मानव शरीरमा सुँगुरको किड्नीको सफल ट्रान्सप्लान्ट

काठमाडौं । वैज्ञानिकहरुले मानव शरीरमा सुगुँरको किड्नी ट्रान्सप्लान्ट गर्ने काममा ठूलो सफलता हासिल गरेका छन् । तमाम परीक्षणपछि डाक्टरहरुले मानव शरीरमा सुगुँरको किड्नीले नियमित रूपमा काम गरिरहेको र ट्रान्सप्लान्ट पूर्णत: सफल भएको जानकारी दिएका छन् । यो ठूलो सफलता अमेरिकी डाक्टरहरुले प्राप्त गरेका हुन् ।
मानव शरीरमा कुनै अर्को प्राणीको किड्नी सफल प्रत्यारोपण गरिएको यो पहिलो अवसर हो । यसअघि यस्ता कैंयन् प्रयोग गरिए पनि शरीरको प्रतिरक्षातन्त्रले बाहिरी अंगलाई स्वीकार नगरेका कारण ट्रान्सप्लान्ट असफल हुँदै आएको थियो ।
यो पूरा प्रक्रिया न्युयोर्कस्थित एनवाईयू ल्यागन हेल्थमा सम्पन्न गरिएको थियो जसमा पहिले एक सुगुँरको परीक्षण गरेर त्यसको जिन परिवर्तन गरियो ताकि मानव शरीरले सुगुँरको अंगलाई अस्वीकार नगरोस् । त्यसपछि सुगुँरको त्यो किड्नीलाई एक ब्रेन डेड मानिसमा प्रत्यारोपित गरियो ।
सुगुँरको किड्नीलाई मानव शरीरमा सफलतापूर्वक प्रत्यारोपित गरिएको छ र मानव शरीरले पनि त्यसलाई सफलतापूर्णक ग्रहण गरेको छ ।
डाक्टरहरुका अनुसार ब्रेन डेड ती मानिसको किड्नीले काम गर्न पूरै बन्द गरिसकेको थियो र परिवारका सदस्यहरुले पनि उनबाट लाइफ सपोर्ट सिस्टम हटाउनुअघि यो परीक्षणका लागि अनुमति प्रदान गरेका थिए । चिकित्सकहरुका अनुसार यस क्रममा तीन दिनसम्म सुगुँरको किड्नीलाई मानव शरीरको रक्त वाहिकासँग जोडेर राखियो र जब परिणाम सफल देखियो तब किडनीलाई ट्रान्सप्लान्ट गरियो ।
अमेरिकास्थित युनाइटेड नेटवर्क फर अर्ग्यान सेयरिङका अनुसार अहिले संसारका एक लाख सात हजार मानिस अंग प्रत्यारोपणको प्रतीक्षामा छन् र त्यसमध्ये करिब ९० हजार मानिस किडनी ट्रान्सप्लान्ट गराउन चाहन्छन् ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया