सोमबार, वैशाख १५, २०८२

किन दिइयो पत्रकारलाई नोबेल शान्ति पुरस्‍कार ?

नेपालखोज २०७८ असोज २३ गते ८:४४

काठमाडौं । आ-आफ्नो देशमा अभिव्यक्ति स्वतन्त्रताका लागि गरेको प्रयासको कदर गर्दै फिलिपिन्‍सकी पत्रकार मारिया रेस्‍सा तथा रूसका दमित्री मुरातोवलाई वर्ष २०२१ को नोबेल शान्ति पुरस्‍कार प्रदान गर्ने औपचारिक घोषणा नर्वेजियन नोबेल समितिले हिजै गरिसकेको छ ।

समितिले भनेको छ- यी दुवै ती सबै पत्रकारका प्रतिनिधि पात्र पनि हुन्, जो एउटा यस्तो संसारमा अभिव्यक्तिको स्वतन्त्रताका लागि खडा छन्, जहाँ लोकतन्त्र र प्रेस स्वतन्त्रताले अप्ठ्यारो परिस्थितिको सामना गर्नु परिरहेको छ ।

रेस्‍सा एक डिजिटल मिडिया कम्पनी ‘रैपलर’ की सह-संस्थापक हुन् । जो सन् २०१२ देखि खोजी पत्रकारिता (इन्भेस्टिकेटिभ जर्नालिजम) को क्षेत्रमा काम गरिरहेका छन् । उनी अहिले पनि त्यसको नेतृत्व गरिरहेकी छन् । रैपलरले रोड्रिगो दुतेर्तेको शासनकालमा चलाइएको लागुऔषधविरोधी अभियानभित्रको सत्य उजागर गर्दै जनतासामु वास्तविकता उजागर गरेको थियो ।

उक्त अभियानका क्रममा यति धेरै मानिस मारिए कि एक समय त्यो अभियान आफ्नै देशका जनताविरुद्धको युद्ध प्रतित हुन थालेको थियो । त्यति मात्र होइन रेस्‍सा र ‘रैपलर’ ले कसरी सोसल मिडिया प्रयोग गरेर झुटो खबर फैलाइन्छ, विरोधीहरुलाई सताइन्छ अनि सार्वजनिक संवादमा हेरफेर गरिन्छ भन्ने कुरा पनि उजागर गरेको थियो ।

उता रुसी पत्रकार दमित्री मुरातोवले सन् १०९३ मा नोवाजा गजेटा नामक अखबारको प्रकाशन प्रारम्भ गरेका थिए । उनी १९९५ देखि यसको प्रधान सम्पादक छन् । नोबेल समितिद्वारा जारी विज्ञप्तिअनुसार, १९९३ मा आफ्नो स्थापनादेखि नै नोवाजा गजेटाले भ्रष्टाचार, पुलिसद्वारा भइरहेको हिंसा, गैरकानुनी गिरफ्तारी, चुनावी धोखाधडी तथा ट्रोल कारखानाहरुदेखि लिएर रूसभित्र र बाहिर सैन्य बलको उपयोगजस्ता विषयमा महत्त्वपूर्ण लेख प्रकाशित गरिरहेको छ । यो समाचारपत्र सुरु भएयता यसका ६ जना पत्रकारको हत्या भइसकेको छ जसमा अन्ना पोलितकोवस्काजा पनि छन् जसले चेचन्या युद्धको भण्डाफोर गर्ने लेख लेखेका थिए ।

यी सबका बाबजुद मुरातोव अखबारको स्वतन्त्र नीति छाड्न तयार भएनन् । उनी अहिले पनि पत्रकारिताको पेसागत तथा नैतिक मापदण्डहरुको उत्तिकै पालना गरिरहेका छन् । उनले जहिले पनि पत्रकारहरुको स्वतन्त्रतापूर्वक लेख्न पाउने अधिकारको वकालत एवं रक्षा गर्दै आएका छन् ।

नोबेल सोसाइटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ- स्वतन्त्र र तथ्यमा आधारित पत्रकारिताले सत्ताको दुरुपयोग, झुट तथा युद्धको दुष्प्रचारबाट समाजलाई जोगाउने काम गर्छ । नोबेल समितिका अनुसार अभिव्यक्ति र प्रेस स्वतन्त्रताबिना देशहरुबीचको भ्रातृत्वलाई सफलतापूर्वक अघि बढाउन कठिन छ । यति मात्र होइन यसको अभावमा निशस्त्रीकरण र वर्तमान समयमा सफल हुने एउटा राम्रो विश्वव्यापी व्यवस्थालाई अघि बढाउन पनि मुस्किल हुनेछ ।

नोबेल समितिले भनेको छ- सत्ताप्रति मौलिक रूपले आलोचनात्मक रवैयाका साथ नोवाया गजेटा रूसको सबैभन्दा स्वतन्त्र समाचारपत्र हो । यो समाचारपत्रको तथ्यमा आधारित पत्रकारिता र पेसागत निष्ठाले यसलाई रूसी समाजका त्यस्ता पक्षहरुको जानकारीको एउटा महत्त्वपूर्ण स्रोत बनाएको छ जसको उल्लेख सम्भवतः अन्य मिडियामा कहिलै पनि हुने थिएन । उता मास्कोमा क्रेमलिनका प्रवक्ता दमित्री पेसकोवले मुरातोवलाई बधाई दिँदै प्रतिभाशाली र बहादुर व्यक्तिका रूपमा उनको प्रशंसा गरेका छन् ।

प्रतिष्ठित नोबेल पुरस्कारका साथ एक स्वर्ण पदक तथा एक करोड स्विडिस क्रोनर प्रदान गरिन्छ । यो पुरस्कार राशि पुरस्कारका संस्थापक स्विडिस आविष्कारक अल्फ्रेड नोबेल छोडेर गएको कोषबाट प्राप्त हुन्छ जसको मृत्यु १९९५ मा भएको थियो ।

गएको सोमबार नोबेल समितिले अमेरिकाका नागरिक डेभिड जुलियस तथा अर्डेम पटापाउटियनलाई मानव शरीरले तापमान र स्पर्शलाई कसरी बुझ्छ भन्ने कुराको खोजका लागि चिकित्सा विधाको पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार गएको मंगलबार घोषणा गरिएको थियो जसमा तीनजना वैज्ञानिकलाई जलवायु परिवर्तनका सम्बन्धमा हाम्रो बुझाइलाई विस्तार गर्न मद्दत पुर्‍याएबापत सम्मानित गरिने बताइएको छ ।

बेन्जामिन लिस्ट तथा डेभिड डब्ल्यू.सी. म्याकमिलनलाई गएको बुधबार रसायन शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान घोषणा गरिएको थियो । उनीहरुले औषधि तथा कीटनाशकसहित अन्य यौगिकहरुको निर्माणमा सहयोग पुर्‍याउने अणुहरुको निर्माणका लागि सहज तथा पर्यावरणको दृष्टिले स्वच्छ विधिको खोजी गरेका थिए ।

साहित्य विधाको नोबेल पुरस्कार बिहीबार घोषणा भएको थियो जसमा ब्रिटेनमा बसोबास गर्ने तान्जानियाली उपन्यासकार अब्दुल रजाक गुरनाह पुरस्कृत भएका थिए । रजाकले उपनिवेशवादको प्रभाव र शरणार्थीहरुको स्थितिका सम्बन्धमा उपन्यास लेखेर आफ्नो पहिचान बनाएका छन् । अर्थशास्त्र विधाको नोबेल पुरस्कारको घोषणा सम्भवतः आउने सोमबार हुनेछ ।

प्रतिक्रिया