आइतबार, वैशाख १६, २०८१

असाधारण आधुनिक नेता

नेपालखोज २०७८ असोज १६ गते १५:५५

नेतामा हुनुपर्ने अपरिहार्य गुण हो – दूरदृष्टि । आफ्ना साथी र सहयात्रीलाई कहाँसम्म र कसरी लैजाने ? नेतालाई आफ्नो गन्तव्यको स्पष्ट जानकारी हुनुपर्दछ । नेतामा आफ्ना साथी र सहयात्रीहरूलाई वर्तमान स्थितिभन्दा राम्रो स्थितिमा पुर्‍याउन सक्ने खुबी हुनुपर्दछ । नेता दूरदर्शी, चारित्रिक बल भएको, आकर्षक, करुणाले ओतप्रोत, साहसी, समर्पण भाव भएको, दृढ निश्चयी, सम्प्रेषणशील, सङ्गठन तथा कुशल रणनीति–निर्माता, उदार, आत्मविश्वासी, देशभक्तिपूर्ण र संसारलाई हेर्ने व्यापक दृष्टिकोणजस्ता गुणले भरिएको हुनुपर्दछ । उसले राजनीतिक, आर्थिक, वैज्ञानिक, सामाजिक, धार्मिक र वैचारिक सीमाहरूको पारम्परिक घेराबाट बाहिर निस्किएर मानिसहरूलाई प्रेरित गर्न सक्नुपर्छ । इतिहासमा आफ्नो अमिट छाप छोड्न सक्ने पथप्रदर्शक बन्नुपर्दछ, नेता । यसैका आधारमा उसले सामाजिक क्षेत्र, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश र प्राज्ञ जगत्मा अनुभूति जगाउन सक्दछ । त्यसको प्रभाव कालान्तरसम्म रहन्छ । भविष्यप्रति नेताको दृष्टि जति तीक्ष्ण र सही हुन्छ, ऊ उति नै उत्कृष्ट नेताका रूपमा स्थापित हुन्छ ।

फ्रान्सको राज्यक्रान्ति आधुनिक युगको अग्रणी घटना थियो । आधुनिक इतिहासको सर्वेक्षण गर्ने जो कसैले पनि यसलाई स्वीकारेको छ । त्यस बेलादेखि आजसम्म नेपोलियन, बोलिवर, लिङ्कन, लेनिन, कमाल अतातुर्क, हिटलर, चर्चिल, रुजवेल्ट, स्टालिन, गान्धी, नेहरू, माओत्से तुङ्ग, हो–चि–मिन्ह, नासेर, केनेडी, फिडेल क्यास्त्रो, मार्टिन लुथर किङ्ग, इन्दिरा गान्धी, आयातोल्लाह खोमेनी, अनवर सादात, मार्गरेट थ्याचर, नेल्सन मन्डेला, लेक वालेसा, व्याकलाव हवेल, कोराजोन अक्विनो र चौधौं दलाई लामा नायक र महानायकका रूपमा संसारमा स्थापित भएका छन् । परम्पराको साँघुरो घेराबाट बाहिर निस्किएर आफ्ना जनताको नेतृत्व गर्ने यिनै नायक र महानायकहरूले इतिहासका साना वा ठूला, अनुकूल वा प्रतिकूल, स्थानीय, क्षेत्रीय अथवा भूमण्डलीय परिधिमा आफ्नो अमिट छाप छोडेका छन् ।

असत्यका विरुद्ध सत्य, घृणा र हिंसाका बदलामा न्याय र अहिंसा, युद्धको सट्टा शान्तिको प्रयोगद्वारा समस्याको समाधान खोज्ने नेता समाजमा प्रतिष्ठित र सम्मानित हुन्छ । लिङ्कनले भनेका छन्, ‘हामीलाई विश्वास हुनुपर्दछ, शक्ति उचित कामबाट मात्रै प्राप्त हुन्छ । त्यसैका आधारमा हामी जीवनको अन्त्यसम्म ज्ञानका आधारमा कर्तव्य निर्वाह गर्ने साहस गर्दछौं ।’ अव्राहम लिङ्कन १४० वर्षपछि पनि उत्तिकै प्रेरणादायी नेताका रुपमा रहेकाछन् । सुदूरमा अवस्थित सेन्ट हेलेना द्वीपको बन्दी गृहमा नेपोलियनले बोलेका यी शब्दहरू आज पनि उत्तिकै प्रासङ्गिक छन्, ‘यश क्षणिक हुन्छ, अज्ञान निरन्तर । प्रोमेथियस जस्तै म एउटा चट्टानमा बाँधिएको छु । गिद्धहरूले मलाई लुछ्ने छन् । दुनियाँमा दुई वटामात्र शक्ति छन् । एकातिर आत्मा छ र अर्कोतिर तरबार । अन्ततः तरबारमाथि आत्माले विजय प्राप्त गर्नेछ ।’ हिटलरको भनाई यसको ठिक विपरीत भएपनि ध्यान दिनुपर्ने खालका छन, ‘विजेतासँग उसले सत्य बोलेको थियो कि थिएन कहिल्यै सोधिने छैन ।” अर्का व्यक्तित्व चर्चिल भन्ने गर्दथे, ‘युद्धका बेला सत्यको वाचा गर्नका लागि समेत कैयौं झुठको सहारा लिनुपर्दछ ।’ माओत्से तुङ्ग त शक्ति बन्दुकको नालबाट उत्पन्न हुन्छ भन्थे ।

नोबेल शान्ति पुरस्कारबाट सम्मानित डेसमन्ड टुटुले डिसेम्बर २००७ मा बेङ्लोरको इन्डियन इन्स्टिच्युट अफ साइन्समा व्याख्यान दिएका थिए, ‘के मानव जातिका लागि कुनै आशा बचेको छ ?’ उनको भनाइ थियो, ‘कट्टर संस्कृतिहरूमा समेत जसको हामी सराहना गर्दछौं, पुज्दछौं-जुन व्यक्तिलाई हामी सार्वभौम रूपले नै अपार श्रद्धा योग्य मान्दछौं, ती व्यक्तिहरु अभिमानी, आक्रामक र सम्मानित र सफल भएकाले सह«ाइएका होइनन् । त्यसको विपरित महात्मा गान्धी, मार्टिन लुथर किङ्ग (जुनियर) दलाई लामा, मदर टेरेसा र नेल्सन मन्डेलाको जस्ता व्यक्तित्वहरुको सम्मान विश्वव्यापि रुपमा गरिन्छ । किन ? किनकि उनीहरू राम्रा र असल मानिस हुन् । हामी मानिसको शरीरभित्र एउटा आन्तरिक एन्टेना हुन्छ, जसले सबै राम्रो कुरा टिप्छ । किनभने हाम्रो सृष्टि नै राम्रोपन, प्रेम, कोमल करुणा र सहभागिताका लागि भएको छ । मूल रूपमा हामी आधारभूत रुपले नै अन्तरविरोधी छौं । हामी सीमित क्षमता भएका जीव हौं, जसको निर्माण असीमित कर्मका लागि भएको छ ।’

सर्वाधिक असाधारण आधुनिक नेता
आधुनिक संसारका महानायकको सूचीमा गान्धी सबैभन्दा माथि छन् । उनका उपलब्धि महान् छन् । प्रभाव ऐतिहासिकमात्र नभएर प्रेरणादायी छ । सबैभन्दा बढी हिंसापूर्ण शताब्दी भनिएको समयमा गान्धीले सबैभन्दा विशाल र शक्तिशाली साम्राज्यको सामना गरे अहिंसात्मक तरिकाले । संसारको सम्पूर्ण जनसङ्ख्याको पाँच भागमध्ये एक भाग जनताको देश भारतलाइ स्वतन्त्रता दिलाए । त्यो देशको विशाल जनसमूहलाई राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका लागि उत्प्रेरित गरे । अहिंसात्मक आन्दोलनका लागि जनसाधारणलाई प्रेरित गरे । यसैको फलस्वरूप विश्वभरि नै उपनिवेशवादविरुद्ध आन्दोलनहरू सुरु भए । संयुक्त राज्य अमेरिका र दक्षिण अफ्रिकामा वर्णभेदवादी उत्पीडनको अन्त्य भयो । पोल्यान्ड, रुमानिया, चेकोस्लोभाकिया, पूर्वी जर्मनी, लाट्विया, लिथुआनिया, फिलिपिन्स, रुस, चिली, सर्विया, जर्जिया र युक्रेनबाट तानाशाही शासन समाप्त भयो । तिब्बत र बर्माका जनता, संसारभरका पर्यावरणवादीहरू र सबै निमुखा मानिसका साहसिक सङ्घर्षहरूमा उनको प्रेरणाको सतत प्रभाव देखिएको छ । विश्वका कुनै पनि आधुनिक नायकको तुलनामा गान्धीका बारेमा सबैभन्दा धेरै पुस्तक लेखिएका छन् । यिनको अहिंसात्मक सिद्धान्तको प्रचारका लागि संसारमा सबैभन्दा धेरै सूचना केन्द्र र समिति गठन गरिएको छ । उनी यस्ता एक्ला नेता हुन्, जसमाथि फिलिप ग्लासले सत्याग्रहको नाममा पूर्ण ओपेरा बनाएको कीर्तिमान छ । यो ओपेराको गायन संस्कृतमा हुन्छ, तर अमेरिका र अन्य पश्चिमी देशका प्रमुख सहरहरूमा मञ्चन गरिँदा स्रोताहरू खचाखच भरिएका हुन्छन् । उनलाई नायक बनाएर रिचर्ड एटेनबरोले निर्माण गरेको फिल्म ‘गान्धी’ लाखौंलाख मानिसले हेरेका छन् । सन् १९९९ मा गरिएको एक मत सर्वेक्षणमा गान्धीको नाम ‘सहस्राब्दी व्यक्ति’को सूचीमा सबैभन्दा माथि थियो ।

यार्क जिमरम्यान इन्कर्पोरेशन र वेटा (WETA) , वाशिङ्टन डिसीले संयुक्त रूपमा निर्माण गरेको तथा अल्बर्ट आइन्सटाइन इन्स्टिच्युट एवम् आर्थर विनिङ्ग डेभिस फाउन्डेशनको आर्थिक सहयोगमा निर्मित चलचित्र शृङ्खला Force More Powerful मा भारत, संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका, डेनमार्क, पोल्यान्ड र चिलीका सफल अहिंसात्मक आन्दोलनहरूको सजीव चित्रण गरिएको छ । यी सबै चलचित्र शृङ्खलाको मुख्य प्रक्रियाका रूपमा गान्धीको विचार अङ्कित छ, ‘अहिंसाको शक्तिको खोजी गरेर गान्धीले बीसौं शताब्दीलाई बदलिदिए ।’

प्रतिक्रिया