शुक्रबार, वैशाख १४, २०८१

मनाङमा ‘उचाइ’…

नेपालखोज २०७८ कार्तिक ४ गते १५:१८


काठमाडौं । नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौंमा दुई दिनको छायाङ्कन सकाएपछि टोली मनाङ गएको हो ।

चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिने छ । सो चलचित्र अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतका कलाकारको अभिनय छ ।

नेपालमा अमिताभ बच्चन भने आएका छैनन् । स्वास्थ्यले साथ नदिएका कारणले उनी आउन नसकेको ‘मुभिमेकर’का एक सदस्यले बताए । छायाङ्कनका क्रममा अमिताभको नक्कलसँगै अनुपम खेर र बोमन इरानी देखिएका छन् ।

४ जनाको मित्रताका कथामा आधारित चलचित्रमा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने जनाइएको छ । अमिताभको नक्कल (डुप्लिकेट)को भूमिका राजा चौधरीले निभाइरहेका छन् ।

बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा सो चलचित्र निर्माण भइरहेको छ । नेपालमा ४० देखि ४५ दिन छायाङ्कन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्मस्का सुरज आचार्यले जानकारी दिए ।

चलचित्रको लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी रहेका छन् । हिमाली भेगमा छायाङ्कनका लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहेकाे पर्यटन व्यवसायी विनोद गुरुङले जानकारी दिए ।

कोभिड–१९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको जिल्लामा विश्वकै सिने जगत्मा ठूलो मानिने बलिउड चलचित्र छायाङ्कन भइरहेको छ ।

माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गरिने जनाएको उनले बताए । जिल्लामा चलचित्र छायाङ्कनका लागि उपयुक्त स्थान भए-नभएको अवलोकनका लागि गत भदौ २३ गते चलचित्र निर्माता, निर्देशक तथा छायाँकारहरुको टोली आएका थिए ।

यस चलचित्र छायाङ्कनले कोभिडले गर्दा थला परेको पर्यटन व्यवसाय क्षेत्रलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शनपश्चात् मनाङमा भारतीय पर्यटक तथा चलचित्र निर्माणमा आकर्षण बढ्न सक्ने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया