बुधबार, वैशाख १९, २०८१

व्यापारिक अर्ती र बुद्धिका कुरा !

कर्ण शाक्य २०७८ असोज ३० गते १०:०८
कर्ण शाक्य ।

यसपालि दसैँको रमाइलो जमधटमा श्रीमती छोराछोरी नातिनातिना बुहारीसँग मौका छोपेर व्यापारिक अर्ती र बुद्धिका कुरा गरे । उनीहरूले पनि ध्यान दिएर कुरा सुने । मैले भनें-

-हामी जिम्मेवार व्यापारी हौं । आफ्नो साइजमा बाँच्नुपर्छ । अभद्र धनको प्रदर्शन गर्ने हैन । आम्दानीभन्दा बढी खर्च गर्ने हैन, नाम कमाउन दान दिने हैन, जे जति सकिन्छ, सुटुक्क दिने हो । जिम्मेवार व्यापारीको औद्योगिक कर्म भनेकै धर्म हो । एउटा व्यापारीले आफ्नो स्वार्थ परिपूर्ति गर्नुपर्छ तर अरूको स्वार्थ कुल्चेर हैन । अरूको टाउकोमा टेकेर हैन ।

-हामी जस्ता जिम्मेवार व्यापारीहरूले नियम-कानुन मिचेर, तोडमोड गरेर रातारात लखपति करोडपति बनेका Street-smart धूर्त व्यापारीहरूसँग ईर्श्या जलन गर्नु पर्दैन । उनीहरूसँग अनावश्यक संगत, प्रतिस्पर्धा गर्नु पर्दैन किनभने अनियमित व्यापार सधैं टिक्दैन, दीर्घकालीन हुँदैन ।

-सरकारी संयन्त्रलाई नै खल्तीमा राखेर अरबपति खरबपति बनेको महान धनवान्‌हरूसँग डाह, ईख, द्वेश गर्नु बेकार हो, किनकि जिम्मेवार उद्यमी व्यापारीहरूसँग कानुनलाई फेरबदल तोडमोड गर्न सक्ने ‘खतरा’ दिमाग नै हुँदैन । त्यसैले आफूले ज जति गर्न सक्छ, त्यति गर्दै जाने हो ।

-उद्यमी व्यापारीले जतिसुकै पैसा कमाए पनि अत्यधिक धन र सम्पत्तिले मान्छेलाई शान्ति र सन्तुष्ट बनाउन सक्दैन । धन जब सम्पत्तिमा झाँगिन्छ, त्यहाँ काल सर्पले बास गर्छ । अनि बिस्तारै सकुनी नारदहरू भित्र पस्छ । बाहिरबाट झ्वाट्ट हेर्दा ती तथाकथित सम्पन्न महान् धनवान्‌हरूको घर र जीवनशैली अति झिलमिल देखिन्छ तर भित्र आडम्बरी हुन्छ । किनभने सम्पन्नताको त्यो चमक सुनचाँदीको हैन । निकम्मा सस्तो जरीको जस्तै हो ।

-वास्तवमा प्रगति भनेको दुर्गति निम्त्याउने कारकतत्त्व रहेछ । आजकाल हरेक परिवार आफ्नो औकातले नभ्याए पनि छोराछोरीलाई विदेशको ठुल्ठूलो विश्वविद्यालयमा पढ्न पठाउँछ । गर्व गर्छ । दंग भएर फेसबुकमा राखेर खुसी मनाउँछ । पछि जब छोराछोरी सफल भएर विदेशमै बस्छ र जब आफूलाई औषधि खुवाउने कोही हुँदैन, त्यो बेला मात्र थाहा हुन्छ प्रगति र सम्पत्तिले त पीडा मात्र दिन्छ भनेर ।

May be an image of 12 people, people sitting, people standing and outdoors


-यो सामग्री शाक्यको फेसबुकबाट लिइएको हो ।

प्रतिक्रिया