मंगलबार, जेठ ८, २०८१

कति छ संसारमा परमाणु हतियार ? कुन देशसँग कति ?

नेपालखोज २०७८ फागुन २६ गते १३:१९

काठमाडौं । स्टकहोम अन्तर्राष्ट्रिय शान्ति शोध संस्थान अर्थात् सिपरीले प्रत्येक वर्ष संसारमा भएको हतियारका बारेमा रिपोर्ट तयार गर्छ । सिपरीका अनुसार २०२१ को सुरुवातमा संसारभर कुल १३,०८० वटा परमाणु हतियार थिए । यसमध्ये ३,८२५ वटा परमाणु हतियार विभिन्न देशका सेनासँग छ भने २,००० हतियार हाई अलर्टमा राखिएको छ जसको उपयोग जुनसुकै बेला हुनसक्छ ।

सिपरीका अनुसार संसारका नौवटा देशसँग परमाणु हतियार छ र ती देश हुन्- अमेरिका, रूस, ब्रिटेन, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल तथा उत्तर कोरिया । संसारमा परमाणु हतियारको कुल संख्यामा कमी आइरहेको छ र यसको कारण अमेरिकालगायतका मुलुकले परमाणु हतियारमा कटौती गर्नु हो ।

उत्तर कोरिया
डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया अर्थात् उत्तर कोरियाले २००६ मा पहिलोपटक नाभिकीय परीक्षण गरेको थियो । अहिले ऊसँग ४०-५० वटा परमाणु बम भएको अनुमान छ ।

इजरायल
इजरायलले पहलो नाभिकीय परीक्षण कहिले गरेको थियो भन्ने विषयमा कुनै जानकारी सार्वजनिक भएको छैन । हाल इजरायलसँग ९० वटा जति परमाणु बम भएको बताइन्छ । इजरायलले कतै पनि परमाणु हतियार तैनाथ गरेको छैन ।

भारत
भारतसँग १५६ वटा परमाणु बम छ जसलाई रिजर्भ राखिएको छ । भारतले अहिलेसम्म कतै पनि परमाणु हतियार तैनाथ गरेको छैन । भारतले १९७४ मा पहिलोपटक नाभिकीय परीक्षण गरेको थियो ।

पाकिस्तान
दक्षिण एसियाकै अर्को मुलुक पाकिस्तानसँग भारतभन्दा बढी १६५ वटा परमाणु बम छ । पाकिस्तानले पनि आफ्नो यो परमाणु हतियार कतै तैनाथ नगरी रिजर्भ राखेको छ । पाकिस्तानले १९९८ मा पहिलोपटक परमाणु परीक्षण गरेको थियो ।

बेलायत
बेलायतसँग २२५ वटा परमाणु बम छ । यसमध्ये १२० वटा बम तैनाथ अवस्थामा छन् भने १०५ वटा बम रिजर्भ राखिएको छ । ब्रिटेनले १९५२ मा पहिलो नाभिकीय परीक्षण गरेको थियो । बेलायतका पनडुब्बीहरु परमाणु हतियार ओसारपसार गर्नसमेत सक्षम छन् ।

फ्रान्स
फ्रान्सले १९६० मा पहिलो परमाणु परीक्षण गरेको थियो जोसँग अहिले २९० वटा परमाणु बम छ । फ्रान्सले २८० वटा परमाणु बम विभिन्न ठाउँमा तैनाथ गरेको छ भने १० वटा बम रिजर्भ राखेको छ ।

चीन
चीनले १९६४ मा पहिलोपटक नाभिकीय परीक्षण गरेको थियो । चीनसँग अहिले ३५० वटा परमाणु बम छ । चीनले कतिवटा परमाणु बम तैनाथ राखेको छ र कतिवटा बम रिजर्भ छन् भन्ने विषयमा कुनै जानकारी उपलब्ध छैन ।

अमेरिका
परमाणु हतियारको संख्याका हिसाबले अमेरिका दोस्रो स्थानमा छ । अमेरिकाले १,८०० वटा परमाणु बम तैनाथ अवस्थामा राखेको छ भने २,००० बम रिजर्भमा छन् । यसका अतिरिक्त अमेरिकासँग १,७६० वटा अरु किसिमका परमाणु हतियार पनि छन् । अमेरिकाले १९४५ मा पहिलो परमाणु परीक्षण गरेको थियो ।

रूस
वर्तमान संसारमा रूससँग सबैभन्दा बढी ६,२५५ वटा परमाणु बम छ । त्यसमध्ये १,६२५ वटा बम तैनाथ अवस्थामा छन् भने २,८७० वटा बम रिजर्भ राखिएका छन् । रुससँग अरु किसिमका परमाणु हतियारको संख्या १,७६० छ । रूससँग भएको परमाणु हतियारको संख्या २०२० को तुलनामा केही बढेको छ । रूसले १९४९ मा परमाणु हतियार निर्माण गर्ने क्षमता हासिल गरेको थियो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमला गरेको तीन दिनपछि नै परमाणु हतियारलाई हाई अलर्टमा राख्ने आदेश दिएका थिए ।

प्रतिक्रिया