साफ फुटबलको फाइनलमा नेपाल-भारत भिड्ने

काठमाडौं । माल्दिभ्समा बुधबार भएको खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै फाइनल प्रवेश गरेको नेपाल तथा बुधबारै घरेलु टिम माल्दिभ्सलाई ३-१ गोलले हराउँदै फाइनलमा पुगेको भारतबीच पर्सि (शनिबार) फाइनल भिडन्त हुनेछ ।
नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेर उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको यो पहिलो अवसर हो । यो प्रतियोगिताको लिग चरणमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो । भारत यो प्रतियोगिताको सातपटकको उपाधि विजेता हो ।
राउन्ड रोबिन प्रणालीमा खेलाइएको प्रतियोगितामा भारत आठ अंक जोड्दै शीर्ष स्थानमा छ भने नेपालले ७ अंक जोड्दै निकटतम प्रतिस्पर्धी बंगलादेश तथा आयोजक माल्दिभ्सलाई पछाडि पार्न सफल भएको छ । साफ च्याम्पियनसिपमा यसपटक नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी पाँच मुलुकले सहभागिता जनाएका छन् । पाकिस्तान र भुटानले सहभागिता जनाएनन् । अफगानिस्तानले पहिले नै आफूलाई साफबाट अलग गरिसकेको छ ।
साफ खेलकुदका क्रममा हुने फुटबलमा नेपाल र भारतबीच पटक-पटक प्रतिस्पर्धा हुँदै आए पनि साफ च्याम्पियनसिपको उपाधिका लागि यी दुवै निकट्तम छिमेकी मुलुक पहिलोपटक आमने-सामने हुँदै छन् ।
प्रतिक्रिया