हात्तीकाे आक्रमणबाट मृत्यु भएकाकाे परिवारलाई १० लाख !

काठमाडौं । हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ ।
शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीकाे परिवारलाई जनही १० लाख रूपैयाँका दरले राहत रकम उपलब्ध गराउने भएको हो ।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम मृतक परिवारको आश्रित हकवालालाई दश लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले बताए ।
‘जति छिटो कागजी आवश्यक प्रक्रिया पूरा हुन्छ । त्यति छिटो राहत रकम उपलब्ध गराउछौँ’, उनले भने । कागज पत्र पेश हुनासाथ तत्कालै अनलाइन बैंकमार्फत भुक्तानी गरिने उनले बताए ।
‘मृतक परिवारलाई किरिया खर्चबापत रु ५० हजार रकम एक, दुई दिनभित्रै उपलब्ध गराउँदै छौँ’, उनले भने । बुधबार (आज) बिहान हात्तीको आक्रमणबाट कार्की दम्पतीको घर आँगनमै मृत्यु भएको थियो ।
शुक्लाफाँटा नगरपालिकाले समेत मृत्यु भएका परिवारका हकवालालाई जनही २५ हजार रूपैयाँका दरले किरिया खर्च उपलब्ध गराउने भएको छ ।
विपद् व्यवस्थापन समितिको बैठक राखेर निर्णय गरी रकम उपलब्ध गराइने नगर प्रमुख दिलबहादुर ऐरले बताए । दुई वर्षअघिसमेत नगरपालिकाको वडा नं १ बन्साहमा हात्तीले एक जना स्थानीयवासीको ज्यान लिएको थियो ।

प्रतिक्रिया