बिहीबार, जेठ ३, २०८१

सर्पका अनेक तथ्य

सुनील सापकोटा २०८० भदौ ४ गते ११:४४

काठमाडौं । आज नाग पंचमी । हिन्दूहरुको पर्व । भनिन्छ – नाग पंचमी देखि हिन्दु धर्मावलम्बीको चाड पर्वहरुको शुरुआत हुन्छ । सर्प , साँप वा नाग जे भने पनि यसको सम्बन्ध हामी मनुष्य जातीसंग बडो बिचित्रको छ ।

केहि इतिहासकाको भनाइ अनुसार प्रागऐतिहासिक कालमा हिन्द उपमहाद्विपमा नागजातिको बसोबास थियो । अहिलेपनि भारतमा केहि जातिहरुको थर नाग रहेको देखिन्छ र उनिहरु हामि नागका बंश हौं भनेर भन्दछन् । असुर , दानव , दैत्य , यक्ष , द्रविड आदि जस्तै यो नाग जाति पनि प्राचिन आदिवासीको पङ्क्तिमा पर्दछन् भनिन्छ । नाग भनेको साँप हो या मनुष्यको एक जात हो , छुट्याउन गाह्रो छ।

नाग वा साँप हाम्रो शत्रु होइन । यस्ले बिनाकारण डस्दैन । यस्को नजिक गइयो भने अथवा यसलाइ कुल्चियो भने मात्र यस्ले मनिस देखि डराएर आफ्नो प्रतिरक्षा गर्न टोक्छ । साँपले डसेर मर्ने मानिसहरुको संख्या भन्दा साधारण रुघा खोकीले मृत्यु हुने मानिसहरुको संख्या यो दुनियाँ मा बढी छ । नब्बे प्रतिशत साँप बिषालु हुँदैन ।

भारत बर्षमा प्राचीन काल देखिनै हिन्दूहरु प्रकृति पूजक भएकले हो वा साँपको फाइदा बुझेर होला बर्षमा एक पल्ट नाग पंचमीको दिन यसको पर्व मनाउने चलन छ । भनिन्छ, यसले बाताबरणमा भएको विषालु हावा ग्रहण गर्छ र वातावरण सफा पार्नमा सहयोग पुर्याउछ। अनि किसानहरुको खेतलाई मुसाबाट रक्षा गर्छ ।

एक अनुसन्धान अनुसार साँपले मानिस लाई डस्दा यसको विष चढेर मर्ने भन्दा आत्तिएर , डराएर, हार्टफेल भएर मृत्यु हुनेको संख्या धेरै छ । बैज्ञानिकहरुका अनुसार साँपले दूध खाँदैन । उसले कान सुन्दैन। बिन बजाउँदा पनि सुन्दैन। बिन हल्लाउँदा साँप त्यस्को गति हेरेर हल्लिएको हो। सर्पदंशको एकमात्र इलाज एन्टिभेनम हो । धामी लगाएर वा तन्त्रमन्त्र गरेर साँपको विष झार्न सकिदैन । उस्को मणि हुँदैन । साँप इच्छा धारी पनि हुँदैन । यी सबै हिन्दी फिल्मका वाहियात कुराहरु हुन ।

भनिन्छ साँपको पनि गोत्र हुन्छ । साँपको जुन जुन गोत्रहरु हुन्छन् ती सबै गोत्रहरु हिन्दूहरुको पनि गोत्रहरु हुन । त्यसैले हिन्दू धर्म शास्त्रमा सर्प लाई नमार्नु भनिएको छ। भगवान शिवको गला देखि लिएर भगवान बिष्णुको शैया सम्म हामीले सर्प लाई स्थान दिएका छौं ।

पहिले मलाइ साँप देखि खुब डर लाग्थ्यो।साथिहरुले मलाई जिस्क्याउथे पनि, कति साँप देखि त्रसित भएको भनेर । तर अचेल मलाई साँप भन्दा बढी मान्छेहरु सङ डर लाग्न थालेको छ । साँपले त उसलाई कुल्चियो भने मात्र डस्छ , तर मान्छेले त आफ्नो स्वार्थ सिद्धी र ईष्र्या प्रतिशोधको लागि बारम्बार अरुलाई डसी रहेका हुन्छन् ।

अचेल हाम्रा कतिपय आधुनिक युवा पुस्ता हामीहरुले नाग पंचमीका दिन घरमा नागहरुको पोस्टर टाँसेको देखेर मन मनै हाँस्दा पनि हुन । तर इकोलोजिकल ब्यालेन्सका लागि हाम्रा हिन्दू पूर्वजले हामी लाई साँपको मनुष्य जिवनमा कति महत्व रहेको छ भन्ने एउटा सन्देश पर्वका रुपमा दिएका होलान भन्ने मलाइ लाग्छ ।

प्रतिक्रिया