राजनीतिको बागडोर माओवादी केन्द्रमा निहित छ : नेता भुसाल

नेपालखोज २०७८ असोज १६ गते २०:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राजनीतिकको बागडोर नेकपा (माओवादी केन्द्र) र त्यसको नेतृत्वमा निहित रहेको बताएकी छन् ।

पार्टी स्थायी समितिसमेत रहेकी मन्त्री भुसालले माओवादीहरू आफ्नो संगठन, विचार र कार्यदिशामा स्पष्ट रहेको उल्लेख गर्दै देशको सिंगो राजनीति चलाउने क्षमता आफ्नो पार्टीमा रहेको दाबी गरिन् । माओवादी नेतृत्वमा एकताको पहल गर्ने, प्रतिक्रान्तिका विरुद्ध गोलवद्ध गर्ने, अग्रगामी शक्तिलाई मिलाउने क्षमता रहेको उल्लेख गर्दै उनले भनिन्, “देशको राजनीति बागडोर माओवादी र माओवादी नेतृत्वले लिएको छ ।”

ललितपुर महानगरपालिका–२२ को वडा सम्मेलनको आज उद्घाटन गर्दै उनले जनयुद्धका समयमा जनतासँग नङ र मासुको सम्बन्ध बनाएजस्तै गरी संगठन विस्तार गर्ने बताइन्। “आम पार्टीे कार्यकर्ता र जनताको बलबाट सुदृढ संगठन बनाएर पार्टीलाई अझै सबल बनाउनुपर्छ”, मन्त्री भुसालले भनिन्, “टोल, वडा, पालिकास्तरमा संगठन विस्तार गरेर जानुपर्छ । माओवादीलाई एकताबद्ध गरेर सुदृढ संगठन बनाउँछौँ ।”

उनले जनताको लोकतन्त्र, संविधानको रक्षा र राष्ट्रियताका विषयमा आधारभूत सहमति भएपछि गठबन्धनको सरकार बनेको स्पष्ट पार्दै पार्टी गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताइन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दलाल पूंजीपति वर्गलाई पोस्ने र विदेशी मालिकलाई खुशी पार्ने अभियानमा लागेकाले पछिल्लो अवस्था सिर्जना भएको उनको भनाइ छ ।

स्थायी समिति सदस्य भुसालले दशवर्षे जनयुद्धको जगमा उठेको जनआन्दोलन र मदेश अन्दोलनमा योगबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता समावेश भएको संविधानलाई समाप्त पार्न षड्यन्त्र गर्ने विरुद्ध एकताबद्ध हुन आग्रह गर्दै श्रमजीवी जनताको पक्षमा लाग्ने पार्टीको पक्षमा जनताको विश्वास रहेको दाबी गरिन् ।

सो अवसरमा पार्टीका केन्द्रीय सदस्य एवं ललितपुर पार्टी जिल्ला इन्चार्ज हरि दाहाल र सहइन्चार्ज दीपेश महर्जनले श्रमजीवी जनताको जनलहर रहेको उल्लेख गर्दै आगामी दिनमा पहिलेजस्तै माओवादीले परिवर्तनको नेतृत्व गर्ने विश्वास व्यक्त गरिन् । आजै माओवादी केन्द्रले ललितपर महानगरको वडा नं २६ र २७ को वडा भेला गरेको छ ।

प्रतिक्रिया