बिहीबार, चैत १५, २०८०

गज्जबको स्वाद

आचार्य प्रभा २०७८ असोज १६ गते ९:०८

-“ऐया! ऐया! छाड्दिनु होस् अब त्यस्तो गर्दिनं म। “
प्रत्युत्तरमा केवल भ्वाक्क, भ्वाक्क लात्ति बजारिएको आवाज आईरहेथ्यो।

बाटोदेखि तल्तिरको दृष्य अनौठो लागेर बाटो हिँड्नेहरु उक्त आवाज भएतिर गईरहेका थिए। एउटा युवकले युवतीको मुक्का, लात्तिको बर्षा झेलिरहेको थियो।

युवतीले भनिरहेकी थिई। -“अबदेखि गाउँका चेलीबेटीलाई दुख दिन्छस् ?”
जवाफमा उस्ले अनुनय विनयकासाथ भनिरहेथ्यो। -” अबदेखि कसैलाई जिस्क्याउँदिनं। छाडिदिनुहोस् मलाई। “

उक्त दृष्यले यात्रीहरुलाई दया लाग्यो र ती युवतीलाई रोक्दै सोधे। -“आखिर यिन्को के गल्ति भयो र यति निर्घातसँग पिटेकी ?”

कोही भन्दैथिए। -” लौ! हेर नारी शक्ति ? कठै ! केटोले मर्नेगरि खायो रामधुलाई। “

उक्त युवतीले जवाफमा भनिन् – “यो गुण्डाले गाउँका चेलीबेटीहरुलाई सताएर,हैरान पारेको रहेछ। यस्को डरले कति त स्कुल जान समेत डराउँदा रहेछन्। यसैले म यस्लाई तह लाउँन यहाँ आएकी। यति नगरि त गाउँका चेलीबेटीलाई बाँच्नै गाह्रो रहेछ। मलाई पनि यस्ले उस्तै निरीह युवती सम्झेर जिस्क्याउँन लागेकोथ्यो। मलाई देख्नासाथ सिटी बजाउँन थाल्यो। पहिला त मैले सहेर हिँडें।अझ मेरो बाटो छेक्दै ‘हाई ! स्वीटी ‘अरे। “

यत्तिकैमा एकजनाले भन्यो। -“अनि त्यति भन्दैमा यस्तरी मरणासन्नावस्थामा पुग्नेगरि कुट्नु पर्छ त?”

जवाफमा युवतीले भनी। -“कस्तो मार्फाको स्याउजस्ता गाला ! चाख्न पाईन्छ कि ?” ‘भनेर मलाई आफूतिर तान्न खोज्यो, अनि मार्फाको स्याउको स्वाद मात्र चखाएकी । अरु क्यै गरेककी हैन मैले। “

यत्तिकैमा एकहुल युवतीहरु आएर भन्न थाले। -“बल्ल निर्जला दिदी (कराँते गुरु )आएर यो दुष्टलाई तह लाउँनु भो। अब हाम्रो खुलेर स्कुल जाने दिन आयो। नत्र यस्ले हामीलाई सुखले बाँच्नै दिएको थिएन। “

यी युवतीहरुका कुरा सुनेर ती यात्रीहरुले -” यी नानीले ठिकै गरिछन्। कहाँ कम छन् र ! नारीहरुका शक्ति पनि। यस्ता फटाहालाई यसरी तह लाउनु पर्छ। चखाईछन् गज्जबको स्वाद।”भन्दै सबै बाटो लागे।

उक्त फटाहा जिउको धुलो टक्टकाउँदै उभिरहेकोथ्यो।

प्रतिक्रिया