राष्ट्रपति भण्डारीसमक्ष महिला आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय महिला आयोगले आज आयोगको आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भण्डारीसमक्ष सो प्रतिवेदन पेस गरेकी हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले लामो समयको संघर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली महिला आन्दोलनको ठूलो उपलब्धिका रूपमा रहेको उल्लेख गर्दै सबै किसिमका लैङ्गिक विभेद अन्त्य गरी समानतामा आधारित समाज निर्माण गर्नेगरी आयोगले काम गर्नुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले आयोगलाई आगामी दिनमा अन्य संवैधानिक निकायसँग आवश्यक समन्वय र सहकार्य गरी महिला हक अधिकारको संरक्षण र संवर्द्धन तथा महिला हिंसा नियन्त्रणको क्षेत्रमा थप क्रियाशील भई कार्य गर्न समेत निर्देशन दिइन्।
राष्ट्रिय महिला आयोगका अध्यक्ष पराजुलीले आयोगबाट आव २०७७/७८ मा सम्पादित काम कारबाहीलाई समेटी तयार गरिएको चौधौँ वार्षिक प्रतिवेदनमा समेटिएका मुख्य–मुख्य विषयबारेमा संक्षेपमा प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा, जया घिमिरे र सावित्रा कुमारी शर्मासहित आयोगका सचिव, उपसचिवलगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया