शुक्रबार, जेठ ४, २०८१

जङ्गबहादुर कुँवर (राणा) को १४६औं पुण्यतिथिमा

सुनिल उलक २०७९ फागुन १५ गते १६:०२

जङ्गबहादुरको देहावसान भएको पनि १४६ वर्ष भइसक्यो । जङ्गका बारेमा धेरैले लेखे, धेरै किसिमले लेखे । कसैले नायक बनाएर लेखेका छन्, कतिले खलनायक बनाएर लेखेका छन् । मानिस हेर्दा केही गर्न सक्ला जस्ता पनि थिएनन्, तर उनमा हिम्मत थियो, र जोश थियो । नेपाल जस्तो देशमा खलनायक जस्ता नायक जङ्गबहादुरहरु बेला बेला जन्मिरहनु पर्छ ।

जङ्गबहादुर त्यस बेलाको राजनीतिक खिचातानीले जन्माएको एउटा ब्यक्तित्व थियो, जुन समयको आबश्यकता पनि थियो । म जङ्गलाई मान्दछु । हामीले पूज्ने भगवानहरु नै सय प्रतिशत गुणले भरिएका थिएनन् भने जङ्गमा हामी किन अपेक्षा गर्नु, उनमा पनि केही अवगुणहरु अवश्य थिए ।

बि.सं. १८७४ असार ७ गते बुधवारका दिन सैनिक परिवारमा जन्मेका वीरनरसिंहले पढ्न भने धेरै पाएका थिएनन् । तर मुर्ख र जिराहा भने बालकै देखि थिए, यसैले गर्दा उनका मामा माथवरसिंह थापाले उनलाई जङ्गे भनेर बोलाउँदथे । पछि उनि यहि नामले नै प्रख्यात भए । बि.सं. १८८५ बैशाख २१ मा मात्र ११ वर्षको उमेरमा जङ्गबहादुरको बिबाह भयो । बिबाहको केही समयमा नै बाबुको साथमा धनकुटा पुगे । त्यसपछि डडेलधुरा पुगे । यहि क्रममा घोडा चढेर बिभिन्न करतुत गर्न सिपालु हुदै गए

भण्डारखाल पर्व पछि मामा भिमसेन थापाले सत्ता पाएको सुनेका जङ्गबहादुर पनि सत्ताको स्वाद चाख्न चाहन्थे । तर १८९४ मा भिमसेन थापाको पतन भए पछि पाण्डेहरूले थापा मात्र होइन जङ्गको परिवारलाई पनि लखेटे । यसरी हरतरहबाट दुखित भएका जङ्गबहादुर जुवाको लतमा फसे । तर चारैतिरबाट दुखले घेरिएकोलाई केहीले पनि साथ दिदैन । जङ्गेलाई पनि त्यस्तै भयो । उनले जुवामा धेरै हारे तर तिर्ने रकम थिएन ।

यस्तैमा काठमाडौं अट्कोनारायण नजिकै बस्ने साहु धर्मनारायणले रू ११०० सापट दिएकोले ऋण तिर्न पाए । बिरक्तिएर बनारस पुगेका उनले त्यहाँ पनि जागीर पाएनन् । फेरी काठमाडौ फर्के, यता श्रीमतीको सुत्केरी ब्यथाले मृत्यु भएको खवर पाए । सालीसंग बिबाहको लागी माग्न गएका उनलाई ससुराले बचन लगाएर फर्काए । दुखी भएका उनले नन्दकुमारीसंग बिबाह गरे । दाइजोमा ल्याएको पैसाले साहु धर्मनारायणको ऋण तिरे । नन्दकुमारीसंगको बिबाह पछि उनको भाग्य नै चम्कियो ।

सत्ताको लडाइमा चौतरिया, थापा, बस्न्यात र पाण्डेको खेल भइरहेको थियो । रानी राज्यलक्ष्मीको प्रेमि गगनसिंह खवास बिस्तारै सर्वेसर्वा बन्ने तरखरमा थिए । उनलाई पछाडिबाट साथ दिइरहेका रानी मौकाको ताकमा थिए । रानीका प्रिय गगनसिंह खवासको अचानक बि.सं. १९०३ भाद्र ३१ मा हत्या भयो । यो हत्याका वास्तविक हत्यारा जङ्गले नै हत्यारा पत्ता लगाउने भन्दै रानीको हुकुममा भाइभारदार तथा अन्य राजदरवार निकट सबैलाई कोतमा निम्त्याए । राजाको समेत अप्रिय बन्दै गरेका गगनसिंहको हत्यामा धेरै भाइभारदार खुशी नै थिए ।

केवल रानी राज्यलक्ष्मी मात्र दुखी थिए । उनकै मिलेमतोमा जङ्गबहादुरले कोत भित्र हत्याको श्रृंखला नै चलाए । रातभरमा प्रधानमन्त्री फत्तेजंग शाह, अभिमानसिंह रानामगर, खड्गबिक्रम शाह, वीरबहादुर शाह, दलबहादुर शाह, गोप्रसाद शाह, दलभञ्जन पाण्डे, रणजोर पाण्डे, रणगम्भीर पाण्डे, नरसिंह थापा, बखतवीर भण्डारी, वीरकेशर पाण्डे, कीर्तिध्वज पाण्डे, भवानीसिंह खत्री, समरबहादुर शाह, गणप्रकाश शाह, रससिंह, शत्रुभञ्जन शाही, युद्धरञ्जन शाही, अर्जुन थापा, मोहनवीर शाही, वीरबहादुर शाही, बद्रीवान शाहीको छोरा, कुम्वेदान गैंडा मल्ल, दण्डकेशर, जोगराज, विष्णुभक्त, कालु खवास, इन्द्रवीर राउत सहित ४० भन्दा बढीको हत्या भएको भनिन्छ । यसरी सत्तामा पुगेका जङ्गबहादुर पूर्णरुपमा सर्वेसर्वा भए । यसरी राजकाजमा शक्तिशाली बनेका जङ्गबहादुरले बि.सं. १९०३ असोज २ गते राजा राजेन्द्रबाट लालमोहर पाइ मुख्तियार बनेका थिए भने बि.सं. १९१३ साउन १८ बाट भने कास्की र लमजुङका श्री ३ महाराज बनेका थिए ।

यो नै जङ्गको सबैभन्दा ठूलो सफलता थियो । तर यसको फाइदा जङ्गका सन्ततिले लिन पाएनन् । यो दुर्भाग्यपूर्ण थियो । जङ्गले सत्तामा पुग्न अन्यको हत्या गरे, आफ्नाका गरेनन् । तर जङ्गको आफ्नै भाइ धीरशम्शेरको सत्र भाइ छोरापछि सर्वेसर्वा भए, जङ्गका सन्ततिको हत्या गरेर सत्ता पाए पछि जङ्गको नाम बेच्दै नामको पछाडि जङ्गबहादुर राणा झुन्ड्याए । यस षड्यन्त्रका सुत्रधार अरु थिएनन्, जङ्गले नै धर्मपुत्र बनाएर हुर्काएका वीर शम्शेर थिए ।

१८७७ फेब्रवरी २५ अर्थात बि.सं. १९३३ फागुन १६ आइतवार फागुन शुक्ल द्वादशीका दिन जङ्गबहादुरको पत्थरघट्टामा बागमती किनारमा मृत्यु भएको थियो । उनको मृत्युको कारण बारे धेरै किसिमका तर्कनाहरु छन् ।

पहिलो भनाइमा छोरा नरजङ्ग र भाइ बबरजङ्गको ६ महिनाको अन्तरालमा निधन भए पछि दुखित भएका उनी १९३३ मंसिर २५ मा लामो शिकार यात्रामा निस्किएका थिए । १९३३ फागुन १५ गते जङ्गले अजंगको बाघ मारे । बाघलाई गोली लागे पछि बाघले हात्ती माथि आक्रमण गर्दा हौडामा बसिरहेका जङ्गबहादुर हौडाबाट तल खसे । भोलिपल्ट गोविन्द द्वादशी थियो । बिहानै अर्को क्याम्पको यात्राको तैयारी शुरु भयो । जाडो लागेको भनिए पछि घाममा आराम गर्ने ब्यबस्था मिलाइयो ।

निकै असहज भए पछि बैद्य कृष्णगोविन्दलाई बोलाइयो । नाडी सुस्त भइसकेको भनिए पछि रानीहरु तथा अन्य रुन थाले । दवाइ खुवाउन खोज्दा मुख आँ नै गर्न सकेनन् । तुरुन्तै पालकीमा राखेर बागमती नदी किनार पत्थरघट्टा लगियो । नदी किनारमा हलचल गर्न नसकेका बेसुध आकाश तर्फ टकटकी हेरिरहेका जङ्गले आखिर मध्य रातमा प्राण त्यागे ।

दोश्रो भनाइमा उनको मृत्यु २१ वर्षे तामाङ (कतै कतै मगर लेखिएको छ) केटोको खुकुरी प्रहारबाट भएको थियो भन्ने गरिन्छ । शिकारको क्रममा रहेका जङ्गले एक रात एक तामाङ्नी महिलालाई सिकार बनाएछ । उनका श्रीमानले अचानक आफ्नो श्रीमतीलाई जङ्गबहादुरको साथ देखे पछि आवेशमा हानेको खुकुरीको चोटले नै चार दिन पछि जङ्गबहादुरको मृत्यु भएको थियो भन्ने गरिन्छ । तर यो इतिहासको उल्लेख खासै गरेको भेटिदैन ।

कारण उनको वीरताको कथा राणाकाल भरि सुनाइरहँदा उनको मृत्यु पछाडिको वास्तविकता अरुको श्रीमती वा छोरीसंग गरिने उनको रसरंगको चर्चाले उनको चरित्रमा औला ठड्याउन सकिन्छ भनेर पनि वास्तविकता लुकाएको हुनसक्छ ।

खैर उनको मृत्युपछि उनको शवलाई चार दिन सम्म तेलमा डुबाएर राखिएको थियो । शवलाई हेर्न कसैलाई पनि दिईएन । मृत्युको चौथो दिन जङ्गको दाहसस्कार भयो । बि.सं. १९३३ फागुन १६ गते आइतवार पत्थरघट्टामा जंगबहादुरको निधन भएपछि फागुन १९ गते बुधवार उनको अन्त्येष्टि गरिँदा उनको साथमा उनका तीनजना रानीहरु पुतली महारानी, मैयाँ महारानी र मिश्री महारानी सती गएका थिए । उनको मृत्युसँगै तीन रानीले पनि सती गएर प्राण त्याग गरेका थिए ।

नेपालमा सती प्रथामा बन्देजको शुरुवात जंगबहादुरले १९१० पुस २३ गते बिहीवार जारी गरेको मुलुकी ऐनमा सती जान्याको सम्बन्धी महल नै लेखेका थिए ।

जंगबहादुरले मुलुकी ऐनमा सतीजान्याको महल नै राखेको भए तापनि उनको १९३३ फागुन १६ गते आइतवार पत्थरघट्टामा जंगबहादुरको निधन भएपछि फागुन १९ गते बुधवार उनको अन्त्येष्टि गरिँदा उनको साथमा उनका तीनजना रानीहरु पुतली महारानी , मैयाँ महारानी र मिश्री महारानी सती गएका थिए । फ्रान्सेली पुस्तकमा राखिएको जङ्गबहादुरको दाहसंस्कारमा उनका रानीहरु सती गएको यो चित्रले दुखद परिस्थित देखाउँछ । पतिको मृत्युको शोकमा डुबिरहेको बेला जिउदै जल्नुपर्ने एउटा त्रास पनि मिसिएको अवस्था हो ।

प्रतिक्रिया