अन्तर्राष्ट्रिय अहिंसा दिवस : ८ जिल्लामा निकालियो शान्ति र्याली

काठमाडौं । अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा मानवअधिकार तथा शान्ति समाजले मुलुकका आठ जिल्लामा शान्ति र्याली निकालेको छ ।
काठमाडौं, रुपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँके शाखाको आयोजनामा अहिंसा : पवित्र एवं गौरवमय मार्ग भन्ने सन्देशसहित शान्ति र्याली निकालिएको शान्ति समाजका महासचिव रामकृष्ण बरालले जानकारी दिए ।
शान्ति ¥यालीमा जुनसुकै प्रकारका हिंसालाई निरुत्साहित गर्ने कानूनी व्यवस्था कार्यान्वयनको माग गरिएको थियो ।
संयुक्त राष्ट्रसङ्घ महासभाले १५ जुन २००७ को दिन अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
महासभाद्वारा पारित प्रस्तावअनुसार सबै राष्ट्रसङ्घीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको थियो ।
अक्टोबर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो । यसै अवसरलाई महासभाले अहिंसा दिवसका रूपमा घोषणा गरेको हो । सन् २००७ मा राष्ट्र सङ्घले अहिंसा दिवस मनाउने निर्णय गरेपछि शान्ति समाजले विविध कार्यक्रमसहित प्रत्येक वर्ष अक्टोबर २ मा अहिंसा दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया