बिहीबार, वैशाख १३, २०८१

अँध्यारोमा डुब्दै छ संसार, सबैतिर बिजुली संकट

नेपालखोज २०७८ असोज २७ गते १६:२६

काठमाडौं । जानकारहरु भन्छन्- चाँडै सारा संसार ऊर्जा संकटबाट गुज्रँदै छ । चीनका कैंयन् प्रान्त बिजुलीको संकटबाट प्रभावित छन् । त्यहाँ घण्टौं लामो लोडसेडिङ सामान्य हुन थालेको छ । त्यसले त्यहाँको उद्योगधन्दालाई समेत दुस्प्रभावित गर्न थालिसकेको छ ।

यता भारतमा कोइलाको आपूर्तिमा आएको कमीका कारण ब्ल्याक आउटको खतरा बढेको छ । भारतका पावर प्लान्टहरुले आवश्यकताअनुरुप कोइला पाइरहेका छैनन् । कतिपय राज्यले यस्तो स्थितिप्रति चिन्तासमेत व्यक्त गरेका छन् ।

लेबनानको खबरअनुसार त्यहाँ बिजुलीको अभावका कारण सहरहरु अँध्यारोमा डुबेका छन् । उता युरोपमा प्राकृतिक ग्यासका लागि मानिसहरुले बढी मूल्य चुकाउनु परिरहेको छ । भनिन्छ मौसमका कारण पनि विश्वव्यापी रुपमा ऊर्जाको कमी देखापरेको छ भने अर्कातिर बिजुलीको मागचाहिँ लगातार बढिरहेको छ । यस्तो स्थितिमा जाडो लाग्नुअघि नै संसारभर ऊर्जा संकट देखापरिरहेको छ भने कैंयन् देश अध्याँरोमा डुब्ने खतरा बढेको छ ।

भारतको सरकारी तथ्यांकअनुसार त्यहाँको थर्मल बिजुली पावर प्लान्टहरुमा अब केही दिनका लागि पुग्ने कोइला मात्र छ । उत्तर प्रदेशका कतिपय पावर प्लान्टहरु कोइलाको कमीका कारण बन्द भइसकेका छन । उता, अमेरिकामा एक ग्यालेन गैसोलिनको मूल्य ३.२५ डलर पुगेको छ । युरोपमा प्राकृतिक ग्यास अब २३० डलर प्रतिब्यारेलमा बिक्री हुन थालेको छ ।

यो मूल्य सेप्टेम्बर महिनाको सुरुवातयताको १३० प्रतिशत बढी हो । यो गएको वर्षको यही समयको तुलनामा आठ गुणा बढी हो । पूर्वी एसियामा सेप्टेम्बर महिनायता प्राकृतिक ग्यासको मूल्यमा ८५ प्रतिशतले वृद्धि भइसकेको छ । कोरोनाको संकटबाट बाहिर निस्केर आफ्नो गति समात्न प्रयासरत संसारको अर्थव्‍यवस्‍था अचानक देखापरेको यो ऊर्जा संकटका कारण नयाँ समस्यामा फस्ने खतरा बढेको छ ।

जाडोमा अझ बढ्नेछ संकट
वसिंटनस्थित थिंक टयांक सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका ऊर्जा तथा भू-राजनीति विशेषज्ञ निकोस त्साफोस भन्छन्- सबैभन्दा ठूलो डर यसपटकको जाडो महिना कस्तो हुनेछ भन्ने हो ? ऊर्जा अभावलाई लिएर मानिसहरुको चिन्ताका कारण बजारमा आपूर्ति र मागको सन्तुलन बिग्रिएको छ । यो आफ्नो मूल सिद्धान्तबाट अलग भइसकेको छ । प्राकृतिक ग्यासको स्टक बढेका कारण कोइला तथा तेलको मूल्यसमेत वृद्धि भएको छ ।

किन देखापर्‍यो यो संकट
विशेषज्ञहरुका अनुसार यो ऊर्जा संकटका लागि कैंयन् कारण जिम्‍मेवार छन् । यसमा मुख्‍य रूपले कोरोना संकटबाट मुक्त हुन थालेपछि संसारभर बढेको आर्थिक गतिविधि जिम्‍मेवार छ । त्यो पनि त्यतिबेला जब इन्धन निकाल्ने काममा बितेका १८ महिनादेखि विभिन्न देशमा सुस्ती छाएको छ । सामान्यत: भिषण जाडोका कारण चिसो महिनामा युरोपमा ऊर्जाको भण्डार लगभग रित्तिन्छ । त्यति मात्र होइन चक्रवाती तुफानहरुका कारण खाडी देशका कैंयन् तेल रिफाइनरी कारखाना बन्द गरिएका छन् ।

चीन र अस्‍ट्रेलियाको तनावपूर्ण सम्बन्ध तथा समुद्रमा कम हवा चलेका कारण पनि संसारमा ऊर्जाको अभाव देखिएको हो । यता चीनमा तरल प्राकृतिक ग्यासको बढ्दो मागले पनि समस्यालाई थप बढाएको छ । ऊर्जा संकटलाई तरल प्राकृतिक ग्यासका माध्यमबाट केही हदसम्म टार्न सकिन्थ्यो तर चीनमा यसको बढ्दो माग समस्याका रुपमा अगाडि आएको छ । उता रूसबाट हुने ग्यासको निर्यातमा कमी देखापरिरहेको छ भने असामान्य रूपले शान्त देखिएको हावाको बहावले यो समस्यालाई बढावा दिइरहेको बताइन्छ ।
-एसोसिएट प्रेसको सहयोगमा आधारित

प्रतिक्रिया