शुक्रबार, वैशाख १४, २०८१

देवीप्रसाद सापकोटाको स्मृतिमा !

सुनील सापकोटा २०७८ कार्तिक ६ गते ८:२९

एउटा प्रजातान्त्रिक योद्धा, आखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष एवं ओझलमा परेको इतिहास पुरुष देवीप्रसाद सापकोटाको जीवनगाथा दु:खद, संघर्षपूर्ण र लामो छ । विक्रम संवत १९१५ जन्म भई २०११ सालमा निधन हुनुभएका सापकोटाजीको जीवन कथा पढ्नयोग्य छ ।

उहाँ आफ्नै प्रतिभा र क्षमताको वलले नेपालको राणाकालिन समयमा तल्लो तहबाट जागिर खाँदै श्री ३ चन्द्रशमशेरको पालामा मुन्सिखाना (परराष्ट्र मन्त्रालय ) मा सुब्बा पदमा कार्यरत रहदा वि.सं . १९६० मा तत्कालीन भारतमा रहेको ब्रिटिस सरकारले भोट (तिब्बत) सँग युद्ध गर्न नेपालको बाटो र सैनिक सहायता माग्यो । त्यसमा चन्द्रशमशेर राजी भए पनि देवीप्रसादले मान्नु भएन। त्यो बेलाको सुब्बा पदको जागिर भनेको अहिलेको सचिव स्तरीय थियो ।

त्यो बेला देवीप्रसादभन्दा माथि चन्द्रशमशेर मात्र थिए । त्यो बेला काजी र सरदारले नहेरी मुन्सिखानाको काम – काज देवीप्रसादले नै हेर्नुहुन्थ्यो । यसरी वि.सं. १९०३ मा नेपाल र भोटबीचको सन्धिको त्यो प्रस्तावविपरीत भएको र राष्ट्रियताको अडान देवीप्रसादले न छोडेको देखेर चन्द्रशमशेर क्रुद्ध भए । किनभने उनी ब्रिटिसलाई खुसी पारेर आफ्नो शासन व्यवस्था लम्ब्याउन चाहन्थे । उनी ब्रिटिस सरकारलाई चिढयाउन चाहँदैन थिए ।

त्यसैले चन्द्रशमशेरले देवीप्रसादको कुरा नसुनी उहाँलाई करबाही गर्ने निधो गरेको कुरा देवीप्रसादले थाहा पाई भारतको बनारसतिर सुटुक्क लाग्नुभयो। । देवीप्रसाद बनारसतिर पलायन भएको भोलिपल्ट नै चन्द्रशमसेरले देवीप्रसादलाई देशद्रोह गरेको आरोप लगाइ जागिरबाट निष्कासन गरी उहाँको सारा सम्पत्ति हरण गरेको कुरा इतिहास अध्ययन गर्दा थाहा पाइन्छ । भारतको वनारसमा देवीप्रसादले निर्वाशित जीवन बिताउँदा पनि
उहाँ त्यहाँ चुप लागेर बस्नु भएन । राणा शासनलाई अन्त्य नगरी म नेपाल फर्किन्न भन्ने उहाँले कठोर उद्देश्य र प्रण लिनुभयो । बनारसमा बस्दा आफ्नै स्रोत र साधनले एउटा प्रेसको स्थापना गरी गोर्खाली नामक विचारप्रधान पत्रिका चलाइ राणाविरोधी अभियानको थालनी गर्नुभयो ।

लेखक : सुनील सापकोटा

उक्त पत्रिकामा त्यो बेला त्यहाँका नेपाली विद्यार्थीहरु पिताजी कृष्णप्रसाद कोइराला, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइरालालगायत धेरै साहित्यकार, लेखक, बुद्धिजीवी र राजनीतिज्ञहरुले विभिन्न लेखहरु लेखी राणाविरोधी चेतना जगाउने कामहरु गरेका गरेको पाइन्छ । चार वर्षसम्म प्रकाशनमा रहेको गोर्खाली पत्रिकामाथि भारतको ब्रिटिस सरकारले चन्द्रशमशेरको अनुरोधमा प्रतिबन्ध लगाएको थियो र केही दिनसम्म बनारसको अंग्रेजको स्थानीय प्रशासनलाई नसोधी देवीप्रसादलाई बनारस नछाड्न आदेश गरेको थियो ।

त्यसको केही वर्षपछि नेपालबाट बनारस पढ्न गएका नेपाली विद्यार्थीहरु, भारतीय सेनाबाट अवकाश प्राप्त प्रवासमा बस्ने नेपालीहरु, बनारसमा स्थायी रुपमा बसोबास गर्ने स्थानीय नेपालीहरु र बीपी कोइरालाको प्रयासमा बनारसको दूधविनायकमा ‘अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस’ नामक राजनीति दलको जन्म भयो ।

त्यसका सभापति संस्थापक अध्यक्ष देवीप्रसाद सापकोटा र संयोजक बीपी कोइराला हुनुभयो । त्यस संगठनमा उपसभापति बालचन्द्र शर्मा, महामन्त्रीमा कृष्णप्रसाद भट्टराई, प्रचार मन्त्रीमा गोपालप्रसाद भट्टराई र कार्य समितिका सदस्यहरुमा बटुकप्रसाद भट्टराई, नरेन्द्र रेग्मी र देवीप्रसादका छोराहरु लक्ष्मीप्रसाद सापकोटा र
दीनानाथ सापकोटा थिए भने कार्यालय सचिव साहित्यकार ईश्वर बराल थिए । त्यो संगठनलाई अहिलेको नेपाली काङ्ग्रेसको पहिलो संगठन र तदर्थ समितिभन्दा हुन्छ । यो संगठनको मूल उद्देश्य नेपालको राणा शासनको अन्त्य र प्रजातन्त्रको बहाली थियो ।

No description available.
देवीप्रसाद सापकोटा

२००७ सालको क्रान्तिपछि नेपालमा प्रजातन्त्र आयो । देवीप्रसाद र उहाँका परिवारजन लगभग ५२ वर्षको प्रवासपछि बनारसबाट नेपाल भित्रिए । उहाँ त्यो बेला कान पनि राम्ररी नसुन्ने र आँखा पनि राम्ररी न देख्ने बूढो र कमजोर भइसक्नुभएको थियो । उहाँ त्यो बेला राजनीतिमा लाग्ने त कुरै भएन । आफ्नो हरण भएको क्षेत्रपाटी ठमेलछेउको घर-घडेरी तथा काठमाडौं आसपास र अन्य जिल्लाहरुमा आफूले जोडेको जग्गा-जमिनहरु फिर्ता
गर्नेतिर लाग्नुभयो ।

पहिले त राजा त्रिभुवनलाई भेट गरी आफ्नो हरण भएको सम्पत्तिहरु फिर्ता पाउन र फिर्ता हुननसके उचित मुआब्जा पाउन अनुरोध गर्नुभयो । राजाले पनि त्यो बेलाका प्रधानमन्त्री मात्रृकाप्रसाद कोइरालालाई देवीप्रसादकै सामुन्ने उचित मुआब्जा दिने वचन दिनुभयो । तर पछि राजा त्रिभुवनको वचन खेर गयो ।

प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले ‘क्याबिनेट’ मा लगेर पास गरी उचित मुआब्जा दिलाउँछु भन्दा-भन्दै ढिलासुस्ती भयो । त्यो बेला कसैले पनि उहाँलाई सहयोग गरेनन् । सहयोग गर्ने आशा मात्र दिलाइरहे । त्यो बेलाका सबै नेताहरु आ-आफ्नो सत्ता स्वार्थमा लागे । त्यसैबीचमा राजा त्रिभुवनको मृत्यु भयो । काङ्ग्रेसमा नेताहरुको झगडा र रगडा भई पार्टी फुट्यो । काङ्ग्रेसका कोहि नेताहरुले पनि देवीप्रसादको काम गरेनन् । बाध्य भई उहाँले अदालतमा मुद्दा दायर गर्नुभयो । मुद्दा लामो समय चल्यो । मुद्दा चलिरहेकै अवस्थामा उहाँको र उहाँका छोराहरुको पनि मृत्यु भयो । उहाँका नातिहरुले हरण भएको सम्पत्ति फिर्ता लिन अदालतमा तारिख लिने कुरामा कुनै वास्ता गरेनन् र उक्त मुद्दा सायद आज पनि मुल्तवीमा छ कि डिसमिस भयो वा फैसला भयो थाहा छैन ।

-लेखक सापकोटा देवीप्रसादका पनाति हुन् । साथै देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठान कुशादेवी, पनौती काभ्रेको अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया