शनिबार, वैशाख १५, २०८१

किसान भन्छन्- सरकारको साथ पाएनौं

मीना साउँद २०७८ असोज २१ गते ९:४१

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सम्पूर्ण क्षेत्र ठप्प प्रायः भएपछि विश्वका लाखौं नागरिक बेरोजगार हुन पुगे । यद्यपि संक्रमण फैलिएको करिब एक वर्षपछि विश्वका विभिन्न ठूला राष्ट्रमा कोरोनाको भ्याक्सिन उत्पादन भयो र हाल भ्याक्सिनले मानिसमा केही राहत महसुस भएको छ, भने नागरिक विस्तारै सामान्य जीवनशैलीमा फर्किरहेका छन् ।

तर कोरोना संक्रमणले धेरै क्षेत्रहरू बन्द भएपछि रोजगारीका लागि विदेश पुगेका धेरै नेपाली युवा स्वदेश फर्किएका छन् । विशेषगरी खाडी मुलुुक र भारत गएका युवाहरू गाउँ फर्र्किएका छन् । स्वादेशमै भने जस्तो रोजगारी नपाएपछि निराश बन्दै रोजगारीका लागि विदेश पुगेका धेरै युवा स्वदेश फर्किएसँगै यतिबेला व्यावसायीक कृषितर्फ आकर्षित बन्न थालेका छन् । मनग्ये आम्दानी गर्ने सोचमा विदेश पुगेका धेरै युवा सोचे जस्तो कमाइ नभएपछि र कोरोनाले जागिरै खोसिएपछि यतिबेला स्वदेशमै रमाउन थालेका छन् । राम्रो कमाइ गर्छु भनेर विदेश गए पनि भने जस्तो कमाइ नभएपछि फर्किएर नेपालमा कृषितर्फ लागेको बताउँछन् पर्वतको फलेवास घर भई हाल भक्तपुरको सिरुटार बिरुवामा व्यावसायिक तरकारी तथा नर्सरी खेती गर्दै आएका खेमनारायण पौडेल ।

कक्षा १२ सम्म अध्ययन गरेका पौडेलको स्वदेशमै केही गर्न मन थियो । तर भने जस्तो काम र दाम नपाएपछि उनलाई घर चलाउनसमेत हम्मे पर्यो र अन्ततः उनी पनि राम्रो कमाइ गर्ने आशमा खाडी हानिए । खाडी पुगेको केही समय निकै मिहिनेत गरेर मनग्ये आम्दानी गरेर घर चलाउन सफल भएका पौडेललाई कोभिड संक्रमण फैलिएपछि समस्या पर्यो । उनले काम गर्ने कम्पनी नै बन्द भयो र अन्ततः निराश हुँदै उनी स्वदेश फर्किए ।

कोभिडकै समयमा स्वदेश फर्किएका पौडेललाई अब घर कसरी चलाउने भन्ने चिन्ताले सताउन थाल्यो । गाउँघरकै केही साथीले तरकारी खेतीमा लाग्न सुझाए पछि उनि पनि तरकारी खेती गर्न तर्फ लागे । खाडीमा धेरै हन्टर खाएका पौडेल अहिले तरकारी खेतीमा रमाइरहेका छन् । पौडेल भन्छन्, ‘म अहिले यसैतर्फ खुसी छु । मिहिनेत गरे तरकारी खेतीबाट जीवन चलाउन सकिन्छ । सकेसम्म युवा साथीहरूलाई विदेश नगएर गाउँठाउँमा केही गर्न सुझाव दिन चाहन्छु ।’

पर्वतका नारायणजस्तै काठमाडौंका लवराज उपाध्याय पनि यतिबेला तरकारी खेतीमा रमाइरहेका छन् । हाल उपाध्याय काठमाडौंको तार्केश्वर नगरपालिका चिसामानीमा हिमालयन स्ट्रबेरी फार्म सञ्चालन गर्दै आएका छन् । उनी पनि कोभिडका कारण जागिर खोसिएपछि स्वदेश फर्किएर तरकारी खेती थालेका थिए ।

तर, जेनतेन गरी सुरु गरिएको व्यवसाय फस्टाउनै लागेको समयमा कोरोनाले प्रभावित बनाएको व्यवसायी बताउँछन् । संक्रमण रोकथामका लागि गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण यातायातको अभाव हुँदा उत्पादन गरेको तरकारीसमेत बजारसम्म पुर्याउन नसक्दा फलेको तरकारी पनि बारीमै कुहिएको उनी स्मरण गर्छन् ।

कोरोना संक्रमणका कारण केही कुरामा असहज भए पनि कतिपयलाई भने यसले अवसर पनि जुराइदिएको छ । मल, बीउ, विषदी पुर्याउन असहज भए पनि कोरोनाले गर्दा आफूहरूले राम्रो बजार पाएको भक्तपुरको सिरुटार बिरुवामा व्यावसायिक तरकारी तथा नर्सरी खेती गर्दै आएका खेमनारायणको अनुभव छ ।

खेम नारायण र लवराज जस्तै धेरै युवा यतिबेला व्यावसायिक कृषितर्फ आकर्षित भइरहेका छन् । विदेशबाट फर्किएका युवा गाउँमै कृषि व्यवसायमा लाग्ने र राम्रो प्रगति गर्ने क्रम बढ्न थालेको छ । तरकारी खेती, पशुपालन र अन्य घरेलु उद्यममा लागेर युवाहरू उदाहरणीय बन्न थालेका छन् । कोरोनाका कारण र अरू विभिन्न हन्डर कारण स्वदेश फर्किएका युवाहरूको कृषितर्फ मोह बढेको पाइन्छ । विदेशबाट फर्किने युवालाई लक्षित गर्दै स्थानीयहरूले पनि कृषि र पशुपालनमै जोड्ने गरी कार्यक्रम ल्याएका छन् भने तीनै तहका सरकारले युवालाई स्वदेशमै रोजगार बनाउनेमा जोड दिइरहेका छन् ।

सरकारको साथ र आफ्नो जाँगरको उपयोग गर्दै विभिन्न क्षेत्रका युवाहरूले विदेशमा भन्दा स्वदेशमै व्यवसाय वा उद्यम गरी आम्दानी गर्नुपर्छ भन्ने सन्देश दिइरहेका छन् । यसले आगामी पिँढीलाई पनि प्रेरणा प्रदान गर्न मद्दत पुग्ने देखिन्छ ।

यद्यपि केही स्थानीय तहहरूले युवाहरूलाई लक्षित गरी कार्यक्रमहरू ल्याए पनि केही युवाहरूले भने स्वदेशमै केही गर्न खोजे पनि सरकारको साथ नपाएको गुनासो गरेका छन् । भने जस्तो जागिर पनि नपाउने र आफ्नै केही गरौं भने आर्थिक स्रोतले साथ नदिँदा केही गर्न नसकेको युवाको गुनासो छ ।

विदेशमा सोचेजस्तो कमाइ गर्न नसकी निराश बनेका युवा नेपालमै केही गर्न खोज्दा सरकारको समेत साथ नपाउँदा निराश भने पक्कै छन् । देशमा देखिएको राजनीतिक खिचातानीले स्वदेशमै केही गरौं भनि लागेका युवा फेरि पलायन हुनुपर्ने अवस्थाको सिर्जना भएको व्यवसायी लवराज उपाध्याय बताउँछन् । यद्यपि तरकारी खेतीबाट विस्थापित नहुने उनको सोच छ, तर समय समयमा भइरहने देशको परिस्थितिले उनलाई विदेशै बसेको उचित लाग्छ ।

नेपालका लाखौं युवा रोजगारीको खोजीमा विदेशिएका छन् । तर त्यहाँ पुगेर सोचे जस्तो कमाइ गर्न नसकेपछि धेरै युवा बर्सेनि स्वदेश फर्किन्छन् । स्वदेशमै केही गर्न खोजिरहेका युवाले सरकारका तर्फबाट पाउनुपर्ने कुनै पनि सहयोग पाउन नसकेर फेरि पलायन भइरहेको तितोसत्य छ ।

यसरी बाहिरको सीप अनि क्षमता भएका युवाले स्वदेशमा केही गर्छु भन्दा उनीहरूका लागि आवश्यक राहत, परामर्शलगायत उत्प्रेरणा दिने खालका तालिमहरू दिन सके स्वदेशमै युवालाई स्वरोजगार गराउन सकिन्छ कि ?

प्रतिक्रिया