सीको उत्तराधिकारी छान्दै चिनियाँ कम्युनिस्ट पार्टी

बेइजिङ । चीनमा यही कात्तिक २२ देखि २५ गते (नोभेम्बर ८ देखि ११) सम्म चल्ने सत्तारूढ कम्युनिस्ट पार्टीको सम्मेलन पार्टीको नयाँ नेता चुन्ने सवालमा महत्त्वपूर्ण हुनेछ । यो सम्मेलनबाट के तय हुनेछ भने चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव पदमा पनि राष्ट्रपति सी जिनपिङ नै कायम रहनेछन् कि उक्त पदको जिम्मेवारी अरु कसैलाई दिइनेछ ।
चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रपति पदमा सी जिनपिङलाई आजीवन राख्ने निर्णय २०१८ मै गरिसकेको छ । यसपटक हुने पार्टी सम्मेलनले पार्टीको शीर्ष पद महासचिवलाई लिएर निर्णय गर्नुपर्ने भएकाले संसारभरको ध्यान चिनियाँ कम्युनिस्ट पार्टीको आगामी सम्मेलनतर्फ जान थालेको छ ।
चीनमा १९४९ को जनक्रान्तिपछि माओ त्से तुङ शक्तिशाली नेताका रुपमा अगाडि आएका थिए भने त्यसपछि अहिले सी जिनपिङलाई सबैभन्दा प्रभावशाली नेता मानिएको छ । सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव भएका सी पछि राष्ट्रपति पनि बनाइए । त्यसपछि उनि शक्तिशाली सैन्य आयोगको प्रमुख भए । यसरी चीनको सत्तासँग जोडिएका तीनवटै सर्वाधिक शक्तिशाली पदमा आसिन भएपछि सी चीनको मात्र नभएर संसारकै दोस्रो ठूलो अर्थतन्त्रका हिसाबले संसारकै प्रभावशाली नेता मानिन थाले ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको छैटौं प्लेनरी सेसन राजधानी बेइजिङमा ८ देखि ११ नोभेम्बरमा हुँदै छ । उक्त अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्षको उपलब्धिहरुको चर्चा हुने बताइएको छ । सम्मेलनले भावी चुनौतीहरुमा छलफल गरी भविष्यको लक्ष्य तय गर्नेछ । समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो बैठकमा पार्टीका विभिन्न स्तरबाट आएका रिपोर्टहरु पढेर त्यसलाई अन्तिम रुप दिइनेछ । केन्द्रीय कमिटीको यो बैठकको अध्यक्षता पार्टी महासचिवका रुपमा सीले नै गर्दै छन् । यद्यपि त्यही बैठकमा उनको उत्तराधिकारीबारे पनि चर्चा हुनुपर्नेछ ।
रोचक कुरा के छ भने महासचिवका रुपमा सीको यो दोस्रो कार्यकाल हो । कम्युनिस्ट पार्टीको वर्तमान विधानअनुसार उनी तेस्रो कार्यकालका लागि महासचिव हुन सक्दैनन् । त्यसका लागि चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो विधान संसोधन गर्नुपर्नेछ । पार्टीले आफ्नो विधान परिवर्तन गरेर सीलाई तेस्रो पाँचवर्षे कार्यकालका लागि महासचिव बनाउँछ कि बनाउँदैन भन्ने कुतूहलता बढ्दै गए पनि विगतमा उनलाई देशकै संविधान संसोधन गरेर आजीवन राष्ट्रपति बनाइएको कुरा पनि उत्तिकै स्मरणीय छ ।
राष्ट्रपति तथा पार्टी महासचिव सि जिनपिङ २०१६ यता सर्वशक्तिमान भूमिकामा छन् । उनी पार्टी, सत्ता र सेनाको सर्वोच्च पदमा छन् । यही कारणले पनि चिनियाँ कम्युनिस्ट पार्टीले उनैलाई निरन्तरता दिने सम्भावना बलियो छ । यद्यपि उनीपछि को भन्ने खाकाचाहिँ यो बैठकले कोर्न सक्छ ।
प्रतिक्रिया