शुक्रबार, वैशाख २८, २०८१

अब नेपालमै ‘जिन सिक्वेन्सिङ’ गर्न सकिने

‘कोरोनाविरुद्धका खोपहरू डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी छन् ?, के हो डेल्टा प्लस भेरियन्ट ?’

मीना साउँद २०७८ असोज ३१ गते ८:५७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) एउटा यस्तो भाइरस हो, जसले आफूलाई परिवर्तन गर्दै लिएको छ । यसले आफूलाई परिवर्तन गरिरहने र नयाँ भेरियन्ट आइरहने जोखिम रहेको क्रममा नेपालमा पहिलोपटक राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ (उत्परिवर्तन) पत्ता लगाउने विधिबाट परीक्षण सफल भएको छ ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि केन्द्रीय विभागबाट पनि यसको सफल परीक्षण भएको छ । गत महिना नेपालमा ४२ वटा नमुनाको सिक्वेन्सिङ गर्दा ४१ नमुनामा टेल्टा भेरियन्ट देखिएको थियोे । जुन यसभन्दा दुई महिना अगाडिका सिक्वेन्सिङहरूमा पनि यही भेरियन्ट लगातार देखिएको थियो । तर, वैशाखमा एउटा एस जिन नेगेटिभ भएको नमुनामा अल्फा भेरियन्ट देखिएको थियो । जिन सिक्वेन्सिङ पत्ता लगाउने विधिको सफल परीक्षण भएसँगै अब नेपालमै नियमित रूपमा जिन सिक्वेन्सिङ गर्न सकिने भएको छ । यसअघि जिन सिक्वेन्सिङ पत्ता लगाउन बाहिरी मुलुक पठाउनुपर्ने बाध्यता थियो ।

अब नेपालमै जिन सिक्वेन्सिङ हुने भएपछि त्यो बाध्यता हटेर गएको छ । जिन सिक्वेन्सिङ भाइरसको भ्याक्सिन बनाउन, अन्य देशले बनाएको भ्याक्सिन हाम्रोमा काम लाग्छ कि लाग्दैन, अरू देशका लागि बनाएको यहाँ प्रभावकारी हुन्छ कि हुँदैनलगायत पत्ता लगाउन धेरैभन्दा धेरै भाइरसको सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ ।

के-हो डेल्टा भेरियन्ट ?
कोभिड–१९ को डेल्टा भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ नाम दिएको छ । किनभने डेल्टा भेरियन्ट पहिचान गरिएका ठाउँहरूमा सो भेरियन्ट मानिसहरूबीच दु्रत गतिमा फैलिएको छ । जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितका अनुसारसामान्य भाषामा भन्दा यो भेरियन्ट भनेको भाइरसले प्रकार परिवर्तन गर्नु हो । भाइरसले आफ्नो अस्तित्व जोगाइराख्न पनि उसले प्रकार परिवर्तन गरिरहनुपर्ने हुन्छ । नत्र शरीरले उसलाई चिन्न थालेपछि त शरीरले उसलाई मारिहाल्छ । शरीरलाई झुक्याउन पनि उसले आफ्नो प्रकार परिवर्तन गरिरहेको हुन्छ ।

उसले आफ्नो अस्तित्व परिवर्तन गरेपछि मानव शरीरभित्र बस्न सक्ने अवस्था सिर्जना हुन्छ । संक्रमणले अस्तित्व परिवर्तन गर्नु भनेकै भेरियन्टहरू बनाउनु हो । त्यो भनेको उसको साधारण प्रक्रिया हो । त्यो हरेक भाइरसले गर्छन् । तर त्यो गरुन्जेल हामीहरूलाई जहिले पनि जोखिम रहिरहन्छ ।

के डेल्टा भेरियन्ट बढी संक्रामक छ ?
डेल्टा भेरियन्ट अघिल्लो भेरियन्टको तुलनामा दुई गुणा बढी संक्रामक रहेको पाइएको छ । अधिक संक्रामक भए पनि भिडभाड नगर्ने, अरूबाट भौतिक दूरी राख्ने, मास्कको सही प्रयोग गर्ने र कुनै पनि सतह छोएपछि साबुनपानीले हात धुने गर्नाले डेल्टा भेरियन्टबाट सहजै बच्न सकिन्छ ।

कोरोनाविरुद्धका खोपहरू डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी छन् ?
अवश्य छन् । विश्व स्वास्थ्य संगठनबाट अनुमति प्राप्त कोभिड–१९ का खोपहरू डेल्टा भेरियन्टसहित कोभिड–१९ का अन्य भेरियन्टविरुद्ध पनि निकै प्रभावकारी छन् । यी खोपहरूले सिकिस्त बिरामी हुने जोखिम न्यूनीकरण गर्न मद्दत गर्छ । त्यसैले आ–आफ्नो पालोअनुसार खोपको पूर्ण मात्रा लगाउन जरुरी छ ।

डेल्टा भेरियन्टको जोखिम बालबालिकामा बढी छ ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेल्टा भेरियन्टले विशेषगरी बालबालिकाहरूलाई संक्रमित गर्छ भन्ने कुरा गलत हो । सबै उमेर समूहहरूमा यो भेरियन्टको संक्रमणको दर बढेको पाइन्छ । डेल्टा भेरियन्ट अन्यभन्दा धेरै संक्रामक छ । भिडमा जाने र खोप नलगाएका मानिसहरूलाई यसको संक्रमण हुने सम्भावना बढी हुन्छ ।

डेल्टा प्लस भेरियन्ट के हो ?
मानव कोषिकाहरूमा प्रवेश गर्नका लागि भाइरसले प्रयोग गर्ने स्पाइक प्रोटिनमा नयाँ उत्परिवर्तन आएपछि यसलाई डेल्टा प्लस भेरियन्ट नामकरण गरिएको हो । यो भाइरस डेल्टा भेरियन्टसँग निकै नजिकको भएकाले यसलाई ग्रिक वर्णमालाको अर्को अक्षरको साटो डेल्टा प्लस भनिएको हो ।

प्रतिक्रिया