चीनको अर्थव्यवस्था यसकारण खस्कियो !
काठमाडौं । चीनको अर्थव्यवस्थालाई यो त्रैमासिकमा गहिरो झट्का लागेको छ । कोरोनाको नयाँ लहर तथा सप्लाई चेनमा देखापरेको गिरावटका कारण चिनियाँ अर्थव्यवस्थाले ठूलो नोक्सान बेहोर्नुपरेको बताइएको छ ।
जुलाई-सेप्टेम्बरको त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ४.९ प्रतिशतमा खुम्चियो । यसअघि अप्रिल-जुन महिनाको त्रैमासिकमा यो वृद्धिदर ७.९ प्रतिशत थियो । चीनको यो त्रैमासिकको ग्रोथ रेट २०२० को जुलाई-सेप्टेम्बरपछिको सबैभन्दा कम हो ।
चीन कोरोना महामारीको प्रभावबाट चाँडै बाहिर आउने पहिलो देशमध्येको एक हो । चालु आर्थिक वर्षको सुरुवाती महिनाहरुमा चीनको अर्थव्यवस्थामा तीव्र बढोत्तरी देखिएको थियो । यद्यपि बिजुलीको संकट, सम्पत्ति बजारमा आएको गिरावट तथा उपभोक्ताको कमजोर माग भएका कारण चीनको आर्थिक वृद्धिको गति सुस्त हुन पुगेको छ ।
चीन संसारको दोस्रो ठूलो अर्थव्यवस्था भएको मुलुक हो । सेप्टेम्बरको समाप्तिमा जारी त्रैमासिक आर्थिक वृद्धिदर ४.९ प्रतिशत देखिए पनि चीनको यो जीडीपी यही वर्षको १८.३ प्रतिशतसम्म पुगेको थियो ।
आज सोमबार वर्षको तेस्रो त्रैमासिक तथ्यांक जारी गर्दै चीनको राष्ट्रिय तथ्यांक ब्युरोका प्रवक्ता फू लिङहुईले भनेका छन्, ‘अन्तर्राष्ट्रिय स्तरमा अनिश्चितता बढिरहेको छ र हाम्रो घरेलु अर्थव्यवस्थाको पुनरुद्धार पनि अहिले अस्थिर र असन्तुलित देखिएको छ ।’
तथ्यांकअनुसार चीनमा पहिलो तीन त्रैमासिकमा उपभोग्य सामग्रीको कुल बिक्री ३१,८०० अर्ब युआन अर्थात् ४,९०० अर्ब डलरको छ । यो समयमा चीनको औद्योगिक उत्पादन ११.८ प्रतिशतले बढेको छ । यद्यपि तेस्रो त्रैमासिकमा कारखाना उत्पादन, खुद्रा बिक्री, निर्माण र अन्य गतिविधिहरुमा हुने निवेश कमजोर भएको देखिएको छ ।
चीनको निर्माण क्षेत्रमा लाखौं मानिसले रोजगारी पाएका छन् । तर यो क्षेत्रको वृद्धि निकै सुस्त भएको छ । गएको वर्ष नियामक निकायहरुले बिल्डरहरुद्वारा अत्यधिक कर्जा लिएको कुरामा हस्तक्षेप गर्दै त्यसमा आफ्नो नियन्त्रण बढाएका थिए । चीनको सबैभन्दा ठूलो बिल्डर कम्पनी एवरग्रेड अहिले सरकारी नीतिको सिकार भएर अर्बौं डलर भुक्तानीका लागि संघर्ष गरिरहेको छ । बिजुली कटौतीका कारण पनि चीनको विनिर्माण प्रभावित भएको छ ।
सेप्टेम्बरमा चीनको इन्डस्ट्रियल आउटपुट वार्षिक आधारमा ३.१ प्रतिशतले बढेको छ । यो अपेक्षाको तुलनामा कम नै हो । अगस्त महिनाको इन्डस्ट्रियल आउटपुट ५.३ प्रतिशत थियो । त्यसका अतिरिक्त रिटेल सेल्समा करिब ४.४ प्रतिशतको वृद्धि देखिएको थियो तर अहिले यो २.५ प्रतिशतमा झरेको छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया