विदेशी मुद्राको सञ्चिती घटेपछि राष्ट्र बैंक दबावमा

नेपालखोज २०७८ असोज १४ गते १३:०५


काठमाडौं , विदेशी मुद्राको सञ्चिति घटेपछि नेपाल राष्ट्र बैंक थप दवावमा परेको छ । पछिल्लो समय विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण वैदेशिक रोजगारीबाट प्राप्त आय रेमिटेन्समा पनि कमी आएको, कोभिड १९ कै कारण बिदेशी मुद्रा आर्जनको प्रमुख श्रोत पर्यटन क्षेत्र सुस्ताएसंगै बिदेशी मुद्राको सञ्चिति घटेको हो ।

वैदेशिक व्यापारमा नेपाली रुपैयाँ मान्य नहुने र वैदेशिक व्यापार तथा अन्य भुक्तानीको लागि डलर वा अन्य बिदेशी मुद्रा नै सर्वमान्य हुुन्छ । तर पछिल्लो समय वैदेशिक मुद्रा आर्जनमा कमी आएकाले पनि राष्ट्र बैंक बिदेशी मुद्राको श्रोत व्यवस्थापनमा थप दवावमा परेको हो ।

सोहीकारण नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारी, शिक्षा, भ्रमण लगायतका बिभिन्न बिषयमा दिंदै आएको अमेरिकी डलर सटहीको सुबिधामा केही प्रतिशतले कटौंती गर्न तयारी गरेको राष्ट्र बैंक श्रोतले बताएको छ ।

सटही सुविधामा गरिएको कटौती सम्वन्धी व्यवस्था कार्यान्वयनको लागि राष्ट्र बैंकले सबैं किसिमका बैंक तथा फाइनान्स कम्पनी, भुक्तानी प्रदायक कम्पनी, रेमिटेन्स कम्पनी, मनी चेन्जर आदिको नाउँमा परिपत्र जारी गर्नुपर्ने हुन्छ । अहिले नै भने उक्त परिपत्र जारी गरिनसकेको राष्ट्र बैंक श्रोतले जनाएको छ ।

यता राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी प्रतिवेदन अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३ दशमलव २ प्रतिशतले घटेर २०७८ साउन मसान्तमा १३ खर्ब ५३ अर्ब ८२ करोड रुपैयाँमा झरेको देखाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ साउन मसान्तमा २ दशमलव ८ प्रतिशतले घटेर ११ अर्ब ४२ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी मुद्रा सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ साउन मसान्तमा ३ दशमलव १ प्रतिशतले घटेर १२ खर्ब ६ अर्ब ५१ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था अर्थात नेपाल राष्ट्र बैंक बाहेकसँग रहेको विदेशी मुद्राको सञ्चिति भने २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ मात्र रहेकोमा २०७८ साउन मसान्तमा ४ दशमलव ६ प्रतिशतले घटेर १ खर्ब ४७ अर्ब ३१ करोड कायम भएको छ ।

२०७८ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ दशमलव २ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालुु आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९ महिना तीन दिनको वस्तु आयात र ८ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्नको लागि मात्र पर्याप्त रहेको छ ।

प्रतिक्रिया