‘राजसंस्थालाई पाखा लगाएपछि देश अविभावकविहीन भयाे’

नेपालखोज २०७८ असोज २५ गते १६:२८

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावकविहीन भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले संविधान सभाको पहिलो बैठक भएको करिव १३ वर्ष पुग्दा देशले भनेजस्तो कोल्टो फेर्न नसकेको बताए । अध्यक्ष थापाले नेपालमा अहिले बाह्य शक्तिको तीव्र प्रभाव बढेको भन्दै नेपाल बाह्य शक्तिहरुको रणनैतिक थलो बनेको बताए ।

उनले नेपालमा हरेक महत्वपूर्ण निर्णयहरुमा बाह्य शक्ति हाबी भइरहेको बताए । उनले अहिलेको प्रजातन्त्रमा केही सिमित दलका सिमित नेताहरुको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा व्रह्मलुट गरिरहेको बताए ।

कार्यक्रममा नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले ५ दलको गठबन्धन भन्ने गरिएपनि छैटौं थपिएको प्रमाणित भएको बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा तर्फ व्यंग्य गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकोले गठबन्धन सरकारमा छैटौं दल समावेश भएको पुष्टि हुने तर्क गरे । उनले यो विषय जटिल भएको बताउँदै यसमा नागरिक समाज र राजनीतिक दलहरुले छलफल गर्नुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टीका तत्कालीन महामन्त्री स्वर्गीय चन्द्रबहादुर गुरुङ मिलनसार र राजनीतिक व्यक्तित्व भएको बताए ।

उनले स्व. गुरुङले जीवित रहँदा व्यक्तिगत स्वार्थका लागि भन्दा देश जनताका लागि काम गरेको बताए । अध्यक्ष लोहनीले गणतन्त्रलाई अहिलेको न्यायालय र पार्टीहरुले गाईजात्रा बनाउने काम गरिरहेको आरोप लगाए ।

प्रतिक्रिया