रोकिएका जिल्ला अधिवेशन छठपछि हुन्छ : महत

नेपालखोज २०७८ कार्तिक ३ गते १६:५२


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गतका रोकिएका जिल्ला अधिवेशनहरु छठपछि सुरु गरिने बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले जिल्लाको सदस्यताको विवाद तिहार अघि नै समाधान हुने बताए । उनले भने ‘विभिन्न कारणले रोकिएका जिल्ला अधिवेशनहरु छठपछि हुन्छ र तिहारअघि सबै जिल्लाको सदस्यतासम्बन्धी विवाद समाधान भइसक्छ ।’

सहमहामन्त्री डा. महतले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले नै बहुमत प्राप्त गर्ने गरी पार्टी अघि बढ्ने बताए ।

पार्टीलाई महाधिवेशन केन्द्रीत मात्रै नभएर तीन तहको निर्वाचन केन्द्रीत भएर अघि बढाउने उनको भनाइ थियो । गठबन्धनको सरकार सञ्चालन गर्न सहज नभएको भन्दै उनले सबैलाई मिलाएर अघि बढ्ने बताए ।

सरकारको एक सय दिन सफल रहेको भन्दै उनले सरकारले अरु धेरै कामका अतिरिक्त ४ वटा महत्वपूर्ण काम गरेको बताए ।

वर्षाका कारण भएको क्षतिको व्यवस्थापनमा सरकार लाग्नुपर्ने बताउँदै उनले उचित राहतको व्यवस्था गर्नुपर्ने उनले बताए ।

उनले हालैको बाढीपहिराका साथै चाडपर्वको समयमा भएका दुर्घटनाका मृतक र घाइतेलाई उचित क्षतिपूर्ति दिन आफूले प्रधानमन्त्रीलाई आजै भेटेर आग्रह गरेको पनि बताए ।

प्रतिक्रिया