‘प्रधानन्यायाधीशले न्यायालयका मूल्य, मान्यता र नैतिकताका बारेमा सोच्नुपर्छ’

काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्ने बताएका छन् ।
बुधवार (आज) पत्रकारहरुसँग पूर्व प्रधानन्यायाधीश पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिन जरुरी रहेको बताएका हुन् । उनले अहिले प्रधानन्यायाधीशले गरिरहेको क्रियाकलाप जायज हो वा होइन भन्ने कुरा राजनीतिक पार्टीले बुझ्न आवश्यक रहेको बताए ।
उनले प्रधानन्यायाधीशको कुराहरु निष्पक्ष छ वा छैन भन्ने कुरा जाँच गरेर हेर्नुपर्ने बताए । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई हटाएका कुराहरु कानूनसम्मत नभएको र ती न्यायाधीशहरुले कानूनसम्मत काम नगरेको बताउँदै उनले प्रधानन्यायाधीशले संविधान र कानूनमाथि ज्यादती गर्न नपाइने बताए ।
पूर्व प्रधानन्यायाधीश पराजुलीले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायालयका मूल्य र मान्यता र नैतिकताका बारेमा सोच्नुपर्ने तर्क गरे । रावणको अहंकारका कारण रामायणको युद्ध भएको प्रसंग निकाल्दै उनले पदमा भएको व्यक्ति क्षमाशील हुनुपर्ने र सुझबुझपूर्ण ढंगले अघि बढ्नुपर्ने बताए ।
उनले प्रधानन्यायाधीशले गल्ती गर्नै नपाउने भन्दै यदि उसले गरेका गल्तीहरु वस्तुनिष्ट भए सबै राजनीतिक पार्टीले छलफल गरेर निकास दिनुपर्ने बताए । पूर्व प्रधानन्यायाधीश पराजुलीले प्रधानन्यायाधीशले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्ने बताए ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले अनुसन्धान अवधिभर इजलासमा आउँदिन र आफूमाथि लागेका आरोपहरुको स्वतन्त्र छानबिन होस् भनेर बिदामा बस्नुपर्ने बताए ।
उनले न्यायालय, पद्धति र अदालतको सेवा सञ्चालन गर्नको लागि प्रधानन्यायाधीशले आफूमाथि लागेका आरोपहरु चिरफार नहुदासम्म इजलासमा बस्न नहुने बताए ।

प्रतिक्रिया