बिहीबार, वैशाख २०, २०८१

महिलाहरुले पनि गर्न सक्छन् श्राद्ध, हिन्दु विधानमै छ तर्पण र पिण्डदानको विधान

नेपालखोज २०७८ असोज १५ गते ६:२४

अहिले पितृ पक्ष अर्थात् सोह्र श्राद्ध चलिरहेको छ । यतिबेला आफ्ना पितृहरुको आत्माको शान्तिका लागि श्राद्ध गरिन्छ । यस क्रममा उनीहरुलाई पिण्डदानका साथै तर्पण दिइन्छ । तर्पण, पिण्डदान र श्राद्ध खासगरी छोराहरुले मात्र गर्ने चलन छ । महिलाहरुले श्राद्ध गर्नु हुँदैन भन्ने मान्यता हिन्दु समाजमा चलिआए पनि यस्तो चलन कहिलेदेखि कहाँबाट सुरु भयो खोज अनुसन्धानकै विषय हो ।

एक समय थियो महिलाहरुले मलामी जानु हुँदैन भनिन्थ्यो, त्यसैले धेरै पछि सम्म महिलाहरु मलामी जाँदैनथे वा इच्छा भए पनि उनीहरुलाई मलामी जान दिइँदैनथ्यो । समय क्रममा आधुनिक समाजले त्यसलाई अस्वीकार मात्र गरेन महिलाहरुले मृतकलाई दागबत्ती दिनुहुँदैन भन्ने मान्यताको जन्जिरसमेत तोड्यो । अहिले हाम्रो समाजमा आफन्तको मृत्युपछि अन्तिम श्रद्धाञ्जली दिन घाटसम्म मलामी जाने महिलाहरु प्रशस्तै हुन्छन् र यसलाई सामान्य मानिन थालिसकिएको छ । आफ्ना बाबु-आमालगायत निकटतम र पुजनीय नाताका व्यक्तिलाई बिदाइ गर्न महिलाहरु घाटसम्म जान वञ्चित गर्ने असमान व्यवस्था अहिले व्यवहारमै खारेज भइसकेको छ । यसैगरी छोरी मान्छेले दागबत्ती दिनु हुँदैन भन्ने चलन पनि खारेजीको क्रममा छ ।

अहिले दिदी-बहिनीहरु दाजुभाइसँगै शवको अन्तिम परिक्रमा मात्र गर्दैनन् । दागबत्ती दिने काममा समेत सहभागी हुन्छन् । छोरा नहुनेहरुका घरमा छोरीले दागबत्ती दिनु पनि सामान्य मानिन्छ । तैपनि यसमा पुरानो मान्यता पूरै हटन अझै केही समय लाग्नेछ । किरियापुत्री बस्दा महिला र पुरुषबीचको भेद भने हट्न सकेको छैन यद्यपि छोरी मान्छेहरु पनि छोरासरह किरियापुत्री बस्ने चलन सुरु नै नभएको होइन ।

परिवर्तन समाजको नियम हो र परम्परागत नीति, नियम, चलनहरुमा समाजले आफैं समयानुकूल परिवर्तन ल्याउँदै जान्छ । जसमा पुराना, असान्दर्भिक, विभेदकारी, अन्धविश्वासी नीति-नियमहरु हराउँदै जान्छन् वा बहिष्कारमा पर्छन् वा राज्यले नै त्यसलाई खारेज गरिदिन्छ सती प्रथा जस्तो ।

हामी कहाँ अझै पनि महिलाहरुले श्राद्ध गर्ने चलन छैन एकाध अपवादबाहेक । यसमा एउटा भ्रान्तिले काम गरेको छ कि- महिलाहरुले तर्पण वा पिण्डदान गर्नु हुँदैन वा मिल्दैन । यद्यपि गरुण पुराण, मार्कण्डेय पुराण तथा रामायण आदि शास्त्रको प्रसंगहरुबाट के ज्ञात हुन्छ भने सनातन धर्ममा महिलाहरुलाई पनि श्राद्ध गर्ने अधिकार छ । हिन्दु धर्म ग्रन्थहरुअनुसार महिलाहरुले केही विशेष परिस्थितिहरुमा श्राद्ध गर्न सक्छन् । हाम्रो पौराणिक विधान, नियम र त्यस्तो विशेष परिस्थितिबारे जानकारीको अभाव वा चलिआएको रितका कारण यसमा भने महिलाहरुप्रतिको भेदभाव कायमै छ वा स्वयं महिलाहरु यो बन्धन तोड्न त्यति अग्रसर देखिएका छैनन् ।

सनातन धर्मको परम्पराअनुसार तर्पण, पिण्डदान र श्राद्धको कर्म केवल पारिवारिक सदस्यमध्येका पुरुषहरुद्वारा नै सम्पन्न गरिन्छ । यद्यपि शास्त्रले विशेष परिस्थितिमा परिवारका महिलाहरु, छोरी वा बुहारीहरुलाई पनि श्राद्ध गर्ने अधिकार प्रदान गरेको छ ।

महिलाहरुले श्राद्ध गर्न पाउने विधान
गरुण पुराणअनुसार, जुन मृत व्यक्तिको पुत्र, भाइ वा भतिजा आदि पुरुष नातेदार जीवित छैनन् वा उनीहरु श्राद्ध गर्ने स्थितिमा छैनन्, तब अर्थात् त्यस्तो परिस्थितिमा घरका महिलाहरुले श्राद्ध गर्न सक्छन् । रामायणमा स्पष्ट रुपमा के उल्लेख छ भने माता सीताले गयामा गएर आफ्ना ससुरा राजा दशरथको श्राद्ध गर्नुभएको थियो ।

महिलाहरुले श्राद्ध गर्दा अपनाउनुपर्ने नियम
हिन्दु शास्त्रमा महिलाहरुले श्राद्ध गर्दा अपनाउनुपर्ने केही विशेष नियमको पनि उल्लेख छ । शास्त्रअनुसार विशेष परिस्थितिमा केवल विवाहित महिलाहरुले मात्र श्राद्ध गर्न सक्छन् । यसरी श्राद्ध गर्दा महिलाहरुले सेतो वा पहेंलो रङको वस्त्र धारण गर्नुपर्छ । महिलाहरुले श्राद्ध गर्दा कालो तील र कुश प्रयोग गर्नु हुँदैन । उनीहरुले जलबाटै तर्पण दिनुपर्छ ।

यो त भयो शास्त्रमा उल्लेख भएको वैधानिक व्यवस्था- आधुनिक समाजमा शास्त्रमा भएको यही विधान टेकेर श्राद्ध गर्न सकिन्छ । यसमा कुनै बाधा अवरोध छैन, हुँदैन र हुनु पनि हुँदैन । जसरी पुरुषलाई आफ्ना पिता-पुर्खाहरुलाई श्रद्धाञ्जली दिने हक छ यो हक महिलाहरुलाई पनि उत्तिकै छ । अब समय भइसकेको यस्तै बाँकी अनमेल नियमहरुको जन्जिर तोड्ने ।

प्रतिक्रिया