बिहीबार, वैशाख १३, २०८१

‘विकास गर्न पढाइ होइन, भिजन चाहिन्छ’

नेपालको विकास हुनका लागि देशका हरेक वडा–वडामा पिच सडक सन्जालले जोडौँ । हरेक घरमा बिजुली पुर्‍याऔँ, यति भए विकास हुन्छ ।

नेपालखोज २०७८ असोज २४ गते ९:४६

‘७२ वर्षअघिको मोडलले नेपालको विकास हुनै सक्दैन’

डा. राजेन्द्र केसी नेपाल पीएचडी एसोसिएसनका संस्थापक अध्यक्ष एवं साउथ वेस्टर्न इस्टेट कलेज काठमाडौंका प्रमुख हुन् । अमेरिकाबाट विद्यावारिधि गरेका उनी सडक बन्नु, होटेल बन्नु, हस्पिटल बन्नु र विश्वविद्यालय बन्नु विकास होइन भन्छन् । विकाससँग मानवीय मूल्य–मान्यता जोडिएको डा. केसीको भनाइ छ । नेपालखोजका लागि केशव भट्टराईले डा. केसीसँग नेपालमा विकासको काम पछि पर्नुको कारण, विकास गर्न चालिनुपर्ने कदमहरूलगायत विषयमा केन्द्रित रहेर भिडियो कुराकानी गरेका छन् । प्रस्तुत छ डा. राजेन्द्र केसीसँगको कुराकानी :

अलिअलि विकास हुँदै जानु स्वभाविक विषय मात्रै हो । कछुवाको गतिमा विकास भएकैले हाम्रो देशका दाजुभाइ–दिदीबहिनीले विदेश ताकेका हुन् ।


हाइलाइट्स :
–नेपालको विकास गर्न भूगोल, प्रकृति र जनताले साथ दिएका छन् । तर यहाँको नेतृत्वले साथ दिएको छैन । जलस्रोतको धनी देशमा राम्रो चाँजोपाजो मिलाएर विकास गर्ने हो भने चाँडै विकासको मुहार फेरिनेछ ।
–अरू देशको विकासको कुरा गर्ने हो भने समुद्रमुनि र माथि घर तथा होटेल बनाइएका छन् । चन्द्रलोकमा मान्छे पुगिसक्यो । तर धर्तीमा हुने काम, जमिनले थाम्ने ठाउँमा सडक बनाउन सकेको छैन । बिजुली निकाल्न सकेको छैन ।
–अलिअलि विकास हुँदै जानु स्वभाविक विषय मात्रै हो । कछुवाको गतिमा विकास भएकैले हाम्रो देशका दाजुभाइ–दिदीबहिनीले विदेश ताकेका हुन् । साधनस्रोत सम्पन्न हाम्रो देशले पाँच वर्षभित्र फड्को मारिसक्नुपर्छ ।
–सडक बन्नु, होटेल बन्नु, हस्पिटल बन्नु र विश्वविद्यालय बन्नु विकास होइन । विकाससँग मानवीय मूल्य जोडिएको हुन्छ । यो भनेको उसको शिक्षा, उसको स्वास्थ्य, संस्कार, संस्कृति, धर्म, रितिरिवाज, वातावरण, परिवार, सम्बन्धलगायत सबै जोडिएको हुन्छ ।
–देश धपक्क बल्यो तर जनताले परिवर्तनको महसुस गरेनन् भने त्यो विकास होइन । विकास भनेको हरेक पक्षबाट व्यक्तित्व विकास हो । हामी त विकासमा सडक निर्माण र बिजुली आपूर्तिको कुरो मात्रै गरिरहेका छौं, त्यो विकास होइन ।
–विकास भन्ने शब्द विदेशीले भन्ने कुरो नै होइन, नेपालीले भन्ने हो । विकास त हाम्रा लागि हो विदेशी बनाएर मिल्दैन । विकासलाई विदेशको कपी–पेस्ट गर्नु हुँदैन, ओरिजिनालिटी नै हुनुपर्छ । आफ्नै उत्पादन हुनुपर्यो । बरु दुई–चार वर्ष मिहिनेत गरौं ।
–चीन, भारत, बंगादेशलगायत देशबाट सामान आयात गरेकाले पनि हामीले दिगो रूपमा विकास गर्न सकेका छैनौं । आयातमुखी विकासको मोडेलबाट देश आत्मनिर्भर तथा दिगो विकासमा जान सक्दैन ।
–पढेर विकास हुने होइन, व्यक्तिको भिजन प्रस्ट हुनुपर्यो । धेरै पढ्नेले सक्ने र थोरै पढ्नेले नसक्ने कुरो होइन । बजेट बनाउँदा प्राथमिकता दिने विषय भन्ने निक्र्योल गर्न सक्नुपर्छ ।
–नेपालको विकास हुनका लागि देशका हरेक वडा–वडामा पिच सडक सन्जालले जोडौँ । हरेक घरमा बिजुली पुर्‍याऔँ, यति भए विकास हुन्छ । यी दुई कुराको विकास भए हुम्ला–जुम्लामा उत्पादन भएको चिज काठमाडौं आइपुग्छ । ठाउँ–ठाउँमा बिजुली पुगेपछि उद्योगधन्दा जनता आफैंले सुरु गर्छन् । सडक बनेपछि सामान ओसारपसार आफैं गर्छन् । खेतबारी खाली हुँदैनन् ।
–७२ वर्षदेखि अहिलेसम्म नेपालको योजनाको मोडेल एउटै छ । अनि विकास कसरी हुन्छ, देशमा । कृषि, बिजुली, खानीलगायत एउटै मात्र देखिन्छ ।
–सरकारको काम भनेको रोड म्याप बनाउने हो । सरकारले काम गर्ने होइन, तर यहाँ सरकारले आफैं काम गरिरहेको छ । जनता चुप लागेर बसिरहेका छन् । विकासका लागि पहिलो खुड्किलो बाटो देखाउनु अर्थात् पिच सडक र दोस्रो आँखा देखाउनु अर्थात् बिजुली हो । यति बनाइदिएपछि सरकारले काम गर भन्नु पर्दैन । मान्छेले आफैं काम गर्छन् ।
–देशको विकास कसरी गर्ने भन्नेमा सांसद, मन्त्री, प्रधानमन्त्री तथा यससँग सरोकार राख्नेहरूबीच नै प्रस्ट भिजन हुन आवश्यक छ । नेतृत्ववर्गले प्रस्ट भिजन बनाएर कामप्रतिको प्रतिबद्धता जनाउनुपर्छ, जनतामात्र भएर पुग्दैन । ‘राइट म्यान इन राइट प्लेस’ भन्ने कुरा उनीहरूले थाहा पाउनुपर्छ । बाहिरी देश गएका विशेष मानिसहरूलाई देशभित्रै ल्याउनुपर्छ । आफ्नै देशमा काम गर्न रुचाउने खालको विकासको नीति सरकारले ल्याउनुपर्छ ।

प्रतिक्रिया