सोमबार, असार ४, २०८१

‘पिङ खेल्ने, गुच्चा खेल्ने, तास खेल्ने !’

मीना साउँद २०७८ असोज २५ गते १२:४६

काठमाडौं । दसैँ हिन्दूहरूको महान् पर्व । रोजगारी, व्यापार व्यवसाय तथा अध्ययनको सिलसिलामा घरबाट टाढा रहेकाहरू दसैँ मनाउनैका लागि भए पनि गाउँ–घर फर्किन्छन् । दसैँको छुट्टै महत्त्व छ । यसले टाढा रहेका आफन्त, इस्टमित्रबीच सौहार्दपूर्ण सम्बन्ध स्थापित गराउन मुख्य भूमिका खेल्छ ।

दसैँ सुरु भएसँगै वर्षभरीका काम थाती राखेर आपसमा रमाइलो गर्नैका लागि सबै गाउँघर पुग्ने गरेका छन् । पिङ खेल्ने, गुच्चा खेल्ने, तास खेल्ने, मान्यजनको हातबाट टीका जमरा लगाउने, चङ्गा उडाउने दसैँको महत्त्वपूर्ण अनि रमाइलो पक्ष हो । दसैँ सबैका लागि समान भए पनि समय, स्थान अनि शैली भने फरक–फरक हुन्छ । लामो बिदामा रहेकाहरूको दसैँमा आ–आफ्नै योजना हुन्छन् । तर, अन्य समयभन्दा दसैँमा अझ बढी व्यस्त हुने कलाकारहरूको भने दसैँको टुंगो नै हुँदैन, कहिले कता त कहिने कता । कलाकारहरू सधैँ व्यस्त हुन्छन् । त्यसमाथि दसैँ त कलाकारका लागि थप कमाइ गर्ने अवसर पनि हो ।

दसैँलाई लक्षित गरेर देश विदेशमा हुने कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिन कलाकारहरूलाई भ्याइ–नभ्याई हुन्छ । यद्यपि यतिबेला कोरोना संक्रमणका कारण यस्ता कार्यक्रमहरू हुन सकेका छैनन् । यस्ता कार्यक्रमहरूमा सहभागी हुने कलाकारहरूले दसैँ घर परिवारसँग बसेर मनाउन पाउँदैनन् ।

कतिपय कलाकार भने वर्षैभर व्यस्त भए पनि दसैँ र तिहार परिवारसँगै बसेर मनाउने इच्छाले यस्ता कार्यक्रमहरूका अफर अस्वीकार गर्छन् । तर पनि दसैँलाई लिएर विशेषगरी कलाकारहरू प्रति आमनागरिकको विशेष चासो हुन्छ, कुन कलाकारले कसरी दसैँ मनाउँदै छन् भन्ने कुरामा । यसै क्रममा हामीले कलाकारहरूसँग दसैँको योजनाबारे सोधेका छौं ।

सुरेन्द्र केसी (मुलासाग), हास्य कलाकार
यस वर्षको मेरो दसैँ खल्लो जस्तै छ । मेरो बुबा–आमा बूढो हुनुहुन्छ । दुवैजना बिरामी पनि हुनुहुन्छ । त्यसैले यसपटकको दसैँ मनाउनेभन्दा पनि बुबाआमाको स्याहारसुसार गर्छु । मलाई हामी कलाकारहरूको टिम जस्तो– राता मकै दाइ, हरिवंश दाइ, मनकृष्ण दाइसँगै मिलेर दसैँमा कहिले कसको घरमा कहिले कसको घरमा ग्यादरिङ गरेर गीत–संगीत गाएर, नाचगान गरेर रमाइलो गर्न मन पर्छ ।

प्रकाश सपुत, गायक
यस वर्ष मेरो त दसैँको टीका छैन तैपनि घरपरिवारसँगै भेटघाट गर्नैका लागि भए पनि दसैँमा म प्रत्येक वर्ष घर जान्छु । त्यसैले यस वर्ष पनि घर आएको छु । २६ गतेसम्म विभिन्न स्थानमा इभेन्टहरू थियो । त्यो इभेन्टहरू सक्काएर फूलपातिको दिन मात्रै पुगेको हुँ । मलाई दसैँभन्दा पनि यतिबेलाको समय नै एकदमै मन पर्छ । यतिबेला गाउँघरको मौसम एकदमै राम्रो खुलेको हुन्छ ।
त्यसबाहेक दसैँ उमेरसँगै फरक–फरक छ । पहिला–पहिला सानो हुँदा खेल्न एकदमै रमाइलो लाग्थ्यो । दसैँमा राम्रो लगाउने भन्ने हुन्थ्यो र मीठो खाने भन्ने हुन्थ्यो । दसैँमा नयाँ लुगा र मीठो खाने कुरा गाउँमा अलि बढी महत्त्वपूर्ण हुन्थ्यो । अलि ठूलो भएपछि हामी दसैँमा मेला लगाउँथ्यौं । नाचगान गथ्र्यौं । त्यतिबेला नाचगान गर्ने भन्ने कुरा ठूलो हुन्थ्यो । अब अहिले भने विभिन्न कार्यक्रमहरू हुने कुरा नै ठूलो लाग्छ ।

मेलिना राई, गायिका
यस वर्ष पनि मेरो दसैँ पहिलाको जस्तो नै हुने भयो । हामी दिदी–बहिनी गाउँ गएनौं । मम्मीहरू गाउँ गइसक्नुभयो । म र बैनी घरमै यतै बस्छौं । त्यस्तो रमाइलो हुँदैन । टीका लाइँदैन । यतिकै दिदी–बहिनी बसेर सामान्य रूपमा रमाइलो गर्ने । फेरि फूलपातिको दिन मेरो इन्डियामा शो छ । त्यता जान्छु । मेन भनेको त्यही हो शोमा जाने यता सामान्य रूपले मनाउने अरू त खास केही छैन योजना । मलाई दसैँमा सबै परिवार, साथीभाइ भेला भएर रमाइलो गरेको मन पर्छ । दसैँ–तिहार भनेपछि अहिले पनि एकदमै मन पर्छ ।

उषा खड्गी, पूर्वमिस नेपाल
यसपालि दसैँ मनाइँदैन । यत्तिकै बित्छ होला । तर पनि दसैँ मलाई एकदमै मन पर्ने चाड हो । दसैँमा सबैभन्दा बढी रमाइलो लाग्ने भनेको यतिबेला कामको टेन्सन हुँदैन । टाढा–टाढाका फ्यामिली भेटघाट हुन्छ । अरू बेला जस्तो लगाए पनि यतिबेला नयाँ नयाँ लुगाहरू लगाइन्छ । दसैँ घुम्ने, खाने, रमाइलो गर्ने मात्रै भन्ने हुन्छ, त्यसैले पनि एकदमै रिल्याक्स हुन्छ ।

दुर्गेश थापा, गायक तथा मोडल
यसपालिको दसैँ गाउँघरमै मनाइन्छ, घरको नयाँ सदस्य मेरो छोरोसँग । २८ गते घर जाँदै छु । बुबाआममा, हजुरआमाहरूसँगै बसेर मनाइन्छ । कोरोनाको जोखिम कायमै छ । त्यही भएर दसैँका कुनै कार्यक्रमहरूमा सहभागी भइनँ म । यतै गाउँघरमै रमाइलो गरेर बित्छ दसैँ । फेरि दसैँलगत्तै सुटिङहरू छ । दसैँमा खासगरी गाउँघरका साथीहरूसँग भेला भई एक–आपसमा खुसी साटासाट गरी मनाउन मन पर्छ । साथीभाइ भेला हुने पिङ खेल्ने, नाचगान गर्ने यही नै मन पर्छ, तर यतिबेला त कोरोनाका जोखिम छ । बाहिर गइँदैन होला । त्यही परिवारमा सीमित भएरै मनाउने हो ।

प्रतिक्रिया