएको छ ।

सञ्चार अभ्यासबाट प्रयोगमा आएको सम्बोधनप्रति पत्रकारिता नपढेका र नगरेका ओलीले भावनामा आएर केही भन्नुपहिले आफूले कुन परम्परा र चलनको वकालत गरिरहेको छु बुझ्नु र आफ्ना पार्टीका मानिसहरुसँग छलफल गर्नु उचित हुन्छ । यो विषय पत्रकारिता क्षेत्रकै विज्ञ तथा सञ्चारकर्मीहरुको हो । केपी ओलीले उर्दी जारी गर्दैमा नेपाली पत्रकारहरु सत्ताधारी, उपल्लो जात, सुकिला मुकिला, सरकारी हाकिम अनि सेना पुलिस तथा चाकडी गर्नुपर्ने वा बक्साउनुपर्ने मानिसहरुलाई तपाईं, हजुर, बक्सियोस् र मैलाधैला, गरिब, कथित तल्लो जात, महिला, कम उमेरका, पिछडिएको जाति अनि समुदाय आफूलाई मन नपरेका आदि मानिसलाई तँ भनेर सम्बोधन गर्न तयार होलान् भनेर कल्पना गर्नु मूर्खता मात्र हो ।

बरु ओलीले आफ्नो पुरानो मानसिकता, सामन्तवादी सोच र विभेदकारी अडान त्याग्नु उचित हुन्छ । हो उहाँलाई पत्रकारहरुको एकरुपको सम्बोधन अपमानजनक लाग्छ भने माथि भनिए झै उहाँ यसमा संवैधानिक व्यवस्था नै गराउन स्वतन्त्र हुनुहुन्छ । छ हिम्मत एमालेभित्रै सम्बोधनको उहाँले भने जस्तो व्यवस्था गर्ने प्रस्ताव पास गरी जनतामा जाने ?

प्रतिक्रिया