बिहीबार, चैत १५, २०८०

कोरोनाविरुद्धको भ्याक्सिनको ‘बुस्टर डोज’ले पायो समर्थन

नेपालखोज २०७८ असोज २७ गते १७:३६

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का विशेषज्ञहरुले कमजोर इम्युन सिस्टम भएकाहरुलाई कोभिड-१९ विरुद्धको भ्याक्सिनको अतिरिक्त डोज पनि दिनुपर्ने सिफारिस गरेका छन् । उनीहरुको तर्क छ- कमजोर इम्युन सिस्टमका कारण कतिपय मानिसमा खोप लगाएपछि पनि ‘ब्रेक थ्रू संक्रमण’ को जोखिम अरु मानिसको तुलनामा बढी हुन्छ । कोरोनाविरुद्धको खोप लगाएपछि पनि संक्रमित हुनुलाई वैज्ञानिकहरु ‘ब्रेक थ्रू संक्रमण’ भन्छन् । खोपले तयार गरेको सुरक्षा पर्खाल कोरोना भाइरसले तोडेको अवस्थालाई उनीहरुले ब्रेक थ्रू संक्रमण नाम दिएका हुन् ।

विश्व स्वास्थ्य संगठनअन्तर्गतको विशेषज्ञहरु सम्मिलित स्ट्राटेजिक एडभाइजरी ग्रुपले भनेको छ- कमजोर इम्युन सिस्टम भएकाहरुमा खोपपछि पनि गम्भीर संक्रमणको खतरा देखिएको छ । भ्याक्सिन डाइरेक्टर केट ओ ब्राउनका अनुसार भ्याक्सिनको तेस्रो डोजको सिफारिस प्रमाणका आधारमा गरिएको हो र ब्रेक थ्रू संक्रमणको रिपोर्ट बढीजसो कमजोर इम्युन सिस्टम भएका मानिस वा समूहबाटै आएको छ ।

कोरोनाविरुद्धको बुस्टर डोज दोस्रो खोप लगाएको एकदेखि तीन महिनाको बीचमा ६० वर्षभन्दा माथिका मानिसका लागि सिफारिस गरिएको छ । दक्षिण अमेरिकामा गरिएको अनुसन्धानमा समयसँगै भ्याक्सिनबाट प्राप्त हुने सुरक्षा कम हुँदै गएको पाइएको थियो ।

अनुसन्धानमा संलग्न विशेषज्ञहरुको स्वतन्त्र प्यानलका सचिव जोखम होमबेकका अनुसार खासगरी सिनोफार्म र सिनोभ्याक खोप लगाएकाहरुमा गरिएको सर्वेक्षणबाट के स्पष्ट हुन आउँछ भने वृद्ध-वृद्धामा दुई डोज भ्याक्सिनले पनि भनेजस्तो राम्रो प्रदर्शन गर्न सकेको छैन । जोखम भन्छन्- ‘हामीलाई थाहा छ कि खोपको तेस्रो डोजले मजबुत इम्युन रेस्पोन्स पैदा गर्नेछ । त्यसैले हामी आशा गर्दछौं कोरोनाविरुद्धको खोपको तेस्रो डोजले कमजोर इम्युन सिस्टम भएकाहरुका साथै वृद्ध-वृद्धाहरुमा अझ राम्रो सुरक्षा घेरा तयार गर्न मद्दत पुर्‍याउनेछ ।’

विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरुको प्यानलले सिनोफार्म र सिनोभ्याकको खोप प्रयोग गरेका मुलुकहरुले आ-आफ्नो देशका वरिष्ठ नागरिकहरुलाई खोपको दुई मात्रा लगाएपछि मात्र तेस्रो डोजको तयारी गर्न सुझाव दिएका छन् । विश्व स्वास्थ्य संगठनको यो स्वतन्त्र विशेषज्ञहरुको प्यानलले नीति तयार गरेर संगठनलाई सिफारिस गरे पनि त्यसलाई विश्व स्वास्थ्य संगठनले नै अन्तिम रुप दिई नियामक सिफारिस गर्छ ।

खोपका बाबजुद इम्युनिटीको कमीका कारण र कोरोनाका विभिन्न भेरिएन्ट्समा अतिरिक्त डोज (बुस्टर डोज) को प्रभावमा प्रश्न उठिरहेकै बेला आगामी नोभेम्बर ११ मा प्यानलको बैठक बस्दै छ जसले बुस्टर डोजको अन्तर्राष्ट्रिय तथ्यांकको समीक्षासमेत गर्ने बताइएको छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया