शनिबार, वैशाख २९, २०८१

किन बढ्यो गर्मी ?

नेपालखोज २०७८ असोज २९ गते १५:४३

काठमाडौं । बढ्दो गर्मीले संसारको लगभग एकचौथाइ तथा सहरहरुको ४६ प्रतिशत जनसंख्यालाई प्रभावित गरिरहेको छ ।

१९८० पछिका केही दशकयता भीषण गर्मीको सामना गर्नेहरूको तथ्यांक बढेर तीन गुणा भएको छ । सहरी क्षेत्रमा बढिरहेको गर्मीले संसारको लगभग एक चौथाइ जनसंख्यालाई प्रभावित गरिरहेको छ । यो जानकारी कोलम्बिया विश्वविद्यालयद्वारा हालै गरिएको एक अनुसन्धानपछि सार्वजनिक भएको हो ।

वैज्ञानिकहरुले यसका लागि ग्लोबल वार्मिङ तथा सहरी क्षेत्रमा बढ्दो जनघनत्वलाई जिम्मेवार मानेका छन । उनीहरुले चेतावनी पनि दिएका छन्- कि यसको परिणाम निकै घातक हुनसक्छ । उक्त शोध जर्नल प्रोसिडिङग्स अफ द नेसनल एकेडमी अफ साइन्सेज (पनास) मा प्रकाशित गरिएको छ ।

शोध प्रतिवेदनअनुसार १९८३ मा सहरहरुमा भीषण गर्मीको जोखिममा भएका मानिसहरु चार हजार करोड थिए । २०१६ मा त्यसमा करिब तीन गुणा वृद्धि हुँदै करिब १२ हजार करोड पुग्यो । यसको अर्थ प्रत्येक वर्ष जोखिम बढ्दै जानु मानिन्छ । बढ्दो गर्मीको करिब दुईतिहाइ भागका लागि सहरी क्षेत्रमा तीव्र गतिमा बढिरहेको जनसंख्या तथा बाँकीका लागि पृथ्वीमा बढिरहेको तापक्रमलाई जिम्मेवार मानिएको छ ।

यो शोधमा संसारका १३ हजार ११५ वटा सहरमा गर्मीको बढ्दो खतराको अध्ययन गरिएको थियो । यसमा नेपाल सहित दक्षिण एसियाली देशका सहरहरु पनि सामेल थिए । बितेका केही दशकदेखि ग्रामीण क्षेत्रमा बसोबास गर्ने करोडौं मानिस सहर प्रवेश गरिरहेका छन् । यही कारणले कुल जनसंख्याको करिब आधाजस्तो भाग अहिले सहरमा छ । कंक्रिटको जंगल भनिने सहरहरुमा एकातर्फ रुख-बिरुवाको अभाव छ भने अर्कातर्फ कंक्रिटका घर तथा अलकत्राको सडकले समस्यालाई अझ बढाएको छ । किनभने यिनले ठूलो मात्रामा सूर्यको किरण सोसिरहेका छन् । यो शोधका प्रमुख शोधकर्ता कस्केड तुहोल्स्के भन्छन्, ‘जसरी सहरहरुमा गर्मी बढिरहेको छ त्यसको व्यापक प्रभाव देखिनेछ ।’

यसले रोग तथा मृत्युदर बढाउनेछ भने मानिसहरुको काम गर्ने क्षमता पनि प्रभावित हुनेछ । यसको परिणामस्वरूप आर्थिक उत्पादनमा समेत दुस्प्रभाव पर्नेछ । सहरी क्षेत्रको यो गर्मीले पहिलेदेखि नै विभिन्न रोगको सामना गरिरहेकाहरुको जोखिमलाई पनि थप बढाएको प्रतिवेदनमा उल्लेख छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया