‘कांग्रेसको १४औं महाधिवेशन मंसिरभित्र सम्पन्न गर्नुको विकल्प छैन’

नेपालखोज २०७८ कार्तिक १३ गते १९:४७

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकको ताकत, मेहनत र परिश्रम पार्टीको महाधिवेशन सम्पन्न गर्न लगाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका-५ एकाइ समितिले आज चक्रपाणि चोक कटुञ्जेमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता घिमिरेले १४औं महाधिवेशन मंसिरभित्र सम्पन्न गर्नुको विकल्प नभएको जनाउँदैं त्यसका लागि सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताएका हुन् ।

उनले लोकतन्त्रलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने र कांग्रेस बलियो हुन महाधिवेशनलाई सफल बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले कम्युनिष्टले जनतालाई ढाँट्ने सिवाय अरु गर्न नजानेको आरोप लगाए । उनले एउटै बाटो तीन चोटी शिलान्यास गरेर जनतालाई झुक्याउने गरेको उदाहरण प्रस्तुत गर्दै जनता सस्तो प्रचारमा लाग्न नहुनेमा जोड दिए ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जग्गा दलाली र भूमाफियाको जग्गा प्लटिङमा बाटो पुर्‍याउँदैमा कसैलाई विकास प्रेमी नेताको बिल्ला भिडाउनु गलत भएको बताए ।

धनवाद र डनवादको राजनीति गरेर जनतालाई दिग्भ्रमित पार्ने कांग्रेसको नीति नभएको स्पष्ट पार्दै सभापति थापाले चाहेको अवस्थामा आफूहरु पनि धनवाद र डनवादमा उत्रन तयार भएको चेतावनी दिए ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलले जनतालाई केन्द्रविन्दुमा राखेर ल्याउने विकासका प्रस्तावलाई आफूले दलगत, नातावादभन्दा माथि उठेर निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

–––

प्रतिक्रिया