‘प्रधानन्यायाधीशले पदबाट राजीनामा गरी मार्गप्रशस्त गरुन्’

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संविधान कानुन र न्यायिक मान्यताविपरीतका खराब आचरणयूक्त र आचारसंहिताको उल्लंघन गरेको भन्दै न्यायका लागि मानवअधिकारले राजीनामाको माग गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै न्यायका लागि मानवअधिकारका संयोजक इन्द्रप्रसाद अर्यालले वर्तमान प्रधानन्यायाधीशबाट विभिन्न गैरव्यावसायिक गतिविधि भइरहेको र न्यायालयको विकृतिको जड उनी स्वयं रहेको जनाएका छन् । प्रधानन्यायाधीश राणाको पछिल्ला गतिविधिप्रति आफ्नो संस्थाको ध्यानकर्षण भएको पनि संयोजक अर्यालले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘निष्पक्ष, स्वतन्त्र, मर्यादित र उच्च नैतिक चरित्र अपनाउनुपर्ने पदीय व्यक्तिवाट भएका संवैधानिक नियुक्ति तथा मन्त्रीमण्डलमा राजनीतिक भागबन्डा लिने र आफू संलग्न नियुक्ति जोगाउन संसदीय सुनुवाइ र अदालती सुनुवाइलाई पन्छाइएको । योग्यलाई पाखा लगाएर आसेपासे बिचौलियालाई न्यायाधीशमा नियुक्ति गरेको । विभत्स हत्या मुद्दाका दोषीलाई कानुन, नजिरविपरीत उन्मुक्ति दिएको,’ आरोपसहित विज्ञप्तिमा थप भनिएको छ, ‘व्यापारी तथा नजिकको व्यतिहरुको भूमिगत भ्रष्ट सन्जाल खडा गरेको । राजनीतिक दलका नेताहरुको आन्तरिक विवाद मिलाउन मध्यस्थताको भूमिका निभाएको । सरकार तथा दल प्रमुखहरुसँग स्वार्थपूर्वक भेटघाट गरेको । पेसी व्यवस्थापन गरी विकृति रोक्न इच्छुक नरहेको । अदालतमा भइरहेको विकृती विसंगति नियन्त्रणमा चासो नराखेकोलगायत कार्य संविधानले प्रत्याभूत गरेको शक्ति पृथकीकरण, नियन्त्रण, सन्तुलन र न्यायपालीकाको स्वतन्त्रताविपरीत छ । यस्ता कार्य संविधान कानुन र न्यायिक मान्यताविपरीत हुनुका साथै खराब आचरणयुक्त र आचारसंहिताको गम्भीर उल्लंघन हो ।’
न्यायका लागि मानवअधिकारले प्रधानन्यायाधीश राणााले तत्काल पदबाट राजीनामा गरी मार्गप्रशस्त गर्न पनि आग्रह गरेको छ । ‘यस विषयमा न्यायालय, संसद, नेपाल बारलगायतले गम्भीर चासो देखाइ प्रभावकारी भूमिका निभाउँदै, नैतिकता गुमाइसकेको प्रधानन्यायाधीशको बहिर्गमनको प्रक्रिया अपनाउनुपर्नेमा सो नगरेकोप्रति खेद व्यक्त गर्दै नागरिक स्तरबाटै विरोधका कार्यक्रम गरी पदच्यूत गराउने अवस्था आउन नपरोस् भनी सरोकारवालाहरुलाई सचेत गराउँदछ,’ विज्ञप्तिमार्फत चेतावनीसमेत दिइएको छ ।


प्रतिक्रिया