शुक्रबार, वैशाख १४, २०८१

हाम्रो शरीरमा भिटामीन ‘डी’ को महत्त्व

डा. हेमराज कोइराला २०७८ कार्तिक ५ गते ९:५८

भिटामीन ‘डी’ चिल्लोमा घुल्ने स्टेरोइडल (कोलेस्टेरोलबाट बनेको) भिटामिन हो । यो भिटामिन प्राकृतिक रुपमा धेरै कम खानेकुराहरुमा मात्र पाइन्छ । क्यालसियम र फस्फोरस जस्ता महत्त्वपूर्ण खनिज तत्त्वहरुको उपपाचन (metabolism) का लागि आवश्यक यो भिटामिनको कमि आजकल आम रुपमै देखिन थालेको छ । आन्तरिक रुपमा शरीर भित्रै पनि बन्न सक्ने हुनाले धेरै वैज्ञानिकहरू यसलाई भिटामिन नमानेर हरमोन पनि मान्छन् ।

भिटामिन ‘डी’ को स्रोत
प्राकृतिक रुपमा धेरै कम खानेकुरामा भिटामिन डी पाइन्छ । विशेषत: समुद्री माछा- ट्युना, सालमोन, म्याकारोलको कलेजोमा भिटामिन पाइन्छ । थोरै मात्रामा अन्य जानवरको कलेजो, पनिर, अन्डाको पहेंलो भाग र दूधमा पनि भिटामिन डी पाइन्छ । केही च्याउहरुमा पनि थोरै मात्रामा भिटामीन डी मिल्न सक्छ । प्राकृतिक रुपमा धेरै कम तत्त्वहरुमा भिटामिन डी पाइने भएकाले आजकल दूध, मख्खन, पनिर र तैयारी खानेकुराहरूमा पनि भिटामिन डी मिसाउन थालिएको छ ।

दैनिक आवश्यकता
विभिन्न उमेर समूहका व्यक्तिहरुका लागि निम्नलिखित मात्रामा भिटामिन चाहिन्छ ।
१. १ दिन-१ वर्ष ४०० आई.यू.
२. १ वर्ष-१२ वर्षसम्म ६०० आई.यू.
३. १३ वर्ष १८ वर्ष ७०० आई.यू.
४. १८ वर्ष ५० वर्ष ७०० आई.यू
५. ५१ वर्ष ७० वर्ष ८०० आई.यू.
६.. ७० वर्षभन्दा माथि १००० आई.यू.
७. गर्भवती १००० आई.यू.
८.स्तनपान १००० आई.यू.

भिटामिन ‘डी’को काम
१) भिटामिन ‘डी’ले आन्द्रामा क्याल्सियम र फस्फोरसको अवशोषणलाई मद्दत पुर्‍याउँछ ।
२) क्याल्सियम र फस्फोरसजस्ता तत्त्वहरुलाई हड्डीमा पुर्‍याएर अस्थी घनत्वलाई कायम राख्न पनि भिटामिन डी को आवश्यकता पर्छ ।
३) मिर्गौलामा मूत्रका रुपमा खेर गइरहेको क्याल्सियमलाई पुनः अवशोषण गरी क्याल्सियम नष्ट हुन दिँदैन ।
४) भिटामिन डीले हड्डी मांशपेशी र लिगामेन्टहरुलाई मजबुत बनाउँछ ।
५) नशा र मांशपेशीको कार्यलाई नियमित बनाउँछ ।
६) शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत पार्छ ।
७) घाउ-खटिरा चोटपटक र संक्रामक रोगहरु चाँडै निको पार्न मद्दत पुर्‍याउँछ ।
८) मुटु, मिर्गौला, कलेजो, फोक्सोजस्ता कोमल अड्डीहरुको रोगहरुको गम्भीरतालाई घटाएर रोगलाई नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।
९) क्यान्सर प्रतिकार गर्न मद्दत पुर्‍याउँछ ।
१०) डर चिन्ता तनाव र उदासीनताको समस्या कम गर्न सहयोग गर्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया