शुक्रबार, वैशाख ७, २०८१

यसपालिको दसैँ खल्लो !

नेपालखोज २०७८ असोज २७ गते ७:२१

काठमाडौं । दसैँ हरेक नेपालीका लागि महत्त्वपूर्ण अनि विशेष चाड हो । दसैँमा वर्षभरि व्यस्त हुनेले पनि कामहरूलाई थाती राख्दै किनमेल गर्ने, गाउँघर जाने, साथीभाइ जमघट गरी रमाइलो गर्ने योजना बनाएका हुन्छन् । आपसमा पिङ खेल्ने, तास खेल्ने, मान्यजनको हातबाट टीका–जमरा लगाउने, चङ्गा उडाउने दसैँको महत्त्वपूर्ण अनि रमाइलो पक्ष हो । तर हास्य कलाकार सुरेन्द्र केसी (मुलासाग) को दसैँ भने यस वर्ष खल्लो हुने भएको छ । यस वर्षको दसैँमा रमझम गर्नेभन्दा पनि घरमा बिरामी आमा–बुबाको विशेष स्याहारसुसार गर्ने उनको योजना छ ।

कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको हुँदा पनि यस वर्ष धेरै तडकभडक गरेर, आपसमा जमघट भई रमाइलो गरेर दसैँ मनाउने पक्षमा उनी छैनन् । यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै परिवारमा सीमित भएर दसैँ मनाउने उनको योजना छ । केसी भन्छन्, ‘कोभिडको जोखिम कायमै छ । यस वर्ष सबैजनाले मनाउनै परे सामाजिक दूरी कायम गरी परिवारमा सीमित भएर दसैँ मनाउने हो । सकिन्न भने यस वर्ष आपसमा ग्यादरिङ गरेर नमाउने । बाचिएछ भने, अर्को वर्ष कोभिड हराएछ भने मनाउँला ।’

हास्य कालाकार केसीलाई दसैँमा कलाकारहरू आपसमा भेला भई नाचगान गरेर मनाउन मन पर्छ । हरेक वर्ष दसैँमा त्यसैगरी कलाकारहरू एक आपसमा भेला भई मनाउने गरिए पनि यस वर्ष भने नमनाउने उनको भनाइ छ । उनले भने, ‘मलाई हामी कलाकारहरूको टिम जस्तो– रातामकै दाइ, हरिवंश दाइ, मदनकृष्ण दाइसँगै मिलेर दसैँमा कहिले कसको घरमा कहिले कसको घरमा ग्यादरिङ गरेर गीत–संगीत गाएर, नाचगान गरेर रमाइलो गर्न मन पर्छ । हामीले हरेक वर्ष त्यसैगरी मनाउने गरेका थियौं । तर यस वर्ष कोभिड छ, नमनाउने ।’

दसैँ अहिले भन्दा पनि सानो उमेर छँदा बढी रमाइलो लाग्ने गरेको उनको अनुभव छ । उनी भन्छन्, ‘सानो छँदा दसैँ मनाउनुको मज्जै बेग्लै हुन्थ्यो । तर अहिले त्यस्तो लाग्दैन ।’ साथै अहिले मनाइने दसैँ र पहिले मनाइने दसैँमा पनि धेरै भिन्नता आउन थालेको उनले सुनाए । पहिला दसैँमा गुच्चा खेल्ने, चंगा उडाउने, पिङ खेल्ने गरिए पनि अहिले त्यो परम्परा लोप हुँदै गएको उनको बुझाइ छ । उनी भन्छन्, ‘पहिलेको दसैँ र अहिलेको दसैँमा धेरै भिन्नता छ । पहिलेको दसैँमा चङ्गा उडाइन्थ्यो, ओखर खेलिन्थ्यो, गुच्चा खेलिन्थ्यो, पिङ खेलिन्थ्यो । तर अहिले यो सबै लोप हुन थालिसक्यो । यसले गर्दा पनि दसैँको महत्त्व पनि कताकता हराउन थालेको जस्तो देखिन्छ ।’

प्रतिक्रिया