शनिबार, जेठ ५, २०८१

के अहिलको सेयर बजार बुलिस मार्केट हो ?

नेपालखोज २०७८ कार्तिक ३ गते १७:२५

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको समय आमसेयर लगानीकर्ताहरूका लागि पाकेको बाली भित्र्याउने समय जस्तै हो । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सञ्चालनसम्बन्धी ऐनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष सुरु भएको पहिलो ६ महिनाभित्रमा गत आर्थिक वर्षमा आर्जन गरेको नाफाबाट लाभांश वितरण गरिसक्नुपर्ने हुन्छ ।

सोही कारण पनि चालु आवको पहिलो ६ महिना लगानीकर्ताहरूका लागि बाली भित्र्याउने समय हो भने अर्कोतर्फ आगामी आर्थिक वर्षका लागि राम्रा कम्पनी हेरेर दोस्रो बजारबाट सेयर किन्दै नाफा बुक गर्ने समय हो । यस अर्थमा चालु आर्थिक वर्षको पहिलो ६ महिना सेयर बजार क्रमिक रूपमा उकालो लाग्दै जान्छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत धेरै कम्पनीहरूले चालु आव सुरु भएलगत्तै सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणा गर्छन् । घोषित लाभांश सम्बन्धित नियमनकारी निकायबाट स्वीकृति लिएर वार्षिक साधारणसभाबाट पारित गराई लगानीकर्ताहरूलाई वितरण गर्छन् ।

अहिले चालु आर्थिक वर्षको पहिलो तीन महिना व्यतित भइसकेको छ । यस अवधिमा नेप्सेमा सूचीकृत धेरैवटा कम्पनीले लाभांश घोषणा गरिसकेका छन् भने केही कम्पनी लाभांश घोषणा गर्ने प्रक्रियामा छन् । यस अर्थमा पनि अहिले सेयर बजार बुलिस ट्रेन्डमा जानुपर्ने हो । विगतका वर्षहरूमा नेपालको सेयर बजारमा देखिएको नियमित प्रक्रिया पनि यही हो । तर अहिले सेयर बजार बुलिस मार्केटभन्दा पनि बियरिस मार्केटतर्फ गइरहेको छ ।

आखिर बुलिस मार्केटमा जानुपर्ने सेयर बजार किन बियरिस मार्केटमा गइरहेको छ त ? सेयर बजारमा ठूला खेलाडीमध्येका एक निर्मल प्रधान भन्छन्, ‘सेयर बजारमा यस किसिमको उतारचढाव देखिनुको प्रमुख कारण नै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लिएको सेयर धितो कर्जा अर्थात् मार्जिन लेन्डिङसम्बन्धी व्यवस्था हो । राष्ट्र बैंकले मार्जिन लेन्डिङ कर्जामा चारदेखि १२ करोड रुपैयाँसम्मको क्याप लगाइदिएपछि सुरु भएको सेयर बजारमा ओरालो यात्रा अहिले पनि कायमै छ ।’ आक्कल–झुक्कल रूपमा सेयर बजार उकालो लागेपछि विगतमा ३२ सय अंकसम्म चढिसकेको नेप्से केही महिनाको अन्तरालमा २५ सय अंकको हाराहारीमा आउनु सामान्य होइन । सेयर बजारको यो ओरालो गतिमा लगानीकर्ताहरूले खर्बौं लगानी गुमाइसकेको सेयर लगानीकर्ता प्रधान बताउँछन् ।

नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि सेयर बजार अहिले बुलिस ट्रेन्डमै जानुपर्नेमा सहमत देखिन्छन् । ‘अर्थतन्त्रमा कोभिड १९ को विश्व महामारीले पकड जमाएर अर्थतन्त्र कमजोर बनेका बेला पनि सेयर बजारले एउटा लय समातेको थियो । जसले गर्दा सेयर बजार बढ्दो गति अर्थात् बुलिस ट्रेन्डमा गएको थियो,’ साउद भन्छन्, ‘तर यसबीच सेयर धितो कर्जासम्बन्धी व्यवस्थामा भएका कतिपय नीतिगत फेरबदल, कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि जारी भएको निषेधाज्ञा हटेसँगै वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या आदिका कारण सेयर बजार बियरिस ट्रेन्डमा गएको हो ।’ यदि त्यस्तो नहुँदो हो त अहिले सेयर बजार यसरी नघट्ने उनी बताउँछन् ।

सेयर बजारमा देखिएको ओरालो गतिले साना तथा मझौला लगानीकर्ता भने निकै मारमा परेको केही महिनाअघि मात्र दोस्रो बजारमा प्रवेश गरेका सेयर लगानीकर्ता प्रदीप भट्ट बताउँछन् । सेयर बजारसम्बन्धी विषयगत अध्ययन गरेरै आफू दोस्रो बजारमा प्रवेश गरेको बताउने भट्ट अहिलेको समय सेयर बजारमा बुलिस ट्रेन्डमा हुनुपर्ने बताउँछन् ।

तर चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनमा आएसँगै वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या, सेयर धितो कर्जामा न्यूनतम सीमा निर्धारण हुनु, बजारमा विदेशी मुद्राको सञ्चितिमा कमी आउनुलगायत विविध कारणको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव सेयर बजारमा परेको र यसले बुलिस मार्केटलाई बिस्तारै बियरिस मार्केटमा धकलेको सेयर लगानीकर्ता भट्ट बताउँछन् ।

प्रतिक्रिया