शुक्रबार, वैशाख १४, २०८१

नदीमा बढ्दै रासायनिक पदार्थ, जिम्मेवार को ?

नेपालखोज २०७८ कार्तिक २ गते १०:४४

काठमाडौं । एउटा नयाँ शोधअनुसार प्राकृतिक तथा मानव गतिविधिका कारण संसारका कैयन् ठूला नदीको रासायनिक संरचनामा महत्त्वपूर्ण परिवर्तन आइरहेको छ । वैज्ञानिकहरुका अनुसार यो परिवर्तनका कारण नदीहरुमा क्याल्सियम, पोटासियम, फ्लोराइड तथा बाइकार्बोनेटजस्ता घुलनशील पदार्थको मात्रा बढिरहेको छ जुन पछि बगेर समुद्रमा पुग्छ ।

नदीमा पाइने यी घुलनशील पदार्थको आफ्नै महत्त्व पनि छ । किनभने यसबाट पानि स्वस्थ पनि रहन्छ । यद्यपि ती घुलनशील पदार्थ एउटा सीमाभन्दा बढी भए नदीलाई खतरा पनि हुन्छ । यसबाट नदीको तन्त्रमा गडबडी मात्र सिर्जना हुँदैन यो मानिसका लागि समेत हानिकारक साबित हुन सक्छ । यसलाई वैज्ञानिकहरु रिभर सिन्ड्रोम भन्छन् ।

एक अन्तर्राष्ट्रिय टिमले बितेको एक दशकका दौरान लगभग १५० ठूला नदीको बहाव र घुलनशील पदार्थ को आर्द्रताको तथ्यांक संकलन गरेका थिए । त्यसमा अमेरिकाको कोलोराडो र मिसिसिपी नदी, दक्षिण अमेरिकाको अमेजन नदी, अफ्रिकाको कंगो नदी, युरोपको राइन नदी, चीनको पिली र याग्त्जी नदी तथा अस्ट्रेलियाको मरे नदी समावेश थिए ।

यो अध्ययन चीनको बेइजिङ युनिभर्सिटी तथा नर्मल युनिभर्सिटी, अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटी, यूकेको प्लायमाउथ र एडिनबर्ग विश्वविद्यालयका शोधकर्ताहरुले संयुक्त रूपमा गरेका हुन । यो अध्ययन प्रतिवेदन नेचर कम्युनिकेसन्स नामक पत्रिकामा प्रकाशित भएको छ ।

शोधकर्ताहरुका अनुसार तथ्यांकको विस्तृत विश्लेषणबाट के तथ्य बाहिर आउँछ भने संसारभरका नदीहरुबाट महासागरमा पुग्ने फ्लोराइडमा ६१ प्रतिशत, सोडियममा ८६ प्रतिशत तथा सल्फेटमा १४२ प्रतिशत वृद्धि भएको छ ।

यसको प्रभाव विशेष रूपले ध्रुवीय क्षेत्र तथा उष्णकटिबन्धीय क्षेत्रको बीचमा महसुस गरिएको छ । जहाँ सहरीकरण र कृषिको तीव्र विकास भइरहेको छ । उता दक्षिण अमेरिकाका नदीमा नदीको स्वास्थ्यका लागि महत्त्वपूर्ण बायोकार्बोनेटको स्तरका कारण भूमध्य रेखानजिक नदीमा अम्लीयपन पनि देखापरेको छ ।

हरेक वर्ष नदीबाट लगभग ६४० करोड टन घुलनशील पदार्थ समुद्रमा पुग्छ । शोधकर्ताहरुले यो अध्ययनमा विभिन्न प्राकृतिक प्रक्रियाहरु सँगै कृषि, उत्खनन र बाँधहरुसहित मानव गतिविधिको माध्यमबाट नदीमा नुनिलोपन, खनिजको वृद्धि, अम्लीकरण, क्षारीकरण, पानी कडा र नरम हुने कुराको जाँच गरेका थिए ।

प्लायमाउथ विश्वविद्यालयका एप्लाइड हाइड्रोडायनेमिक्स विषयका प्रोफेसर तथा सह-शोधकर्ता एलिस्टेयर बोर्थविक भन्छन्, ‘नदीहरु हाम्रो धरतीको स्थिरताका लागि महत्त्वपूर्ण छन् ।’ बोर्थविकका अनुसार यो अध्ययनको सीधा सन्देश के-हो भने नदीको रक्षा लागि तत्काल विभिन्न उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया