शुक्रबार, वैशाख ७, २०८१

यात्रा गर्दा अपनाऔं यस्ता सावधानी !

विपिन गौतम २०७८ असोज २३ गते ८:४६

सहरमा मात्रै होइन गाउँ–गाउँसम्म सडक पुगेको छ । यातायातका साधन प्रयोग नगरी हिँड्न गाह्रो छ । लामो–छोटो यात्रा कुनै न कुनै समय गर्नै पर्छ । पछिल्लो समय कोरोना महामारीपछि यात्रा गर्दा त अझै धेरै सावधानी अपनाउनुपर्ने भएको छ । खान, बस्न र हिँडडुल गर्दा पनि सचेत बन्नुपर्छ । यात्राका क्रममा खान, बस्नसहितका कुरामा सावधानी अपनाए धेरै समस्याबाट बच्न सकिन्छ । चालक र यात्रु दुवैले सावधानी अपनाउन आवश्यक छ । आज यस्तै सावधानीका विषयमा चर्चा गरौं ।


-घरबाट बस चढेपछि खाजा, पानी आफैं बोकेर हिँड्नुपर्छ ।
-खानाखाने स्थानको अवस्था झट्ट हेर्दा राम्रै देखिए पनि आफू पुग्नुअघि के थियो जानकारी नहुने हुँदा विचार गरेर मात्रै खानुपर्छ ।
-आफूले बोकेको सामानबाट फ्याँकिने वस्तुलाई एउटा झोलामा राख्ने र कुनै फोहोर संकलन गर्ने ठाउँमा राख्नुपर्छ । जथाभावी फाल्ने र थुक्ने गर्नु हुँदैन ।
-गाडी रोक्ना साथ उत्रनु हुँदैन । पूरै रोकिएपछि मात्रै उत्रनुपर्छ ।
-चालकले सवारीसाधन रोकेको स्थानमा रहेको शौचालय प्रयोग गरेपछि अनिवार्य पानी हाली सफा गर्नुपर्छ ।
-आफूसँग यात्रा गरिरहेका अन्य यात्रीले सहयोग मागेमा सहयोग गर्नुपर्छ ।
-आवश्यकताभन्दा बढी सामान लिई यात्रा गर्नु हुँदैन ।
-चालकसँग यात्रा अवधिमा नबोल्ने । कुनै जानकारी लिन दिन परे परिचालकलाई जानकारी गराउने ।
-सवारीसाधन, सवारी चालक र परिचालकबाट नियम पालना नभएको भेटिए परिचालकलाई सुनाउने ।
-कुनै समस्या समाधान भएन भने मोबाइल फोनबाट १०० नम्बरमा नेपाल प्रहरीलाई जानकारी गराउने । जुन जिल्लामा हुनुहुन्छ त्यो नम्बरले त्यही जिल्लाका प्रहरीलाई खबर गर्न सकिन्छ ।
-आफू जाँदै गरेको स्थानको पूर्ण सूचना लिनुहोस् ।

विपिन गौतम

गौतम नेपाल प्रहरीका पूर्वडीएसपी हुन् ।

प्रतिक्रिया