‘नेतृत्वकै कारण पार्टी अवैध हुने अवस्थामा पुग्याे’

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको बताएका छन् ।
जनकपुरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताए ।
अझै पनि केही जिल्लाको क्रियाशील सदस्यता नै नटुंगिनु चरम अक्षमता र लापरवाही भएको उनको भनाइ थियो । पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर ४-४ पटक मिति परिवर्तन गरेको भन्दै अब कुनै हालतमा पनि मिति सार्न नदिने सिंहले चेतावनी दिए ।
आफ्नो स्वार्थ पुरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको भन्दै उनले निर्वाचन समितिलाई तत्काल क्रियाशील सदस्यको सूची जिम्मा लगाउन नेतृत्वसँग आग्रह गरे ।
फरक प्रसंगमा बोल्दै नेता सिहले कांग्रेस नेतृत्वको कमजोरिको कारण कम्युनिस्टहरुले व्यवस्थामाथि प्रहार गरेको उनले बताए । उनले कांग्रेस महाधिवेशन सम्पन्न गरेर संसद सन्चालन र राष्ट्रिय राजनीति आँकलन गरेर चल्नु पर्ने बताए ।
यस्तै उनले नागरिकता सम्बन्धी मुद्दाहरु तत्काल हल गर्नुपर्ने बताउँदै मधेस र हिमाली क्षेत्रमा सिमा जोडिएका नागरिक नै सच्चा देश भक्त रहेको उनले बताए ।

प्रतिक्रिया