सोमबार, वैशाख १५, २०८२

‘के तपाईं मलाई बचाउन आउनुहुन्छ ?’

नेपालखोज २०७८ असोज १७ गते १०:५५

काठमाडौं । ‘के तपाईं मलाई तब पनि बचाउन आउनुहुन्छ, जब मलाई काटिने छ ?- भन्ने नारा हिजो आज भारतको देहरादूनतिर फेरि देखिन थालेको छ । यो नारा काट्न ठिक्क पारिएका रुखको पुकारका रुपमा देहरादूनको सहस्त्रधारा क्षेत्रमा विरोध प्रदर्शनका क्रममा देखिएको हो । त्यहाँ सडक चौडा गर्न २२ सय रुख काटिने भएपछि उत्तराखण्ड राज्यका १७ वटा गैर-सरकारी संस्था एकजुट भई देहरादूनको विकासका नाममा रुख काट्ने कुराको विरोध गरिरहेका छन् ।

सहस्त्रधारामा रुख जोगाउने अभियानका अभियन्ताहरुले चिपको आन्दोलनको स्मरण गराउँदै रुखलाई अँगालोमा कसे र त्यसमा रक्षा सूत्र भन्दै डोरो बाँधिदिए ।

ती बाईस सय रुख दिल्लीबाट मसुरी घुम्न जानेहरुलाई ट्राफिक जामबाट मुक्ति दिलाउने उद्देश्यले काट्न लागिएका हुन् जसमा यूकेलिप्टस, पीपल तथा आँपका रुख बढी छन् । सहस्त्राधारा क्षेत्रको करिब १४ किलोमिटर बाटो दुईबाट चार लेनको बनाउन ती रुख काटिन लागेका हुन् ।

यसैगरी उत्तराखण्डका अन्य क्षेत्रमा पनि विकासका नाममा लाखौं रुख काटिने तयारी भइरहेको छ जसको अभियन्ताहरुले विरोध गरिरहेका छन् । तीमध्ये धेरैजसो सडक विस्तारका मुद्दा छन् । यसमा केही घटनामा स्थानीय अदालतबाट स्टे अर्डरसमेत जारी भएको छ भने केही ठाउँमा विरोधको क्रम जारी छ । रुख काटेर विकासको काम गर्ने कतिपय प्रस्तावित योजनाको समेत अभियन्ताहरुले विरोध गरेका छन् ।

सिटिजन फर ग्रिन दून संस्थाका हिमांशु अरोडा भन्छन्, ‘विकासको हाम्रो परिभाषा नै गलत छ । एक हजार मानिसमध्ये २२ जनासँग कार छ तर हामी तिनै कारधनीहरुको सुविधालाई ध्यानमा राखेर योजना बनाइरहेका मात्र छैनौं त्यसका लागि अमूल्य प्राकृतिक सम्पत्ति पनि नाश गरिरहेका छौं । सहस्त्रधारामा पैदल स्कुल जाने बालबालिका तथा फल-सब्जीका ठेलावालाहरुले त्यहाँका तिनै रुखबाट छहारी पाउँछन् । तर हामी ती गरिबहरुबाट रुखको छहारी पनि खोस्न गइरहेका छौं ।’

हिमांशुका अनुसार विकास परियोजनाहरु त्यहाँ भएका रुख-बिरुवाहरुलाई ध्यानमा राखेर बनाइनुपर्छ । क्षतिपूर्तिमा दोब्बर रुख रोप्ने भनेर रुख काट्ने कामलाई जस्टिफाई गर्नु गलत हो । क्षतिपूर्तिमा रोपिएका कलिला बिरुवा र वर्षौं पुराना वृक्षबीच तुलना हुन सक्दैन ।

विकासका नाममा व्यापक रुपमा रुख काटिन थालेपछि सुन्दरलाल बहुगुणाले दशकौंपहिले यही क्षेत्रबाट चिपको आन्दोलन सुरु गरेका थिए । जसमा मानिसहरु रुख जोगाउन अपिल गर्दै रुखलाई अँगालो मारेर सत्याग्रहमा सहभागिता जनाउँथे । बहुगुणाको यो आन्दोलनले विश्वब्यापी चर्चा पाएको थियो । नेपालमा समेत अभियान चलाएका बहुगुणाका हजारौं अनुयायी संसारभर फैलिएका छन् । उनको यसै वर्ष देहावसान भएको हो ।

रुख काटेकै कारण भूस्खलन, बाढी आदिको समस्या झेल्ने मुलुकमा नेपाल पनि अग्रपंक्तिमा छ ।
-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया